मोटरसाइकल प्रतिबन्धको हल्ला र सडक विस्तार

रोशन श्रेष्ठ

मोटरसाइकल प्रतिबन्धको हल्ला कुनै सनकि कर्मचारीको सनकमा चलेको हल्ला होला – यदि तपाइ यो सोच्दै हुनुहुन्छ भने तपाइ महाभ्रममा हुनुहुन्छ । बाटो फराकिलो पार्नु नै बिकास हुनु हो भन्ने सामाजिक बुझाइ थियो पहिला । त्यहि बुझाइलाइ क्याच गरेर अन्धाधुन्ध बाटो फराकिलो पार्दा बिकास गरेको नाममा जनसमर्थन पनि बटुलिने र मुलवासी बिस्थापन गर्न पनि पाइने, अर्थात दुबै हातमा लड्डु हुने सोचाइ आप्रवासी बाहुन शासकहरुसित थियो । ती आप्रवासी बाहुन शासकहरुले मेडियामार्फत २४सै घण्टा प्रचार गरे कि नियमबिपरीत बाटो मिचेर बनाएको घरहरु भत्काइयो । पुराणवाचनकलाको उपयोग गर्दै सोझासिधाको दिमाग भुटेको फलस्वरुप नियममुताविक बनेका घरहरु, शताव्दियौ पुराना घरहरु, साँस्कृतिक सम्पदाहरु माथि हठात डोजर चलाउँदा पनि ‘ठिकै हो, बाटो त फराकिलो चाहिन्छ नि’ भनेर जनता चूप लागे । कतिपय लोभि पापि जनताहरु आफ्नो अगाडिको घर भत्कियो भने आफ्नो घर बाटो छेउमा पर्ने सुविधा पाउने लोभ राखी घर भत्काउन नालिस हाल्ने, डोजर लिएर आउनेलाइ सघाउने कार्यमा पनि सरीक भए ।

तर हामीसित सरकारी प्रायोजनमा चल्ने मिडिया नभएतापनि सामाजिक सञ्जाल थियो, त्यसै मार्फत हामीले अन्यायपूर्वक बाटो फराकिलो पार्न नपाइने पक्षमा आवाज उठाइ नै रह्यौ । बिकासको कुरा आफ्नो ठाउँमा छ, तर उपत्यकामा बाटो फराकिलो पार्ने र प्रायोजित बिकास थोपर्ने काम राजनीतिक मुद्दा हो,भ्रममा नपर्नुहोला यो बिकास किम्मार्थ होइन । शुरुशुरुमा बिकासबिरोधी भनेर हामीलाइ सत्तोसराप लगाए, तर जब धेरै भन्दा धेरै जनताले वास्तविक विकास बाटोमात्र होइन भन्ने बुझ्दै गए, तब डोजर लगाइ बाटो फराकिलो पार्नको निमित्त मैमत्ता भएर सडकमा निस्कन आप्रवासी शासकहरु नसक्ने अवस्था आयो । जनप्रतिकारको झिल्को सल्कियो भने आप्रवासी शासकहरुले नयाँ थातथलोमा टेक्न उभिन नसकिने स्थीति सामना गर्नु पर्ने खतरा पनि छ है भन्ने बोध गर्नु पर्ने अवस्था आयो ।

