बडादशैंका दश दिन – नारायण भण्डारी

लेखक
        नारायण भण्डारी

दशैमहिमा
हिमालय पर्वतको दक्षिणी काखमा रहेको राष्ट्र नेपाल मानवसभ्यताको आधार अवस्थली हो । यस देशमा सृष्टिका आदिपुरुष शिव र आदिमाता पार्वतीले यहाँ सभ्यताको थालनी गरेका हुन् । ज्ञानका गुरु शिव र शक्तिमता प्रकृति पार्वतीको पूजन यहाँको धर्मसंस्कृति हो । शक्तिकै सहयोग पाई शिवले लोककल्याण गर्ने सिद्धि पाएको हुँदा यो शक्तिसाधनाको आन्तरिक पर्व नवरात्रको रुपमा प्रतिष्ठित छ । यो शैव र शाक्तधर्मको उद्गमस्थल हो । मूलस्थली पनि हो ।  शिव र शक्तिलाई सम्मान गर्ने,शाश्वत र प्रकृतिमा आधारित सनातान धर्मसंस्कृतिका महान् पर्वमध्ये नवरात्र बडादशैं विशेष छ । शक्तिपूजन , लौकिक मानमर्यादा र सामाजिक सद्भावमा शारदीय दशैंको  अर्थ गरिमा र महिमा उच्च छ । आश्विन शुक्लपक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म पूरै एक पक्षभर मनाइने यस पर्वको प्रथम दिनमा घटस्थाना गरी आद्यशक्ति भगवती दुर्गाभवानीको आराधना थालिन्छ । यस दिनदेखि                    शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा,स्कन्दमाता, कात्यायनी, महासरस्वती, महाकाली, महागौरी र सिद्धिदात्री गरी दिनहुँ नवदुर्गाको पूजा गरिने हुँदा नौ दिनको अवधिलाई नवदुर्गा नरवरथा तथा  नवरात्र भन्ने गरिन्छ । र दशौं दिन देवी सिद्धदात्री, विजया वा अपराजिताको पूजा गरी देवीपूजन विसर्जन गर्नुका साथै उनको प्रसादस्वरुप टीका र जमरा लगाउने गरिन्छ । दशौं दिनको यो घडी बडो महत्वपूर्ण र प्रतीक्षपूर्ण मानिन्छ । दशौं दिनको टीकालाई दशैंको मूल दिन पनि मान्ने गरिन्छ । यही दशौं दिनको महिमा आत्मसात गरी यस पर्वलाई दशैं वा बडादशैं भनिएको हो । दशौं दिन शुरु भएको देवी प्रसाद टीका र जमरा लगाई आशीर्वाद दिने क्रम कोजाग्रत पूर्णिमासम्म वा आश्विन शुक्लपक्षको पूर्णिमासम्म जारी रहन्छ । यो पूरै एक पक्ष वा १५ दिनसम्म मनाइने नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । दुर्गा पक्षको पर्व हो ।

अधिकाधिक देशवासीले मनाउने पर्व दशैंका अवसरमा राज्य तथा राज्यमा सञ्चालित संस्थाका सारा कर्मचारीलाई दशैपर्वको बोनसभत्ता दिने,देशभरका प्रमुख देवीमन्दिरमा राष्ट्रिय पूजा गर्न रकम पठाउने, राज्यले सबैभन्दा लामो पर्व बिदा दिने ,दशैं मनाउन बहुसंख्यक नेपाली आफ्नो मूलथलो वा गाउँघर जाने र मुलुकभर र विश्वभर यस पर्वको हर्षलहर चल्ने हुँदा यो पर्व राष्ट्रिय पर्वको रुपमा रहेको छ ।
१.नवरात्र आरम्भ : 
घटस्थापना : माता शैलपुत्री 
आजदेखि नपालीहरुको महान पर्व बडा दशै शुरु भएको छ । दशैंको प्रथम दिन घरका पूजाकोठा तथा देवीमन्दिरमा देवीआवाहन गरी माता शैलपुत्रीको पूजा गरिंदैछ । आजै दशैंघरमा घटस्थापना गरी दशैंको टीकाका दिन लगाइने जमरा राखिन्छ ।
सम्पूर्ण सनातन जगत र नेपाली समाजमा मनाइंने महान् पर्व बडा दशैंको प्रथम दिन आश्विनशुक्लप्रतिपदादेखि घरघरमा घटस्थापना गरी भगवती दुर्गा भवानीको पूजाआजा आरम्भ गरिन्छ । नवरात्रको यस अवधिमा आदिमाता आद्यशक्ति महामाया देवी भगवतीका विभिन्न रुपको प्रतिदिन विधिपूर्वक पूजा गरिन्छ । नवरात्रका प्रत्येक दिन देवीका दश अवतारको फरकफरक विधिले पूजा गरी शक्ति जगाई आफूले अभीष्ट सिद्धि प्राप्त गर्ने प्रयास गरिन्छ । दशै शक्ति उपासना र जीवनोत्थानका लागि अध्यात्म साधनाको पर्व हो ।
नवरात्रको पहिलो दिन आदिशक्ति भगवतीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिन्छ । हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सहसमृद्धि र शान्ति प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ ।  माता शैलपुत्रीको पूजाआजाका लागि भक्तजनहरु बिहानैदेखि मुलुकका विभिन्न देवीमन्दिरहरुमा भेला भएका छन् । भगवती शैलीपुत्री हिमालय पर्वतकी छोरी भएकीले उनलाई पार्वती हेमावती, प्रकृति,नामले समेत पुकार्ने गरिन्छ । शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुन् । आदिशक्ति हुन् । उनैबाट अरु देवी लोकमा विभिन्न हितरक्षा गर्न जगतमा उद्भव भएका हुन् । शैलपुत्री देवी हरियो रंङमा रहेको चित्रण गरिएको छ । शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी,हातमा त्रिशुल र कमल लिएकी  नन्दीमाथि चढेकी छन् भनेर उनको चित्रण  गरिएको छ । उनले जगतलाई प्राकृतिक सिर्जनाले सजाई संसारमा वैभव भर्दछिन् भन्ने पनि देवीभागवत दुर्गासप्तशति, चण्डी लगायतका ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ  । यस दिन देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवी शैलीपुत्रीको आराधना गरी  भक्तहरुले देवी पूजन गर्दछन् ।  गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान गरिन्छ । सफलता ,सिद्धि र दीर्घायुको कामना गरिन्छ ।
