अस्वीकृत साहित्य आन्दोलनबारे पहिलो विश्व साइबरिय साहित्यिक अन्तरक्रिया

(जुन २८, २०१६ मा अस्विकृत साहित्य आन्दोलनबारे विश्व साइबरिय साहित्यिक अन्तरक्रिया कार्यक्रममा अस्विकृत आन्दोलनका प्रमुख अभियान्ता डा. कविताराम श्रेष्ठद्वारा अस्विकृत साहित्य आदोलनबारे प्रस्तुत अवधारणा पत्रलाइ यहाँ जस्ताको तस्तै राखेका छौं । यसले नेपाली साहित्यको बारेमा जान्न इच्छुकहरूलाई थप सन्दर्भ बन्ने हामीले ठानेका छौ । – प्र.सं.)

१. अस्वीकृत आन्दोलनको इतिहासः पंचायत कालमा प्रगतिकामी लेखहरू पूर्णतः अस्वीकृत हुन्थे, अग्रगामी युवा साहित्यकारहरूमा धेरै छटपटी थियो । २०२६ सालमा शैलेन्द्र साकार र मैले अस्वीकृतहरूको जमातै खोलेर यी पुरातनबादीहरूलाई नै अस्वीकृत गर्ने आन्दोलन छेड्ने सल्लाह ग¥यौं । त्यसपछि नेपालभूषण न्यौपाने र मैले सञ्जीवनी पत्रिकामार्फत अस्वीकृत जमातको घोषणा ग¥यौं । यसमा पञ्चायती व्यवस्थाका भाट लेखकहरूले अस्वीकृत जमातलाई अराष्ट्रिय तत्वहरूको जमातसम्म भने, हिप्पी भने, छाडा कुकुर भने, डामेर छाडेको साँढे भने, आमा दिदी बहिनी नभन्ने जनावर भने । निर्लज्ज जङ्गली, राक्षस आदि अनेकौँ भने । लोजम्वर्ग, गान्धी, केनेडी, लुथरकिङ्गका हत्यारा नै भने र तत्काल देश निकाला गर्नुपर्छ भने । फाँसी नै दिनुपर्छ भने । (यसको सबै डकुमेन्टेसन मेरा अस्वीकृत मान्यताहरूमा सङ्ग्रहीत छन्) । पञ्चायतकालमा डरमर्दै स्थिति भएको हुँदा केही साथीहरूले तत्काल हामी यो जमातमा छैनौँ भनेर गोरखापत्रमा सफाइ छापे । त्यसपछि पुष्कर लोहनी, प्रकाश प्रेमी, प्रेमनारायण प्रेमी, बआ कनकद्वीप, कुमार नेपाल, अञ्जीर प्रधान पीडित, भाउपन्थी, काशीनाथ तमोट, साकेत बिहारी ठाकुर, मोहनसिंह र इन्द्र राजभण्डारी, शैलेन्द्र सकार, नेपाल भूषण न्यौपाने, र मैले अस्वीकृत आन्दोलनलाई हांक्यौं । यसमा प्रजातन्त्रबादी तथा प्रगतिशील साथीहरूको समान सहभागिता थियो र एउटै मञ्चबाट आआफ्ना पारामा आआफ्ना ढ्वाङ्ग फुक्यौँ । हामीलाई साथ चाहिएको थियो । साथमा जो पनि आउन सक्थे । बिद्रोहको स्वर भए पुग्थ्यो हामी सबलाई । त्यहाँ बैचारिक बारना थिएन ।
पछि नेपाली साहित्यमा तरलबादको प्रयोगात्मक आन्दोलन सुरु भयो । एकदिन परशु प्रधानले मलाई एउटा अन्तर्वार्तामा सोध्नुभयो, “तरलबादको बारेमा तपाईंको धारणा के छ ?” मैले प्रकाशित लेखहरूको प्रमाणसाथ भनेँ, “यो तरलताको अवधारणा त दस वर्षअघि नै मेरो अस्वीकृतबादको घोषणापत्रमा समाहित थियो । मेरै कुरा दोहोरिएको छ ।” घोषणापत्रमै स्पष्टसाथ “तरल मान्यतालाई नाङ्गो भुइँमा खन्याएर हेरेँ सबैसबै मान्यताहरू स्वाभाविक आयामहरूमा बगे” भनेर भनेको छु भनेँ ।
फेरि अर्को हङ्गामा । पत्रपत्रिकाहरूमा महिनौँसम्म छापाछाप बैचारिक कुराहरू । लामै विवाद चल्यो । अभिव्यक्ति पत्रिकाले मेरा मान्यताहरूका एउटा सिङ्गै अङ्क निकाले । तरलबादी साथीहरू झनै खनिए । अन्ततः गोविन्द गिरी प्रेरणाले अबिनभ प्रकाशनको संयोजकत्वमा एउटा बादविवाद कार्यक्रम नै राखिदिए, ४६ जना विद्वान् साहित्यिकहरूमाझ । यसले अरू बजार पक्रियो ।
हामी सबैले पछिसम्म जे लेख्दै आयौँ सदा अस्वीकृत मान्यता सम्मत् लेख्यौँ । सत्तासंग सम्झौता नगर्ने परिवर्तनकामी प्रतिपक्षीय लेख भनेको अस्वीकृतबादी लेख हो । तर पछि बिस्तारै साथीहरूले यस आन्दोलनमा बैचारिक सहभागिता जनाउन छाडे । मैले भने मेरा सबैजसो पुस्तकहरूमा सम्भव भएसम्म पछिल्ला गातामा ‘अस्वीकृत आन्दोलनको यो अर्को प्रस्तुति हो’ भन्न छोडिनँ । भूमिकैमा पनि अस्वीकृत गन्थन गर्न छाडिनँ । यसलाई अरू निरन्तरता दिनलाई नै मैले आफूले लेखेर कमाएको सम्पूर्ण लेखकश्व र पुरस्कारको रकमबाट ‘अस्वीकृत बिचार साहित्य पुरस्कार गुठी’कै स्थापना गरेँ जसको अभीष्ट छ अस्वीकृत रहेका प्रतिभाहरूलाई साथ दिने थियो ।