काठमाँडौ उपत्यकाबाट रैथाने नेवारलाइ बिस्थापन गर्ने नीति आप्रवासी बाहुनको नीति निर्देशनमा चल्ने खस गोर्खाली राज्यले प्रारम्भ देखि नै लिएको कुरा इतिहासको मिहिन विश्लेषणबाट सिद्ध भएको कुरा हो । नेवार समाजले यूरोपमा औद्योगिक क्रान्ति हुनु अगाडि नै नेपालमा स्थापित गरीसकेको औद्यौगिक उत्पादनशीलता ध्वस्त बनाएर सीप र प्रविधि जानेका नेवारहरुलाइ उपत्यका बाहिर लखेटीनु पर्ने अवस्था आएको हुनाले नै पूर्व कालिम्पोङ देखि पश्चिम धनगढी सम्म समुह समुहमा छरीएको अनगिन्ति स-सानो नेवार बस्तिहरुको अस्तित्व भएको अवस्था रहेछ । काठमाँडौ खाल्डोमा बसेर दरबारलाइ सघाउने, कृषि पेशा गर्ने, राज्यसत्ताको दमनसित ‘त्वमशरणम’ गर्ने, राजनीतिसित सरोकार नराख्ने मुलकट्टा टायपका नेवारहरु मात्र उपत्यकाभित्र अडेका रहेछन । निकै थोरै नेवार बाँकि छन, जो उपत्यका भित्र पुर्खाले छाडेर गएका चिनोहरु पछाडि लुकेको उन्नतस्तरको ज्ञान बारे जानकारी राख्छन । नेवार सभ्यताका ती धरोहरहरु यत्तिकै ठिंङ्ग उभ्भिएको मात्र छैनन, बरु पुर्खाहरुमा रहेको अब्बल स्तरको सीप, बिज्ञान, प्रविधि, कला, ब्यवस्थापन, विकास, सम्बर्धन, प्रविधि प्रशोधन आदि अनगिन्ति पक्षहरुको मिशाल बनेर बताइरहेको छ – हेर तिम्रा बाउबाजेले यस्तो कुरा त्यो बेलामा बनाएर छाडेका थिए, तिमीहरु त्यसको संरक्षण गर्न समेत नसक्ने हुत्तिहारा बनेका छौ – थुक्क ।

एउटा उदाहरण दिन्छु, भक्तपूरमा बाटोमा इट्टा छाप्न जर्मनहरु आउँदा तिनलाइ थाहा भयो, भक्तपूरका तिनले खोतलेको बाटोहरु पहिला अनुमान गरिएजस्ता सामान्य बाटोहरु होइन रहेछ । बाटो बनाउने अनेकौ प्रविधिहरु छन । रोमनहरुले २४०० वर्ष अगाडि यूरोपमा बिकास गरेको प्रविधिमा बाटोमुनि पहिला जग राखिन्छ, र त्यसमाथि आवश्यकताअनुसार तह तह थप्दै माथिल्लो तह कडा बनाइन्छ । त्यो प्रविधिलाइ उन्नत पार्दै १६ औ शताव्दीतिर यूरोपमा सबस्ट्रेट लेयर बनाउने प्रविधि अपनाइयो । यस्तो प्रविधियूक्त बाटोहरु बढी टिकाउ हुन्छ । भक्तपूरका बाटोमुनि पनि थरीथरीका तहहरु राखिएको पाइयो । अझ अचम्म त, ती तहहरुमा मिलाएर राखिएको बालुवा भरीएको कुलोहरु समेत रहेछन । यसले बाटोमाथिबाट रसिएर गएको पानीलाइ बाटो मुनिबाट हटाएर पर पुराइदिने रहेछ । यस्तो प्रविधिका कारण बाटो नभास्सिने, हिलो नहुने र लामो समय मर्मत नगरेपनि हुने रहेछ । ती तल्ला तहहरु राखीसकेपछि माथिल्लो सतहमा चिकंआपा भनीने थिचि थिचि खाँदिएको माटोबाट बनेको इट्टालाइ तेर्सो तेर्सो इन्टरलक हुनेगरी राखिन्छ । घनत्त्वमा ती चिकंअापा अन्य सामान्य इटाभन्दा डेढि जस्तो बढि हुन्छ भने तिनको बलियोपना र टिकाउ ४ गुणा बढी हुन्छ । जब यो सबै रहस्यहरु देखे, ती जर्मन प्राविधिक नै छक्क परे । समकालीन समयमा यूरोपमा समेत नरहेको उन्नत प्रविधि र बुद्धि पुराइ बनाइएको सबस्ट्रेट लेयरहरु भएको बाटो रहेछ नेपालमा ।

अर्को उदाहरण दिन्छु, भुकम्पले भत्केको मन्दिरहरु पुनर्निर्माण गर्न सहयोग गर्न आएको जापानी आर्किटेक्ट पनि नेवार सीप देखेर चकित परे, जब उनले देखेकि कलात्मक काष्ठकलाले भरीएको झ्यालका काठहरुको पछाडि पट्टि भित्री भागमा कोडहरु कुँदिएको रहेछ । त्यो कोड पहिल्याएर टुक्रा टुक्रा जोडेर झ्यालबनाउने रहेछ नेवारले । भत्केको स्थलबाट संकलन गरी फेरी बनाउनको निमित्त पनि कोड अनुसार कुन भाग हराइरहेको छ, थाहा हुने रहेछ । त्यस्तै खालको प्रविधि अहिलेको आधुनिक जमानामा मास म्यानुफ्याक्चरीङ गर्ने एसेम्बली लाइन इन्डस्ट्रीमा प्रयोग हुन्छ, जसको बिकास पश्चिमा संसारमा १९औ शताव्दितिर बल्ल भयो । तर नेपालमा भने १७औ शताव्दीको मन्दीर र घरहरुमा ती फेला परे ।