दशैंको प्रथम दिन  शक्तिपीठ,देवीमनिदर तथा घरघरमा वैदिक  विधिपूर्वक घटस्थापना गरी जमरा राखिन्छ । सूर्यको प्रत्यक्ष प्रकाश पर्नबाट जोगाई गोप्यरुपमा  उमारिने जमरालाई देवीको मनपर्ने प्रसाद वा शक्तिप्रदायक अन्नअंकुरण मानिन्छ । जमरा, देवी उपासनाको गुह्यज्ञानको संकेत पनि हो । यो विधि विश्वमै विशिष्ट छ । र कृषिसभ्यताको पर्वीय प्रतीक र समृद्धिको स्वरुपमा   रहेको छ । जमरा राख्दा मुख्य गरी माटाको जलघडामा गोबर टाँसेर त्यसमा जौका दाना रोपेर राख्ने गरिन्छ । दशैघरमा पवित्र नदीको बालुवा र माटो राखेर त्यसमा जौ,गहुँ,मकैको बिउ बाक्लै छरेर पनि जमरा राखिन्छ । अत्यन्तै शक्तिशाली अन्न जौको बीजबाट उमारिएको हुँदा यसलाई जमरा भनिएको हो । जमरा देवीलाई औधी मनपर्ने वनस्पति हो । जौकोे पोषण आमाको दूध समान शक्तिदायक हुन्छ । जौ सनातन संस्कृतिमा शुद्धि र हवनका लागि नभई नहुने प्राचीन अन्न हो ।
घटस्थापनाका दिन देशभर सार्वजनिक बिदा दिइन्छ भने विद्यालय तथा अदालतहरुमा कोजाग्रत पूर्णिमासम्म १५ दिन बिदा दिइन्छ । विद्यार्थी तथा शहरी क्षेत्रमा अन्य रोजगारी र व्यवसाय गरी बसेका मानिसहरु घटस्थापनादेखि गाउँघर फर्कन थाल्छन् । गाउँघरमा घटस्थापनासँगै दशैं लागेपछि बाटोघाटो खन्ने घर लिपपोत गर्ने डाँडाभञ्याङ चौरचोकमा पिङ हाल्ने क्रम शुरु हुन्छ । यसै दिनदेखि बडा दशैंको शुभकामना आदानप्रदान गरिन्छ । देवीभक्तहरु दिनदिनै देवी मन्दिरमा गई देवी दर्शन गर्न थाल्छन् । काठमाडौ उपत्यकाका देवीभक्तहरु नवदुर्गा तथा विभिन्न शक्तिपीठको यात्रा गरी पूजाआजा गर्छन् । घरघरमा दुर्गाको महिमा गान भएका ग्रन्थ देवी भागवत,दुर्गासप्तशती,चण्डीको वाचन नवाह थालिन्छ । मठमन्दिरमा देवीभजनको पर्वीय गायन आरम्भ गरिन्छ । धानकोदो फल्न लागेका बेला कृषिमा सहसमृद्धि ल्याउने प्रकृतिमाताको देन सस्मरण गरी यसै दिनदेखि दशैंभर मठमन्दिर,घर तथा सञ्चारमाध्यममा शारदीय संगीत मालश्री गायन र धून बजाउने चलन छ ।।
२.आश्विन शुक्लव्दितीया, माता : ब्रह्मचारिणी

आज बडा दशैंको दोस्रो दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा आज माता : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिंदैछ ।
नेपाली समाजमा मनाइने महान्पर्व बडादशैंको दोस्रो दिन आश्विन शुक्लव्दितीया तिथिमा देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिन्छ ।  ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी  देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ  । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । शास्त्रहरुमा  उनको वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । ब्रहमचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशिर्वादको  अर्थ संकेत गरेको छ । देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरमा भेला भएका छन्  । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन श्रवणको क्रम पनि चलिरहेको छ ।
यो पर्व नारीसम्मानका साथै शक्तिलाई मातारुपी सिर्जनाको रुपमा हेर्ने सकारात्मक दर्शनको पर्व हो । योगसाधनाको क्रममा आध्यात्मिक शक्तिको बलमा चेतनाले उचाइ चढ्दै जाँदा माताको रुपमा शक्तिले साथ दिने र अन्ततः सिद्धिप्राप्त हुने तपस्याको सोपानसँग पनि दशैंका दश दिनलाई व्याख्या गर्ने गरिएको छ ।
काठमाडौको हनुमानढोकास्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवीमन्दिर तथा शक्तिपीठ  गह्येश्वरी,मैतीदेवी, नक्सालभगवती,कालिकास्थान,भद्रकाली, संकटा, ,रक्तकाली,दक्षिणकाली र स्वधा वा शोभाभगवतीका मन्दिरमा नवरात्रको विशेष पूजा शुरुभएको छ  । यसै गरी नरदेवी, विजयश्वरी,इन्द्रायणी,वज्रवाराही,बगलामुखीमा पनि दशैंको विशेषपूजा गरिंदैछ ।
यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा देवीभवानीको पूजाआराधना भइरहेको छ । पूर्वकी पाथीभरादेवी रक्तकाली,कंकालिनी,सिद्धकाली सखडा भगवती छिन्नमस्ता, गडीमाई भगवती, दन्तकाली,कालिञ्चोक भगवती,पाल्चोक भगवती,पलाञ्चोक भगवती, लिस्तीमाई,चण्डेश्वरी,चामुण्डा भगवती,सल्यानकोट भगवती,रिपुमर्दिनी भैरवी भगवती,देवीघाट भगवती,गोरखकाली,मनकामना भगवती, लमजुङ कालिका, छिम्केश्वरी,खड्गेश्वरी, मौलाकालिका,जितेश्वरी,भैरवी,भद्रकाली,विन्दवासिनी भगवती, सराङकोट,कास्कीकोटकी गुप्तकाली,पाङ्दुरकोट आलमदेवी,गह्रौंकालिका ,सतौंचण्डी,बागलुङ कालिका,दुर्लुङ कालिका,जलजलामाई,शैलेश्वरी,वागेश्वरी उग्रतारा,लगायत देशका थुमथुम र गढीग्राम,दुर्गमा रहेका देवीमन्दिरमा बडो उत्साहका साथ भगवतीको पूजाअर्चना भइरहेका छ । मुलुकभर मानिसहरु ठूलो संख्यामा देवीपूजनका लागि मन्दिरक्षेत्रमा भेला हुने र मार्ग, बाटाघाटामा हिड्दा देश दुनिया नै जगमग र भव्य देखिएकोछ ।
३. आश्विनशुक्ल तृतीया, माता चन्द्रघण्टा
आज बडा दशैंको तेस्रो दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा आज माता चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदैछ ।
नेपाली समाजमा मनाइने महान् पर्व बडा दशैंको तेस्रो दिन आश्विनशुक्ल तृतीया तिथिमा देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिन्छ ।
देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुंदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ । जगत वैभवशाली भएको छ । बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ । चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुंदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी  भक्तहरुले पूजन गरिरहेका छन् ।  गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान ,कथावाचन तथा श्रवण गरिंदै छ ।
काठमाडौको हनुमानढोकास्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवीमन्दिर तथा शक्तिपीठ  गह्येश्वरी,मैतीदेवी, नक्सालभगवती,कालिकास्थान,भद्रकाली, संकटा, ,रक्तकाली,दक्षिणकाली र शोभाभगवतीका मन्दिरमा नवरात्रको विशेष पूजा शुरुभएको छ  । यसै गरी नरदेवी, विजयेश्वरी,इन्द्रायणी,वज्रवाराही,बगलामुखीमा पनि दशैंको विशेषपूजा गरिंदैछ ।
यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा देवीभवानीको पूजाआराधना भइरहेको छ । पूर्वकी पाथीभरादेवी रक्तकाली,कंकालिनी,सिद्धकाली सखडा भगवती छिन्नमस्ता, गडीमाई भगवती, दन्तकाली,कालिञ्चोक भगवती,पाल्चोक भगवती,पलाञ्चोक भगवती, लिस्तीमाई,चण्डेश्वरी,चामुण्डा भगवती,सल्यानकोट भगवती,रिपुमर्दिनी भैरवी भगवती,देवीघाट भगवती,गोरखकाली,मनकामना भगवती, लमजुङ कालिका, छिम्केश्वरी,खड्गेश्वरी, मौलाकालिका,जितेश्वरी,भैरवी,भद्रकाली,विन्दवासिनी भगवती, सराङकोट,कास्कीकोटकी गुप्तकाली,पाङ्दुरकोट आलमदेवी,गह्रौंकालिका ,सतौंचण्डी,बागलुङ कालिका,दुर्लुङ कालिका,जलजलामाई,शैलेश्वरी,वागेश्वरी उग्रतारा,लगायत देशका थुमथुम र गढीग्राम,दुर्गमा रहेका देवीमन्दिरमा बडो उत्साहका साथ भगवतीको पूजाअर्चना भइरहेका छ । मुलुकभर मानिसहरु ठूलो संख्यामा देवीपूजनका लागि मन्दिरक्षेत्रमा भेला हुने र मार्ग, बाटाघाटामा हिड्दा देश दुनिया नै जगमग र भव्य देखिएकोछ ।
४. आश्विनशुक्ल चतुर्थी, माता : कुष्माण्डा देवी
आज बडा दशैंको चौथोे दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा आज माता कुष्माण्डा देवीको पूजाआराधना गरिंदैछ ।
नेपाली समाजमा मनाइने महान पर्व बडा दशैंको चौथो दिन आश्विनशुक्ल चतुर्थी तिथिमा शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन्  । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । जीवन चिसोतातो वा तापको सन्तुलन वा समशीतोष्ण घडीमा सम्भव हुने पनि कुष्माण्डा स्वरुपको अर्थबोध हुन्छ । यस दिन शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।
५. आश्विन शुक्लपक्ष पञ्चमी, माता स्कन्दमाता
आज बडा दशैंको पांचौें दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा आज माता स्कन्दमाता देवीको पूजाआराधना गरिंदैछ । रोल..