२. अस्वीकृत मान्यतामा मेरो साहित्यको परिभाषाः साहित्य एउटा भाषागत कलात्मक अभिव्यक्तिको माध्यम हो । समयसमयमा यसका परिभाषाहरू फेरिंदै जालान् पनि । मेरो यो सोच अरूलाई मान्य नहुन सक्छ । अस्वीकृत हुन सक्छ । जे भए पनि म मेरा पूर्वजहरूका परिभाषाहरूबाट फरक ढङ्गमा अगाडि बढेको छु । त्यसैले मेरो साहित्य ‘अस्वीकृत साहित्य’ हो । मेरो सोच छ– पुरानै खिइसकेका इँटामा हामीले नयाँ इँटा थप्दै जाने हो भने त्यो साहित्य, सिर्जनशील साहित्य हुनुको अर्थ रहँदैन । नयाँ सोचको निर्माणमा पुराना सोचको अनुभवले काम त गर्ला तर नयाँ वास्तुकलामा पुरानो इँटाले काम गर्दैन । मेरो भनाइ हो– रकेट इन्जिनमा गोरुगाडाको पहियाले काम गर्दैन । साहित्यको अभीष्ट निर्माण हुनुपर्छ र त्यसमा नवीनता हुनुपर्छ । नवीनता चाख र स्बादमा होइन मानवोचित स्वाभाविक समाज निर्माणमा हुनुपर्छ । जसरी हरेक मान्छेले आफ्नो उपस्थितिको जनाउ दिन सक्नुपर्छ त्यसरी हरेक साहित्यिले पनि आफ्नो पहिचान दिन सक्नुपर्छ । नत्र ऊ त्यो ठूलो भीडमा साहित्यिकार हुनुको केही अर्थ रहँदैन । साहित्यकार उसको साहित्यमा जीवित हुन्छ, साहित्यचाहिँ परिवर्तनकामी निर्माणमा । अरू साथीहरूले आआफ्ना पारामा भनेका थिए । सबैका आआफ्नै बैचारिक पृष्ठभूमि भएकाले भिन्नता हुनु स्वाभाविकै हो । हामीले यस कुरामा झगडा कहिल्यै गरेनौँ । परिवर्तनकामि भने हुनुपर्यो । खोला तर्नु थियो हामीले एकअर्काका हात समातेका हौँ । कार्यगत एकता ।