भनेपछि, बिगतमा प्रयोग गरीएका ती उन्नत प्रविधि र सीप ज्ञान जानेका नेवारहरु कता गए त? घर भन्दा धेरै मन्दीर बनाउन सक्ने यहाँका रैथानेहरु कता पुगे त? मान्छेको संख्या भन्दा बढी ढुंगाको मुर्ति कुँद्न सक्ने सीपकर्मीहरु कता बिलाए त? निश्चित रुपमा तिनीहरु या त लखेटिए, या त महारोगले सोत्तर परे । अर्थात, कतै दस्तावेजीकरण नभएको एक रहस्यमय पलायन, अथवा बिस्थापनको सिलसिलाको चिन्ह यसरी हामी देख्न सक्छौ । नेपालका कुनाकन्दराहरुमा छरिएर बसेका, ३०-४० वर्ष अगाडिसम्म जिउँदो रहेका बुढापाका नेवारहरु, चाहे ती इलामका हुन वा धनगढीका – ती सबै नेपालभाषा बोल्न जान्दथे, ती सबैले आफ्नो पुर्खौली उपत्यकाको यो ठाउँमा हो, यो टोलमा हो भन्न जान्दथे, ती सबैलाइ आफ्नो दिगुद्य: यहाँ निर छ भन्ने थाहा थियो । अर्थात तिनीहरुको भनाइ र स्मरणश्रुतिमार्फत करीव १५० – २०० वर्षको अन्तरालमा मात्रै तिनीहरुले बसाइ सर्नु परेको हो भन्ने कुरा बुझ्न कठीन थिएन ।

बिगतकालमा भएको नेवार बिस्थापनको उद्देश्य नेपालको शासनसत्तामा खस-गोर्खालीहरुले अकण्टक नियन्त्रण गर्ने उद्देश्य थियो । तर हाल करीब ३० – ४० वर्ष यता तिब्रता दिइएको रैथाने बिस्थापन तथा आप्रवासी केन्द्रिकरणको पाटो भने धेरै फरक खालको छ ।

करीब ६ वर्ष अगाडि एक मित्रले भन्नु भएको थियो, काठमाँडौ उपत्यकाको सेरोफेरो केन्द्रीत गरेर करीब २ करोड जनसंख्या रहने एक बिशाल मेघामेट्रो सिटि बनाउने योजना छ । अर्थात नेपालको सम्पूर्ण भने जसो जनसंख्या काठमाँडौ थुपार्ने योजना छ । यो योजना कसको, किन, कसरी, कहिले भन्ने कुरा कन्सपिरेसि थ्यौरी जस्तै हो । त्यसैले धेरै डिटेलमा जानु उचित नहोला । तर यति थाहा पाइराख्नो, धादिङ नौबेसी पूर्व र पनौति पश्चिमको क्षेत्र समेटिने गरी नेपालको पूर्व पश्चिमको सबै जनसंख्या केन्द्रीत गर्ने र यतातिर सार्ने एक वृहद योजना छ छ अवश्य छ । अहिले तपाइले सुनिरहेको स्मार्ट सिटि वा मेट्रो रेल, मोनो रेल वा फास्ट ट्रायक – यी सबै कुराहरु हठात र लहडका भरमा उठेका विषयवसतु किम्मार्थ होइनन ।