नवरात्रको पाँचौं दिन आश्विन शुक्लपक्ष पञ्चमी तिथिमा देवीको पांचौं रुप स्कन्दमाताको पूजाआजा गरिन्छ ।
भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक  मानिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् ।  यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । नवरात्रका अन्य दिन झैं देवी भक्तिका लागि यस दिन पनि  भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन् । देवीको पूजाआजा तथा शक्तिको साधना गरिरहेका छन् । काठमाडौको हनुमानढोकास्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवीमन्दिर तथा शक्तिपीठ  गह्येश्वरी, मैतीदेवी, नक्सालभगवती, कालिकास्थान, भद्रकाली, संकटा, रक्तकाली, दक्षिणकाली र स्वधा वा शोभाभगवतीका मन्दिरमा नवरात्रको विशेष पूजा शुरुभएको छ  । यसै गरी नरदेवी, विजयश्वरी, इन्द्रायणी, वज्रवाराही, बगलामुखीमा पनि दशैंको विशेषपूजा गरिंदैछ ।
यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा देवीभवानीको पूजाआराधना भइरहेको छ । पूर्वकी पाथीभरादेवी रक्तकाली, कंकालिनी, सिद्धकाली सखडा भगवती छिन्नमस्ता, गडीमाई भगवती, दन्तकाली, कालिञ्चोक भगवती, पाल्चोक भगवती, पलाञ्चोक भगवती, लिस्तीमाई, चण्डेश्वरी, चामुण्डा भगवती, सल्यानकोट भगवती, रिपुमर्दिनी भैरवी भगवती, देवीघाट भगवती, गोरखकाली, मनकामना भगवती, लमजुङ कालिका, छिम्केश्वरी, खड्गेश्वरी, मौलाकालिका, जितेश्वरी, भैरवी, भद्रकाली, विन्दवासिनी भगवती, सराङकोट, कास्कीकोटकी गुप्तकाली, पाङ्दुरकोट आलमदेवी, गह्रौंकालिका, सतौंचण्डी, बागलुङ कालिका, दुर्लुङ कालिका, जलजलामाई, शैलेश्वरी, वागेश्वरी उग्रतारा, लगायत देशका थुमथुम र गढीग्राम, दुर्गमा रहेका देवीमन्दिरमा बडो उत्साहका साथ भगवतीको पूजाअर्चना भइरहेका छ । मुलुकभर मानिसहरु ठूलो संख्यामा देवीपूजनका लागि मन्दिरक्षेत्रमा भेला हुने र मार्ग, बाटाघाटामा हिड्दा देश दुनिया नै जगमग र भव्य देखिएकोछ ।
६. आश्विनशुक्लषष्ठी, माता कात्यायनी,
आज बडा दशैंको छैठौैें दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा आज माता कात्यायनी देवीको पूजाआराधना गरिंदैछ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको पूजाआजा गरिन्छ  ।
माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका  लागि माता भवानी स्वयंम्  कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।  देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति रहेको छ ।
७. आश्विनशुक्ल सप्तमी : फूलपाती, देवी महासरस्वती
आज बडा दशैंको सातौं दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा आज देवी महासरस्वतीको पूजाआराधना गरिंदैछ । आज कोतघरहरुमा विशेष विधिले फूलपाती भित्र्यान्छ ।
नेपाली समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी  तिथिमा ज्ञानशक्ति स्वरुपा  माता सरस्वतीकोे पूजाआजा गरिन्छ । संसारमा रहेको अज्ञानता नाश गरी ज्ञानको माध्यमबाट सत्यस्थपना गर्न देवी भवानीले सरस्वतीको रुप लिनुभएको यस दिनमा माता महासरस्वतीको पूजाआजा गरिन्छ । महासरस्वतीको अनुकम्पाले साधकलाई साधनाका क्रममा आईपर्ने भ्रम,अपस्मरणबाट मुक्तिको निर्वाध मार्ग मिल्छ । सत्यको जानकारी नभई लौकिक लाभमा मस्त भएका मानिसलाई मन्त्रशक्ति,जपशक्ति,पाठशक्ति संगीतशक्तिको माध्यमबाट जीवनमुक्त बनाउन माता महासरस्वतीले शक्ति प्रदान गर्ने भएकाले उहाँलाई महासरस्वतीका रुपमा पूजा गरिन्छ । वसन्तपञ्चमीमा माता सरस्वतीका साधकहरुबाट पूजाआजा गरिन्छ  भने शारदीय सप्तमीमा शक्तिउपाशकहरुबाट महासरस्वतीको आराधना गरिन्छ । सेताफूलपाती प्रयोग गरेर सरस्वतीका स्तोत्र शुद्धसँग सारस्वत खुल्ने उच्चारण गरी देवीभगवती महासरस्वतीको पूजाआराधना गरिन्छ ।
बिहान महासरस्वतीको पूजा गरेपछि यस दिन साँझ कोटहरुमा फूलपाती भित्र्याउने चलन छ । देवी मन्दिर  नजिकै स्थापना गरिएको चण्डिथानबाट वा वनदुर्गबाट कोट वा दशैंघरमा केरा,उखुको बोट,दारिम,अदुवा,हलेदो,मानेको बोट,बेलपत्र,धानकाबाला,जयन्ती,अशोकका पात लगाएत शुभवनस्पतिका पल्लवपालुवा तथा फलफूलको पूजा गरी देवीमन्दिरमा फूलपाती भित्र्याइन्छ ।