३. मेरो अस्वीकृत साहित्यको मान्यताः पुराना जीर्ण अनुपयोगी मान्यताहरूलाई अस्वीकार गर्दै स्वाभाविक परिवर्तनकामि मान्यताको लागि गरिने सङ्घर्ष अस्वीकृत साहित्यको अभीष्ट हो । मैलेचाहिँ यस चिन्तनलाई ‘स्वभावबादी चिन्तन’ भन्ने गरेको छु । मैले व्याख्याएको स्वभावबादी चिन्तन एउटा सामाजिक चिन्तन हो । साहित्यिक माध्यमबाट यो सङ्घर्ष आन्दोलित हुँदा यसलाई ‘अस्वीकृत साहित्य’ भनेर नाम दिइएको हो । अतः अस्वीकृत साहित्यको मान्यता कलात्मक अभिव्यक्तिका साथ अनुपयोगी मान्यतालाई धराशयी गर्दै जीवनोपयोगी मान्यता प्रतिपादन गर्नु रहेको छ । स्वभावबादी चिन्तनबाट निःसृत अस्वीकृत साहित्यले वस्तुगत दृष्टिकोण राख्दछ, पार्थिव इन्द्रियद्वारा प्रत्यक्ष अनुभूत नहुने तथ्यहरूलाई प्रामाणिक मान्दैन, आफू उभिएको भूमिबाट जीवनको परिभाषा लेख्दछ, भौतिक आवश्यकताको परिपूर्ति मान्छेको सही र प्रथम आवश्यकता हो तथा सम्पूर्ण मानवजातिको त्यसमा समान अधिकार छ भनेर मान्दछ । पूर्ववर्ती समस्त उपयोगी मान्यताहरूको जगमा नयाँ प्रगतिशील मान्यताहरूको प्रतिपादनको लागि यसले बाटो प्रशस्त गर्दछ ।
फेरि यहाँ त्यही भन्न पर्ने हुन्छ यो नितान्त मेरो भनाइ हो जमातका साथीहरूसँग एकमत नहुन सक्छ । साथीहरूले आआफ्नै पाराले भनेका थिए । मेरो भनाइबारे यो भन्नुपर्दछ कि पहिले भन्दा मेरा उक्ति बेग्लै लाग्छन् भने उमेर र अध्ययन अनि अभ्यासले निखार आएको हुनुसक्छ । फरक त्यत्ति हो, सिद्धान्ततः कुरा तिनै हुन् ।