मेगामेट्रो सिटी योजना मुताविक गाँउगाँउमा ‘काठमाँडौ’लाइ सपनाको शहर बनाउने, गाँउगाँउमा तनाव अशान्ति अभाव अब्यवस्थाको वातावरण बनाएर मानिसलाइ काठमाँडौ लखेट्ने, गाँउगाँउबाट जुलुस गर्न, अभियान गर्न, घुम्न भन्दै मान्छे काठमाँडौ ल्याउने र फिर्ता जाने बेला अलपत्र पारेर छाडेरै भएपनि काठमाँडौमा अडिन बाध्य बनाउने, अनेकौ अनेकौ नाउँमा काठमाँडौ केन्द्रित आप्रवासन प्रायोजन गर्ने नीतिहरु कार्यान्वयन भइरहेको छ । कमल थापाले एकपटक मुख फोडेरै भनेका छन – “बाबुरामजी महान हुनुहुन्छ, हामीले ३० वर्षमा गर्न नसकेको काम उहाँले छोटो समयमा गरेर देखाइदिनु भयो ।” के गर्नुभयो र त्यस्तो? माओबादी आन्दोलन उत्कर्षमा पुराएर गाँउका मानिस काठमाँडौ लखेट्नु भयो, काठमाँडौमा डोजर लगाउनु भयो – यस्तै यस्तै नै होइन र? होइन भने कमल थापाहरुले ३० वर्ष लगाएर गर्न नसकेका अरु के काम हुन सक्छ जुन बाबुरामले छोटो समयमा गरेर देखाएको छ? यो तपाइ आफै गमेर बिचार गरी हेर्ने विषय हो ।

स्पष्ट छ, पछिल्लो कालमा तराइ मधेशबाट पनि अकल्पनिय आप्रवासन काठमाँडौ केन्द्रीत हुँदैछ । तपाइ बिगत ५० वर्षको जनसंख्या तथ्याङक मात्र हेर्नोस न, कुन समयमा कतातिरबाट आप्रवासनको चाप बढ्यो, आप्रवासनको चाप बढे सँगै काठमाडौ कसरी परिवर्तन गरीदै लगियो, काठमाँडौमै मात्र सबै पूर्वाधारहरु किन थुपारिदै लगियो, काठमाँडौ वासीका स्वामित्त्वबाट जग्गा खुस्काउन कसरी यहाँको वासिन्दालाइ जग्गा बेच्नै पर्ने अवस्थातिर धकेलियो, जग्गा बेच्ने कानूनी जटीलताहरु कसरी हटाइयो, यि सबै सबै मुल्यांकन गरेपछि वस्तुस्थीति छर्लङ्ग हुन्छ । स्मरण रहोस, अहिले पनि स्मार्ट सिटी र स्याटेलाइ सिटीको नाउँमा लाखौ रोपनी जग्गाहरु किनबेच प्रतिवन्ध लगाइ थप आप्रवासीहरुलाइ राख्ने ठाउँ बनाउने योजनाहरु जारी नै छ । भित्री चक्रपथ २७ किलोमिटर बनेपछि उपत्यकामा जनघनत्व १० गुणा बढाउन सफल भए, अब बाह्य चक्रपथ भनी थप करीब ६० किलोमिटर बनेपछि कति मानिस थुपारिने हुन, त्यो अनुमानको विषय मात्रै हो ।

अब संगीन प्रश्न यो छ कि, यसरी भएभरको नेपाली मान्छे काठमाँडौ सार्नुको प्रयोजन के होला? र यो नबिर्सनुस कि, पूर्व पश्चिम उत्तर दक्षिणका मानिस काठमाँडौ केन्द्रीत गर्नु भनेको, अर्को शव्दमा भन्ने हो भने, तिनीहरु आफै हाल बसीरहेको ठाउँहरु खाली बनाउदै लगेको पनि हो । हेर्नुहोस, धेरै ठाउँहरुमा अचेल मलामी जाने मानिस पाइदैन । आपत बिपतमा गुहार माग्न मानिस पाइदैन । खेत जोत्ने मानिस नभएर बाँझो जग्गाहरु जताततै देखिन्छ । भन्नुहोला यूवा शक्ति बिदेशीएको हुनाले त्यस्तो भएको हो । त्यो पनि सहि हो । तर बिदेशीएका अधिकांश यूवाहरु चालीस कटेसी धमाधम फिर्ता आउनेछन, ती फर्केर गाँउतिरै जालान या काठमाँडौ तिरै बरालिएलान । मेरो टोल वरीपरी मैले दर्जनौ जस्तो संख्यामा चालिस कटेका साउदी रिटर्नहरु देखे, जो आफ्नो गाऊ नफर्कि काठमाँडौमा नै इनार खन्ने वा निर्माण कार्य आदि काममा संलग्न भइ गुजारा गरीरहेको भेटें । जनसंख्याको तथ्यांङकमा उनीहरु काठमाँडौ उपत्यकाबासिको रुपमा गणना नहोलान, तर उनीहरुको बसोबास काठमाँडौ नै हो । यो आजको वास्तविकता होइन र?