परम्परा अनुसार यस दिन गोर्खा दरबारबाट ल्याइएको फूलपाती राजधानी काठमाडौको दशैंघरमा भित्र्याउने चलन छ । गोर्खाबाट ६ जना मगर पुजारीले बोकी ल्याएको फूलपाती काठमाडौको टुँडिखेलमा नेपाली सेनाले हर्ष बढाइँ गरी स्वागत गरेपछि विधिपूर्वक पुजारीहरुले दशैंघरमा भित्रयाउँछन् । फूलपाती भित्र्याएपछि दशैंको रौनक तीव्र हुन्छ । यस दिनदेखि टीकाका दिनसम्म सार्वजनिक बिदा दिइन्छ । मानिस दशैं मनाउन गाउंघरतिर जान धुइरो लागेर शहर बाहिर निस्कन्छन् ।
८. आश्विनशुक्ल अष्टमी: महाअष्टमी, महाकाली वा माता कालरात्रि
आज बडा दशैंको आठौैें दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा आज देवी महाकालीको पूजाआराधना गरिंदैछ । आजै राति मध्यरातमा कालरात्रिको पूजा गरिन्छ ।
नेपाली समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर शक्ति स्वरुपा भवानी माता महाकालीको पूजाआजा गरिन्छ ।  महाकाली आदिमाता पार्वतीको मायावी उग्र रुप हो । विश्वकल्याणका निम्ति ज्ञानसाधनामा साधनारत साधक सन्तसाधु चिन्तक,सत्मार्गीलाई त्रस्त तुल्याउने दुष्ट वृत्तिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट समेत तह लगाउने उद्देश्यले कालरात्रिको समयमा महाकाली देवीको प्रदुर्भाव भएको शास्त्रहरुमा उल्लेख छ । यी देवीको वदनवर्ण नीलो रंगको रेहेको छ । लामो रातो ओंठ भएकी, रातो जिभ्रो लप्लपाउने, गधामा चढेकी, नरमुण्डमाला लाएकी, विविध आयुध धरेकी, रक्तकुण्ड धारण गरेकी, बहुरुपी रङमा प्रकट भई असुरहरुलाई अलमलमा पारिदिने माता कालरात्रिको चरित्र चित्रण गरिएकोछ । माता पार्वती आफ्नो स्वर्ण स्वरुप छोपेर अंध्यारामा प्रकट भएकीले यस रुपलाई कालरात्रि भनिएको स्कन्द पुराणमा उल्लेख छ । देवीको महाकाली रुप शक्तिको भयंकर अवस्था हो । यस रुपलाई ज्ञानरुप शिवले सत्मार्ग प्रदान गर्दछन् ।  उनको प्रचण्ड शक्तिलाई जगतकल्याणमा रुपान्तरण गर्न शिव मात्र समर्थ छन् ।
लोकमा यस दिनदेखि देवीको विशेष पूजाआजा शुरु हुन्छ । शक्तिपीठहरुमा अष्टमीको मध्यरातमा वलिपूजा गरिन्छ । महाअष्टमीका दिन घरघरमा रहेका हातहतियार तथा सरसाधनको पूजा गरिन्छ । महाअष्टमीको रातमा कोटघरमा विशेष विधिपूर्वक कालरात्रिको पूजा गरेपछि कोटघर तथा देवी मन्दिरहरुमा वलिपूजा पनि हुनथाल्छ । सनातन हिन्दुधर्मसंस्कृतिमा विशेष महत्वका साथ मानिने चार रात्रिहरुमा कालरात्रि पनि एक हो ।
९. आश्विनशुक्ल नवमी: महानवमी, माता महागौरी
आज बडा दशैंको नवौ दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा माता महागौरीको पूजाआराधना गरिंदैछ ।
नेपाली समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ ।उनी सबै दुर्र्गित नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् । महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको  रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा कन्याहरुको समेत पूजा गरिन्छ ।
महानवमीका दिन घरघर स्थापना गरिएका दशैंघर,देशभरका देवीमन्दिर तथा कोटघरमा भव्यपूजाआजा हुन्छ । दुर्गति नाश गर्ने प्रतीकका रुपमा शक्तिपीठहरुमा विधिपूर्वक वलिपूजा तथा सात्विक पूजा गरिन्छ । यस्ता पीठहरुमा राँगा, बोका, भेंडा, कुखुरा, हाँसका भालेको पञ्चवलि पनि दिइन्छ । भने सात्विक पूजा गर्नेले कुभिण्डो केरा नरिबल लगाउतका फलफूलको भोग लगाउँने चलन छ । शक्ति आर्जनका लागि व्यक्ति वा राज्यशक्तिले समेत महाशक्तिको पूजा गर्ने चलन छ । राज्यशक्तिकी माता तलेजु भवानीको यस दिनमा बडो भक्तिपूर्व पूजा गरिन्छ ।
काठमाडौको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर महानवमीका दिन मात्र सर्वसाधारणलाई खुला गरिन्छ । तलेजु भवानीका साथै काठमाडौं उपत्यकामा रहेका शक्तिपीठ तथा देवीमन्दिरहरु गह्येश्वरी, मैतीदेवी, नक्सालभगवती, कालिकास्थान, भद्रकाली, संकटा, रक्तकाली, दक्षिणकाली र स्वधा वा शोभाभगवतीको विशेष पूजा गरिन्छ । यसै गरी नरदेवी, विजेश्वरी, इन्द्रायणी, वज्रवाराही, बगलामुखीमा पनि  विशेषपूजा गरिन्छ ।
यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा महानवमीका दिन देवीभवानीको भव्यपूजा हुन्छ । पूर्वकी पाथीभरादेखि रक्तकाली, कंकालिनी, सखडा भगवती छिन्नमस्ता, गडीमाई भगवती, दन्तकाली, सिद्धकाली, कालिञ्चोक भगवती, पाल्चोक भगवती, पलाञ्चोक भगवती, लिस्तीमाई, चण्डेश्वरी, चामुण्डा भगवती, सल्यानकोट भगवती, रिपुमर्दिनी भैरवी भगवती,देवीघाट भगवती, गोरखकाली, मनकामना भगवती, लमजुङ कालिका, छिम्केश्वरी, खड्गेश्वरी, मौलाकालिका,जितेश्वरी, भैरवी, भद्रकाली, विन्दवासिनी भगवती, सराङकोट, कास्कीकोटकी गुप्तकाली, पाङ्दुरकोट आलमदेवी,गह्रौंकालिका ,सतौंचण्डी, बागलुङ कालिका,दुर्लुङ कालिका, जलजलामाई, शैलेश्वरी, वागेश्वरी उग्रतारा लगायत देशका थुमथुम र गढीग्राम, दुर्गमा रहेका देवीमन्दिरमा बडो उत्साहका साथ भगवतीको पूजाअर्चना गरिन्छ । मुलुकभर मानिसहरु ठूलो संख्यामा देवीपूजनका लागि मन्दिरक्षेत्रमा भेला हुने र मार्ग, बाटाघाटामा हिड्ने हुँदा देश दुनिया नै जगमग र भव्य देखिन्छ ।
१०.दशमी : विजया दशमी, दशैंको टीका, माता सिद्धिदात्री, अपराजिता 
आज बडा दशैंको टीकाको दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा माता सिद्धिदात्री, अपराजिताको पूजाआराधना गरिंदैछ । दशैंघरमा आज देवी बिसर्जन गरी दुर्गाको प्रसाद स्वरुप दशैंको टीका लगाइँदै छ ।
नेपाली समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको दशौं दिन आश्विनशुक्ल दशमी तिथिमा शक्ति स्वरुपा भवानी माता सिद्धिदात्रीको पूजाआजा गरिन्छ ।  सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको छ । उनको वदन वर्ण खैरो रहेको छ । विद्या, ध्यानसाधना कलासाधकहरुले नित्य सिद्धिदातृ देवीको पूजा गरिरहेका हुन्छन् । देवता,सिद्ध, गन्धर्व,यक्ष,असुर लगायतले आफ्नो कार्यसिद्धिका  लागि सिद्धिदातृदेवीको आराधना गर्दछन् । भगवान शंकरले माता सिद्धिदातृको पूजाआराधना गरी आफ्नो शरीरको देब्रपट्टि देवीलाई उत्पन्न गराई अर्धनारीश्वर बन्न सफल भएको शास्त्रहरुमा उल्लेख छ । भगवान श्रीरामले  शारदीय नवरथामा यिनै देवीका स्वरुपको पूजाआराधना तथा शक्ति साधना गरी आसुरी वृत्तिका रावणमाथि विजय प्राप्त गरेको पनि उल्लेख छ ।
नवरात्रको अन्तिम दिन आदिशक्ति भगवतीमाता सिद्धिदातृ, विजया वा अपराजिताको भक्तिपूर्वक पूजा गरिन्छ । गुह्यरुपमा समेत पूजा आराधना गर्न आह्वान गरिएकी देवीलाई दशैंको दशौं दिन विधिपूर्वक बिदा गरिन्छ । देवी विसर्जन गर्दा नवरात्रभर देवीपूजनमा प्रयुक्त टीका वितरण गरी निधारमा लगाउने र नौ दिनदेखि जमाइराखिएको जमरालाई सिद्धिको प्रसाद मानेर शिरमा लगाउने गरी देवी मन्दिर वा कोटघरमा बाँडिन्छ । दशमीका दिन बिहानै देवीमन्दिरमा पुगेका बूढापाकालाई यो प्रसाद दिइन्छ । कोटबाट प्राप्त  देवी प्रसाद घरघरमा लगी दशैंघरका जमरा र टीकामा मिसाइन्छ । घटस्थापनाको घडाबाट जलअभिषेक गरी घरका ठूलाबडा वा जेठासदस्यबाट टीका लगाइदिने गरिन्छ ।
शुभसाइतमा देवी प्रसाद टीका लगाएपछि शिरमा पहेंला जमरा सिउरिदिने र शिरमा हात राखेर ठूलाबडाले आशीर्वाद दिने गरिन्छ । यसरी आशीर्वाद दिंदा पुरुषलाई आयु द्रोण सुते … भन्ने मन्त्र उच्चारण गरिन्छ भने नारीलाई आशीर्वाद दिंदा जयन्ती मंगला काली ..भनेर सुखसमृद्धि, सुसन्तान,ज्ञान,विद्या अटल सौभाग्य र दीर्घायुको आशिष दिइन्छ ।  टीकाका दिन अस्त्रशस्त्रको आधार वृक्ष शमी दर्शन गर्ने परम्परा छ । शमीवृक्षमा देवीदेवताले हतियार थन्क्याउने विश्वास गरिन्छ ।