४. साहित्यमा मेरा अस्वीकृत मान्यताको स्थितिः साथीहरूले मेरा अस्वीकृत मान्यता अहिले मान्य भएको छ वा छैन ? र, हुने सम्भावना छ कि छैन ? भनेर प्रश्न राख्ने गर्नुहुन्छ । अस्वीकृत मान्यता हर समय हर कालमा रहन्छ । एउटा सबल मान्यता सधैँ अस्वीकृत रहँदैन । त्यो स्वीकृतिको लागि सङ्घर्ष गर्दागर्दै एक समयमा विजय प्राप्त गरी स्वीकृत हुन्छ । हरपक्षका सुधारका बिकल्पहरू हुन्छन् । बिकल्प परिष्कारको लागि उत्पन्न हुन्छ । परिष्कारको थालनी एउटा अस्वीकृत स्थिति हो । स्वीकृत स्थितिले त्यसलाई स्वीकार्दैन अतः त्यो अस्वीकृत रहन्छ । जबसम्म विकासको चाहना हुन्छ त्यहाँ परिष्कारको लडाइँ हुन्छ । मान्छे भन्ने चेतनशील प्राणीमा हर्दम विकासकै चाहना हुन्छ त्यसै मानेमा अस्वीकृत आन्दोलन कुनै पनि समाजमा कुनै पनि युगमा सधैँ हुने एउटा प्रक्रिया हो– विकासको शाश्वत प्रक्रिया । यो थियो, छ र हुनेछ । मैले उठाएका केही मान्यताहरूको मात्र यो लडाइँ होइन, विकास तथा परिवर्तनको लागि यो आन्दोलन हो । यो आन्दोलन अनवरत रहिरहने छ । यसको अन्त्य छैन, कुनै पनि मान्यताले स्वीकृति पाउनेबित्तिकै त्यसैको सुधारको लागि अर्को आन्दोलन सुरु हुनेछ । हाम्रै समाजमा भएको ०६, ०४६ साल र यो ०६६ को परिवर्तन त्यही हो । यो होइन कि ०६७ सालमा अब सङ्घर्षको अन्त्य भयो । हज्जारौँ हजार वर्षसम्म यस्ता धेरै ६७ सालहरू क्रान्तिकारी सर्जकहरूले निम्त्याई रहनेछन् । जहाँ सङ्घर्ष सिद्धियो भनिन्छ त्यहाँ नै प्रगतिको क्रम अवरूद्ध हुन्छ । त्यो प्रगतिशीलता होइन । हर राजनीतिकर्मीहरू आफ्नो दुनो सोझिनेसाथ थप सङ्घर्षप्रति निरुत्साहित हुन्छन् । अझ भन्ने नै हो भने उसको दुनो गुम्ने डरमा प्रगतिशील सङ्घर्षलाई निरुत्साहित गर्न लाग्दछ । या त उनीहरू सङ्घर्षशीलतालाई किनेर भाटगिरीमा परिणत गराउन लाग्छन् या असामाजिक तत्वको अवगाल दिँदै त्यसमाथि दमन गर्न सुरु गर्दछन् । सही साहित्यकर्मी तथा कलाकर्मी कदाचित् भाट रहन सक्दैन । हरेक विसङ्गतिबिरुद्ध उनको चेत जागरुक रहेको हुन्छ । कतै ऊ रोकिन्न । कतै ऊ भुल्दैन । रोकिनु वा भुल्नु उसको मृत्यु हो भन्ने ऊ बुझ्दछ । ऊ सदा सङ्घर्षशील खबरदारी र बिद्रोहमा जीवन्त भइरहन्छ ।
गतिशील, प्रगतिशील तथा विकासशील समाजमा अस्वीकृत आन्दोलन तीब्र हुँदैन किनभने त्यहाँ त्यसको खोजी नै हुन्छ । हाम्रोजस्तो गतिहीन पुरातनबादी बन्दसमाजमा अस्वीकृत आन्दोलन उग्र र तीब्र रहिरहन्छ किनभने त्यहाँ नयाँ सोचको मर्दन हुने गर्दछ । व्यक्तिमा पनि त्यही नियम लागू हुन्छ । एउटा पङ्गु, निचेष्ट, हरूवा, नोकर मनस्थितिको व्यक्तिमा विकास वा प्रगतिको चाहना हुन्न । उनमा बिद्रोह गर्ने सोच, आँट र हुति हुँदैन त्यसैले यस्तामा अस्वीकृत मान्यताहरू सबल हुन्नन् । जुन बेला एउटा व्यक्तिले सम्झियो, उसका मान्यताले स्वीकृति पायो उसको विकास अवरुद्ध भयो– म यसरी सोच्दछु ।