कुरा बहकियो, मूल प्रश्नतिर जाऔ ।
जब मोटर साइकल माथि प्रतिबन्ध लाग्छ, त्यसपछि के हुन्छ? या त तपाइ हिड्नु पर्यो, या त साइकल वा ट्याक्सी वा कार वा बस वा माइक्रो आदिको सहारा चाहियो । यसबाट निजी कार घरघरमा राख्ने प्रतिस्पर्धा बढ्छ । शहरी बुर्जुवाहरु देखासिकी गर्न सिपालु छन । मेरा सबै साथीहरु कार चढ्छन र मसित कार भएन भने मलाइ लाज हुन्छ । घर धितो राखेर भए पनि, पार्किङ गर्ने ठाउँ नभए पनि, कार एउटा त जसरी पनि किनौं भन्ने लहर चल्ने छ । कार बेच्ने ब्यापारीहरुको संस्थाले पैसा ख्वाएरै मोटर साइकल प्रतिबन्ध ठीक हो भन्ने लेख छाप्न पत्रकारहरु किनेर लेख छपाउने छ । कार नहुनेको खिल्ली उड्ने कार्टूनहरु छापिने छ । सामाजिक माहौल नै कारमय बनेपछि अनि के हुन्छ? जसरी पनि कार किन्ने होडबाजी हुन थाल्ने छ ।

त्यसपछि ब्याक टु स्क्वायर वान भने झै कार चलाउने ठाउँको अभाव हुने छ । बाटो साँघुरो भयो, बाटो फराकिलो चाहियो भन्ने जनआवाज हुनेछ । जसरी अहिले पानीको मुद्दा चुनावी मुद्दा बन्छ, त्यसपछि स्मार्ट कार पार्किङ, ट्राफिक जाम आदि कुराहरु चुनावमा भाषण दिने विषय बन्ने छ । बाटो फराकिलो बनाउन बाटो छेउको घर भत्काउनै पर्यो – यसरी जनता आफै आफ्नो घर भत्काउने, आफुलाइ अप्ठेरो परेको घर भत्काउन दबाब दिने, घर भत्काउने मामिलामा एकापसमा तँ तँ म म गरी झगडा गर्ने, सामाजिक एकता खलबल्याउने, सामाजिक अन्तरसंम्बन्ध क्षतबिक्षत पार्ने र समाजलाइ एकता कायम हुन नसक्ने गरी फुटाउने – यस्तो एक बृहत श्रृंखला शुरु हुने अवस्था छ । यो सबैको अन्तिम नतिजा रैथानेहरुको बिस्थापन नै हो ।

आखिर यसरी रैथानेहरुको बिस्थापन र आप्रवासीहरुको केन्द्रीकरण किन भइरहेको छ?

यसको आंशिक र सांकेतिक जानकारी मैले नेपालभाषामा लेखेर केहि पहिले नै दिइसकेको थिएँ । नेपालभाषामा मेरो लेखहरु हेर्ने मित्रहरुलाइ थाहा पक्कै हुनु पर्छ । माथि नै भनिसकिएको छ, कि यी कुराहरु कन्सपिरेसी थ्यौरी जस्ता लाग्छन् तर तथ्यहरुको संगालो जोडजाड पार्दै हेर्दा निष्कर्षमा हो वा होइन भन्ने बुझाइ राख्ने आफैले हो । कसैले हो भन्दैमा हुने, होइन भन्दैमा नहुने होइन । तथ्यले जे बोल्छ त्यहि सत्य हो ।

वास्तवमा भारत अहिले संसारको सर्वाधिक जनघनत्व भएको मुलुक हो। चीन भन्दा ३ गुणा सानो देश भएर पनि चीन भन्दा बढी जनसंख्या भारतमा छ । भारत भित्रका २८ प्रान्तहरु मध्य सर्वाधिक जनघनत्त्व भएको प्रान्तहरु मध्य गनिने पश्चिम बंगाल, बिहार, र उत्तर प्रदेश नेपालको छिमेकी हो । त्यहाँको कूल घरवारबिहिन जनसंख्या मात्र पनि १२ करोड छन रे भनेर नेपालको टिभिमा एकजनाले भनेका थिए । ती प्रान्तहरुमा नेपालभन्दा ६ देखि ८ गुणा बढी जनघनत्त्व छ । आधि नेपाल जत्रो उत्तराखण्डमा मात्रै नेपालकै हाराहारीमा जनघनत्त्व छ । तर आवाद गर्न लायक भुमि उत्तराखण्डमा भन्दा नेपालमा करीब ८ गुणा बढी छ ।