राम्रा वस्त्र आभुषण सौभाग्यसूचक गरगहना लगाई मान्यजनबाट दहीमा मुछेका अक्षताको रातो वा सादा टीका  लगाई सिद्धि प्राप्ति र आसुरीवृत्तिमाथि जित हासिल गर्न देवीले शक्ति दिएको अर्थबोध गराउने विजयको  टीका निधारभरि लगाई पूरै गाउँघर र आफन्तर कुलकुटुम्बकहाँ गइने हुनाले यस दिनलाई विजया दशमी पनि भनिन्छ । चाडपर्व बडो पर्व मानिने र बडाजनबाट आषिश थापिने भएकाले दशैंलाई बडादशैं भनिएको हो । यति धेरै दिन लगाएर महत्व र उल्लासका साथ मनाइने पर्व नेपाली समाजमा अर्को छैन । जहाँ भए पनि दशैंको टीका लगाउन मानिस घर फर्कन्छन् । आफन्त पनि टीका लगाउन आउने सरसन्तानको बाटो हेरी पर्खिरहन्छन् ।।
दशैंको यो उल्लासमा टीका जमरा लगाई फलफूल तथा मीठो पकवान्न सेल रोटी, अनरसा, अर्सा अचार खल्पी लगाएतका परिकार खानुका साथै मासु पनि खाने खुवाउने गरिन्छ । छरछिमेकका घरघरमा गई बूढापाकालाई भेट्ने टीका लगाउने, आशिष  थाप्ने, परिकार खाने, पिङ खेल्ने, मामाघर, मान्यवर लगायतका नलनाताकहाँ जाने वर्ष दिनको पर्वमा भेटेर भलाकुसारी गर्ने सम्बन्ध सुमधुर तुल्याउने यो पर्व नेपाली समाजको सभ्यता बोल्ने पर्व हो । यस अघि कुनै विवाद परी झैझगडा भएर नबोलेका सदस्यलाई दशैंको टीका बार्नु हुँदैन भनेर मान्यजनबाट टीका थापेर विगत बिर्सने र सम्बन्ध सुधार्ने परम्परा छ । दशैंटीका जमरा लगाई आशिर्वाद लिने यो क्रम दशमीदेखी कोजाग्रत पूर्णिमा गरी पाँच दिनसम्म चलिरहन्छ ।।
दशैंको टीका र नेपाली जनमन
यो देशमा, बडा दशैंको टीका कति महत्वपूर्ण, मुलुकभर लाखौंलाख मानिसले एकैसाथ शुभसाइतमा टीका लगाएका छन् । आफूप्रति सदा भलो चिताउने भलाद्मी बडाजन,मान्यवरका हातबाट टीका लगाएका छन् । ढोगदर्शन गरेका छन् । मान्यताको मूर्ति साक्षात छ ।
कोही बाआमाको हातबाट टीका लगाउन गाउँघर गएका छन् । कोही देशपरदेशबाट फर्केका छन् । कर्मथलोबाट आमाबा बस्ने घरमा आएका छन् । कोही देशका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजाको हातबाट टीका लगाउन लामबद्ध छन् । एक चिम्टी टीकाको कत्रो महत्व,चारगेडा अक्षताको कत्रो गरिमा,कस्तो महिमा ।
टीका लगाउँदा अधिकाधिक देशवासी एकैसाथ जागेका छन्,एकै मुहूर्तमा साइत छोपेका छन् । एकै दिनको एकै घडीमा मुलुकवासी जुरुक्क उठेका छन् । एउटै कर्ममा करोडौं हात जुटेका छन् । यो टीकाले राष्ट्र ब्युँझाइरहेको छ । राष्ट्रिय एकता बढाइरहेको छ । त्यस्तो कुन कार्य होला जसलाई मुलुकका सर्वाधिक मानिस एकैसाथ गरुन्,एकै दरले जुटून्, त्यो यही टीका हो । जब बडादशैं दशैंको टीका लगाउने शुभसाइतको तोप टुँडिखेलमा पड्कियो तब देशैभर निधारमा टीका लगाउने हात उठे । भाग्यभालमा अक्षयी आशीर्वादका अक्षता बसे । आशिषका मन्त्र गुञ्जिए…आयुद्रोण सुते श्रीयम् दशरथे…..भनेर नरका निधार भरिए । ओं जयन्ती मंगलाकाली भद्रकाली कपालिनी….भनेर नारीका माथमा सौभाग्य सजिए । जमरा धरिए ।
टीका लगाएपछि सबै रसिला,सबै उजेला,सबै हसिला । विगतका विवाद बिर्सेर झगडिया पनि आशीर्वादका लागि झुकेका छन् । दोषीकैदी पनि फुकेका छन् । मान्यजनकहाँ पुगेका छन् । निधारभरि टीका लगाएर छरमिेकका घरदैलामा डुलेका छन् । हर्षमिलनका बात गरेका छन् ।
मुलुकमा कोही यसरी टीका लगाई रमेका बेला कोही भने टीका लगाउन नपाएर रोएका छन् । विभिन्न कारणले टीका रोकिंदा रुनेको मन पनि टीकाले स्पर्श गरेको छ । अरुको निधार भरिपूर्ण भएका बेला आफ्नो निधार खाली रहँदा भित्रभित्र छोएको छ,मन खिन्न भएको छ । घुक्क होला जस्तो भएको छ । यो भक्कानो कसरी रोकूँ जस्तो भउको छ । बगिआउने आँशु कसरी लकाऊँ भएको छ । पुछेर नसकिने गरी अश्ररधारा बगिरहेछ ।
कर्मथलोमा बिदा नमिल्दा कसैको घरमा वर्ष दिनमा आउने दशैंको टीका छुट्यो । विददेशमै अलपत्र हुँदा कसैको लाउनेखाने बेलाको टीका छुट्यो । काम गरेको ठाममा खर्चपर्च नपाउँदा हाड घोटेर गरिखाने दशैंखर्च लिएर आउन नपाउँदा टीका छुट्यो । लडाईका बीचमा भिडिरहनुपर्दा कसैको टीका छुट्यो । कसैको घरमा मरघट हुँदा दशैंको टीका रोकियो । वर्षामा आएको बाढीले सरसन्तान बगाउँदाको वियोगले दशैं रित्तो भो । परिवारका सदस्य दुर्घटनामा परेर अस्पताल बसिरहनुपर्दा यसपालिको दशैं कसैका लागि यस्तै भो । अरुले टीका लाउँदा शहीद परिवारमा फोटो हेरेर रोइरहनुपर्ने ,उसकै फोटोलाई टीका लगाइदिँदा हात धरधराएर आशुका बलिन्द्र धारा बगाई वर्षेनि टीका लगाउने पर्ने पीडा भो । लगाउँदा पनि रुवाउने,नलगाउँदा पनि रुवाउने यो कस्तो टीका । कति मर्मस्पर्शी टीका ।