५. अस्वीकृत जमातको साहित्यिक उपादेयताः अस्वीकृत जमातले सुरु (०२६) देखिनै पूर्ण रूपमा जीर्ण मान्यताहरूको जग हल्लायो । पृष्ठपोषकहरूलाई तिलमिलाइदियो । तत्कालीन पञ्चायती व्यवस्था बिरुद्धका सङ्घर्षको अभीष्टलाई टेवा पु¥यायो । सबैभन्दा महत्वको कुरो कार्यगत एकताको लागि एउटा नमुना नै भयो– काङ्ग्रेस, कम्युनिस्ट वा स्वतन्त्र सबै किसिमका सहयोद्धाहरूको सहभागिता थियो यस साहित्यिक आन्दोलनमा । साहित्यले समाजमा अगुवाको काम गर्नुपर्छ । यहाँ भयो यस्तै– पहिले यस जमातले निरङ्कुश मान्यताहरूको बिरुद्ध सङ्घर्षमा संयुक्तमोर्चा कस्यो । राजनीतिक परिसरमा त २० वर्षपछि वि.सं. २०४६ सालमा आएरमात्र संयुक्तरूपमा जनआन्दोलन भयो । अस्वीकृत जमातको साहित्यिक उपादेयता यही भयो, कि यसले संयुक्तमोर्चाको नमुना दिएर समाजलाई नै मार्ग्निर्देशन ग¥यो । अस्वीकृत आन्दोलन नेपालमा कार्यगत एकताको पहिलो नमुना हो– नेपाली इतिहासमा यो सुनौला अक्षरले लेखिनुपर्छ ।

६ . आन्दोलनको निरन्तरताको प्रश्न ः परिष्कारको खोजी नै अस्वीकृत आन्दोलन हो । जबसम्म समाज निरन्तरित रहन्छ यो कुनै पनि नाममा होस् निरन्तरित रहनेछ । हिजो मसँग साथीहरू थिए । टाउकोको गन्ती देखाउन त्यसबखत जरुरी थियो र सङ्ख्या बढाउन म कार्यरत थिएँ । आज त्यसको जरुरी देख्दिनँ । हरेक सङ्घर्षशीलहरूका कलममा यो आन्दोलन जारी छ र सदा जारी रहनेछ । ‘अस्वीकृत’ नामलाई निरन्तरित गर्ने लोभ भने ममा भएकोले त्यो झण्डा र त्यसको गरिमामय इतिहासलाई उँचो र जीवन्त राख्न यो नामको प्रयोग मैले भने सदासदा गर्ने गरेको छु । यसै सन्दर्भमा भनूँ सत्तामा रहेका मान्यताहरूलाई खार्न गरिने अस्वीकृतआन्दोलन र यसका मान्यताहरू सधैँ पेलिन्छन् । यस लडाइँमा अलिकति भए पनि बिद्रोही सर्जकहरूलाई केही टेवा पुगोस्, त्यसैको लागि मैले आफ्ना सम्पूर्ण लेखकस्व, लेखकीय पुरस्कार तथा आम्दानीहरू जीवनभरका लागि अक्षयकोषमा गुठी राखिदिएको छु– ‘अस्वीकृत बिचार पुरस्कार साहित्य गुठी’ नामसाथ । यसले स्थापना भएको वर्ष ०५४ सालदेखि हरेक वर्ष एकएकजना सत्ताद्वारा सिमान्तिकृत बिद्रोही सर्जकलाई पुरस्कृत गर्दै आएको छ । यस संस्थाले २०७३ सम्म १९ राष्ट्रिय अन्तराष्ट्रिय नेपाली साहित्यकारहरूलाई पुरस्कार र ६ जना सम्मान प्रदान गरिसकेको छ ।

(अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक २, २०७३ मा प्रकाशित)

Facebook Comments

Related posts

Leave a Comment