भूटानबाट लखेटिएका खसभाषि भुटानीहरु नेपाल छिरे पछि २०औ वर्षसम्म भुटान फर्किन संघर्ष गरे, तर असफल भए । सबैलाइ थाहा छ, भुटानको शक्तिको कारणले ती भुटानीहरु फर्किन नसकेको होइन । तिनलाइ फर्किन नदिएको भारतले नै हो । भारतको के स्वार्थ छ र फर्किन नदिनु पर्ने? धेरैले यस्तो भन्छन । कतिपयले भन्छन् भूटानको जलस्रोतमा कब्जा गर्न भुटानी शासकलाइ सघाएको हो । तर ती कुराहरु आंशिक सत्य मात्र हो । वास्तवमा यो घटना भारतको निमित्त एक परिक्षण हो । नेपालमा शरणार्थि छिर्यो भने तिनीहरुलाइ फर्काउनको निमित्त नेपाल तथा अरु शक्ति मिलेर कतिको अन्तर्राष्ट्रीय दबाब दिन सक्दो रहेछ भनेर परिक्षण गरेको हो । घटनाक्रमले देखाइ हाल्यो नि, नेपालमा थुप्रिएको शरणार्थीलाइ भारतले बाटो नखोलिदिने हो भने कसैको केहि लाग्दैन रहेछ, ती भुटानीहरु बरु अमेरीका धपाइए, तर भुटान फर्काइएन ।

भारतले अर्को कदम पनि चालीसकेको छ । नेपालको ३ तिर खुल्ला सिमाना छ, तर ती सिमानामा भारतको एकपक्षिय बोर्डर सेक्यूरिटि फोर्स तैनाथ छ, नेपालको पक्षबाट भने लोभि र भ्रष्टहरुको झुण्ड भन्न मिल्ने कर कार्यालय मात्रै छ । सेक्यूरिटिको नामोनिशान केहि छैन भने पनि हुन्छ । नेपालले पनि समानान्तर सैन्य तैनाथ गर्नु पर्ने हो, तर नेपालको सेना नै भारतले पालेको जस्तो देखिन्छ, भारतले फालेको हड्डी चुसेर रमाए जस्तो, उसले दान दिएको राइफल नेपाली सेनाले बोक्छ, उसकैमा तालीम गर्न नेपाली सेनाका हाकिमहरु जान्छन, उसकै दानमा आएको हेलिकप्टर देखि सञ्चार साधन नेपाली सेनाले चलाउँछ, नेपाली सेनाको आन्द्राभुँडि सारा खबर नेपालीलाइ भन्दा पहिला भारतलाइ थाहा हुन्छ, भारतलाइ चाकडी गरेर खुशी बनाएको अफिसर सेनापति प्रमोशन हुन्छ, आफ्नै राजा मारीदा पनि बचाउने जिम्मा मेरो होइन भन्छ नेपाली सेना, यस्तो थेत्तरो पारा भएको हुँदा नेपाली सेना सलामी चढाउने टुकडीको रुपमा मात्रै छ भन्ने आरोप खुल्लेआम लाग्दा पनि चुपचाप बस्छ । यदि भारतसित लफडा पर्यो भने ‘भारतसित लड्ने जिम्मेवारी नेपाली सेनाको होइन, राजनीतिक तहबाट वार्ता गरेर कुरा मिलाउ’ भनेर पन्छिन बेर छैन नेपाली सेना ।

आन्तरीक सुरक्षा यस्तो भ्वाङ परेको अवस्थामा मानिलिउँ कि यदि बिहार, यूपि र पश्चिम बंगालमा एउटा प्रायोजित दंगा भड्कियो, वा कुनै प्राकृतिक अथवा अप्राकृतिक प्रकोप फैलियो र ज्यान बचाउने नाममा भारतको केन्द्र सरकारले भागाभाग गरीरहेका भारतीयहरुलाइ दश-बिस हजारवटा बसमा कोचेर नेपालको पूर्व देखि पश्चिमसम्मको खाली ठाउँमा ल्याएर छोडेर गयो भने के होला? यदि भारतले भन्यो कि, “अहिले दंगा भइरहेको बेला यतै बस्नु ज्यान जोगाउनु, साम्य भएपछि फिर्ता आउनु” – त्यसपछि के होला?