टीकाका दिन कोही टुप्लुक्क आइपुग्यो कस्तो खुशियाली । अनेक उपाय गर्दा पनि टीकाका दिन घर पुग्छु भन्दा पनि टीकाको भोलिपल्ट मात्र घर पुग्नुपर्दा कस्तो खल्लो कस्तो थक्क,कस्तो बिरसिलो लगनपछिको पोते जस्तो । दशैंको टीका जस्तो  यति आत्मीय नाताले टासिएको वस्तु शायद अरु केही होला । वस्तुवादीहरु इसलाई मात्र एक चिम्टी चामल भन्लान् पुरानो चलन भन्लान्, परम्पराप्रतिको लगाव भन्लान्, अभ्यस्त व्यवहार भन्लान् । तर टीकाको महत्व यत्ति हो भने यो यति सारो टल्कने थिएन । यसको टलक त तारा समान छ । जाज्ज्वल्यमान ज्योति समान छ । एकै टकिाले जीवन जोडिन्छ । नाता गाँसिन्छ । अर्थ फेरिन्छ । विजयको घोषणा गरिन्छ । टीका लगाउँदा एउटा अर्थ छ ,टीका पुछिदा अर्कै अर्थ छ । टीकासँग यहाँ गहिरो सम्बन्ध छ । टीका निधार वा भालको भृकुटीमा लगाइन्छ । योग अनुसार तेस्रो नेत्र खुल्ने आज्ञाचक्रको बिन्दुमा लगाइन्छ । ईडा पिङगला र शुशुम्णाको संगममा लगाइन्छ । गंगा यमुना र सरस्वतीको त्रिवेणीमा लगाइन्छ । शरीरको अत्यन्तै संवेदनशील भागमा लगाइन्छ । शरीर र अध्यात्मको अन्तर्सम्पर्क हुने नाडीयोगमा लगाइन्छ । चिकित्सा विज्ञानले पनि चिन्न नसकेको चिन्मय स्थानको मध्यमा लगाइन्छ ।  जन्मेको छैटो दिन विधाताले भाग्य लेख्ने भालमा लगाइन्छ । भगवानले त्रिपुण्ड लगाउने स्थानमा लगाइन्छ । शोभा सौन्दर्यको परिधान नभई निर्वाणको नेटामा पुर्याउने निधारमा लगाइन्छ । आफूप्रति सदा सद्भावना राख्ने अग्रजको आज्ञा मान्ने र अनुजलाई अचुक आज्ञा दिने आज्ञाचक्रको ऊर्जास्थलमा लगाइन्छ । आज्ञा असफल नहुने उचाइमा लगाइन्छ । टीकासँग अध्यात्मको नाता छ । कुण्डलिनी जागेर आज्ञाचक्र खुली शाश्वतको संकेत देख्ने चक्षुमा आधारित छ । योगमाया प्रकृतिदेवी दुर्गाले साधकलाई यो शिखरमा पुर्याई विजयी बनाएकोमा विजयउत्सवको अर्थ छ । आज्ञाचक्र खुलेपछि अपराजित भएको उचाइपूर्ण अर्थ छ । यही आन्तिरिक उचाइमा पुगेर मुक्तिको मुहान भेटेको अर्थबोध गर्न ललाटमा विजयको लाल रंगी टीका लगाएको अर्थ छ । देवीदीक्षान्तको अर्थ छ । जीवन ऊर्जाको पद्मपुष्प पल्वित भएको प्रसाद छ । अध्यात्मको पद्म नयन प्रकट भएको अर्थ छ । मूलको ऊर्जाधार उन्नत भई निधारमा आएर अक्षत रक्तकमलको आभा प्रकाशित भएको छ । दशैंको टीकाले यो टलक दिइरहेको छ ।।
आश्विन शुक्लपूर्णिमा : कोजाग्रत  पूर्णिमा
देवी महालक्ष्मी
आश्विन शुक्लपूर्णिमा दुर्गापक्षको अन्तिम दिन हो । यस दिन बाँकी रहेका व्यक्तिबाट टीकाप्रसाद ग्रहण गरी यसलाई पूर्ण गरिन्छ ।  टीकाटालोको क्रम सकिएपछि घटस्थापनाका दिन दशैंघरमा राखिएका सारा सामग्री अवशेष पानीपँधेरा तथा जलघाटमा लगेर सेलाइन्छ ।
यसै दिनदेखि महान् पर्व सकिएर अर्को ठूलो पर्व तिहार थालिन्छ  । कोजाग्रत पूर्णिमाको रातमा आकशदीप बाली दीपावलीको शुरुवात गरिन्छ । शारदीय रातमा हिमाली देश नेपालको भूमिबाट आकाशका तार राम्ररी नियाल्न सकिने हुँदा जगतलाई यसतर्फ आकर्षित गर्न आकाशदीप बाली पर्व मनाइन्छ । आकाशतिर हेर्नाले जगतको संकीर्णता हट्ने र खुला उदार मन हुने स्वभावको विकास हुन्छ । यसै दिनदेखि सम्पन्नता वा धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । यस पूर्णिमाको रातमा देवीभक्तिमा को जागै छ वा जाग्रत छ भनेर वैकुण्ठबाट महालक्ष्मी लोक आउने विश्वास गरिन्छ । महालक्ष्मीले संसारमा को जाग्रत छ भनेर हेर्ने हुनाले यसपूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिएको हो । कोजाग्रत पूर्णिमाको रातमा भजनकीर्तन,नृत्य गरेर रातभर जाग्राम बस्ने चलन छ ।
यसै पूर्णिमादेखि कार्तिक स्नान शुरु हुने र घरघरमा महालक्ष्मीको आह्वान गरिने हुंदा हिन्दूहरुको अर्को महान् पर्व तिहार आगमनको संकेत मिल्दछ । कोजाग्रत पूर्णिमा दिन सार्वजनिक बिदा दिइन्छ  ।
।।इति ।।

Facebook Comments

सम्बन्धित

Leave a Comment