हेर्नुस, यस्तो घटना नहोला भन्न सकिन्न । भारत पाकिस्तान लफडा हुँदा रेलमा राखेर लाखौ लाख हिन्दु र मुसलमानहरु यताको उता, उताको यता सारेको होइन र? त्यस्तो लफडाहरु अधिकांशमा एकपल्ट सारेका मानिसहरु फर्केिन सक्दैनन । भारतमा १० पुस्ता बसेको प्रामाणिक इतिहास भएका परवेज मुसरफ पाकिस्तानको राष्ट्रपति समेत बने । उनका बाउ रेल चढाइ पठाइएका भारतीय नै थिए । ती मुसरफ परिवारका कोहि मान्छे फेरी भारतको दिल्लीस्थीत पुर्खौलि घर फर्केलान त?

यदि नेपालमा त्यसरी भारतीयहरु ‘डम्पिङ’ गरीयो भने, न नेपालले ‘हामीकहाँ नल्याउ’ भनेर रोक्न सक्ने छ, न नेपाली सेनाले तागत देखाउन सक्ने छ, न अन्तर्राष्ट्रीय समुदायले ‘यो त भएन है’ भन्न सक्ने छ । एक पटक नेपाल छिरेपछि भुटानीहरु फर्किन नपाए झै ती भारतीयहरु पनि फर्किन पाउने छैनन । अनि त्यसपछि के त? यो बिषयमा कसैले बिचार गरेको छ? हेर्नुस, मात्र एउटा प्रायोजित दंगा भए पुग्ने हालतमा छ ।

हेर्नुस, यी सबै पक्षहरु हेर्दा अहिले हाँसो उठ्दो नियम जस्तो सुनिने कुरा मोटरसाइकल प्रतिबन्धको कुरा हो । तर सम्बन्ध कहाँ देखि कहाँ सम्म हुन सक्ने अवस्था छ, त्यो जान्दा तपाइलाइ अविश्वसनीय लाग्ने छ । बिश्वास नगरे पनि यदि भारतमा दंगा भड्कियो भने बंगलादेश, पाकिस्तान, चीन अफगानिस्तान होइन, नेपाल र उत्तराखन्ड तिरै सुरक्षित उपाय खोज्दै कुद्नेछन भारतीयहरु । जसको निमित्त काठमाँडौ केन्द्रीत आप्रवासनमार्फत गाऊँका गाऊँ खाली बनाइदैछ ।

यदि यस्तो अवस्था रोक्ने हो भने ‘मोटरसाइकल प्रतिवन्ध फुकुवा गर’ भनेर आन्दोलन गरेर हुने वाला केहि छैन । खुल्ला भारतीय सिमाना नियन्त्रण गर भन्नु पर्छ, काठमाँडौबाट आप्रवासी फिर्ता गर भन्नु पर्छ । रैथानेलाइ बिस्थापन नगर भन्नु पर्छ । स्थानिय प्रशासन स्थानियको हातमा सुम्पिदेउ भन्नु पर्छ ।

यति कुरा बुझिसकेपछि अब तपाइ नेपालको राजनीतितिर फर्केर हेर्नोस । कुन पार्टीको नीति के छ, कुन पार्टीले यो दीर्घकालीन मेगा मेट्रो सिटि बनाउने नीतिमा सघाइरहेको छ, कुन पार्टीले सघाउन चाहेको छैन, कुन पार्टी देशभक्त छ, कुन पार्टीको दाऊ के छ – तपाइले देख्नु हुनेछ, नेपालको पार्टीहरु लगभग सबै जसो नेपालको भलाइको निमित्त समर्पित छैनन । देशमा रैथानेहरुलाइ सशक्तिकरण गर्न र निर्णायक शक्ति रैथानेहरुको हातमा तैनाथ गर्न लागि पर्ने पार्टीहरु कता छन ? त्यसै देशले दुख पाएको होइन नि ।

कुरा बुझौ मुसुमुसु हाँसौ ।

(इसमताबाट साभार)

Facebook Comments

Related posts

Leave a Comment