काङमाङ नरेश राईका ५ युद्ध कविताहरू

१. जसमान राई

पेन्सनविहीन ९७ औं जन्मदिन…

सापेक्ष धर्म

निरपेक्ष अभाव

म्लेच्छसँग उठबस

किट ब्यागमा दाग होला जसमान राईको

 

देशका शासकहरूको हुकुम

पक्लिहवाको पानी पतिया, मोहोर र सुुकी

जातीय रीतितिथि किल्चेर

चोखाइनुको लाहुरे

पण्डितले शुद्ध पारिने बहादुरी तक्माहरू…

 

चोखिए कि चोखिएनन्

रसियन गनका धातुहरू

भिक्टोरिया क्रसहरू

आई.ओ.एम

सरदार बहादुर र बहादुर तक्माहरू ?

काबुल

ईस्ट टिमोर

फक्ल्याण्ड

क्रिमियन र दोस्रो महायुद्धका कथाहरू

चोखिए कि चोखिएनन् ?

 

जसमान राई—

गोलीको दाग सुम्सुमाउँछन्

बर्माका नदीहरू दिनहुँ बगिरहन्छन्

कावावेली, मनिपुर, लुसा हिल

सबैसबै

उही ठाउँ बसिरहन्छन्…

 

पेन्सनविहीन ९७ औं जन्मदिन

धरानमा चर्को घाम छ

छन् निमन्त्रणा गरिएका उनका छोरा र नाति पुस्ताहरू

सम्झन्छन् केही नम्बरीहरू—

नरध्वज राई

अक्कलबहादुर राई

र बमबहादुर राई

 

अहो !

खोइ मसँगै युद्धमा निस्केका साथीहरू

एकछिन शून्यबोध हुन्छ

बर्मामै छुटेका थिए उनीहरू

एकफेर सम्झना हुन्छ–

अहो ! ७० वर्ष पो भइसकेछ …

 

मौन अनुहार

चाउरिएको निधारमा—

बाइनेटले रोपेको दाग

बमले लागेको खुट्टा

हातमा गोलीको खत

यी त मेरा युद्धका चिनारी हुन्

त्यो महायुद्धका सम्झनाहरू पो हुन्

 

जब—

बज्न थाल्छ जन्मदिनको धून

मौन उभिन्छन्

उस्तै लाग्छ

पेन्सनविहीन ९८ औं जन्मदिनको सङ्गीत

र मेसिन गनको आवाज…

द्रष्टव्यः

१. जसमान राई :  दोस्रो विश्व युद्धमा ४ वर्ष निरन्तर लडाइँ लड्दा  तिन पटक घाइते भए । २ दिन २ रात सम्पर्कविहीन भए पनि बाँच्न सफल भए । उनी हवल्दारमा नेपाल फर्किए । उनको मेडिकल पेन्सन पनि छैन । च्यारिटी पाउँछन् । उनी ९८ वसन्तमा पाइला टेक्दै छन् ।

२. म्लेच्छः अन्य धर्मावलम्बीसँग उठबस भएको होला भनी, पानी–पतियाले लाहुरेहरूलाई नेपाल फर्केको समयमा पण्डितले पक्लिहवामा करिब एक हप्तासम्म चोखाउँथे । लाहुरेहरूले मोहोर सुकी पण्डितलाई दिएर चोखिनु पथ्र्यो ।

३. खुदादात खान ः भि.सी. पाउने पहिलो भारतीय सिपाहीँ ।

४. कुलवीर थापाः भि.सी. पाउने पहिलो नेपाली सिपाहीँ ।

५. फाक्युसाटः फ्रान्सको एक स्थान

 

२. अभागी यात्रा

ऊ—

थुम

गढी

पुर

र किल्ला छोडी

मायाको लुकुनी ओढी

काँधमा थोत्रो झोलो बोकेर

झिसमिस नहँुदै

अगुल्टो हल्लाउँदै

सिमसिम पानी ओढ्दै

लालकिल्ला हिँडेको हो

 

विरक्तिएको स्वर निकालिरहे गाउँका कुकुरहरूले

रुँदै विदा गर्न पाएनन् छिमेकीहरूले

डोलिएर आएको युद्घको धावा

पड्किरहेको बन्दुक उसले सम्झियो

 

कहाँसम्म पुग्ने हो सिपाहीँको जिन्दगी ?

कसलाई कहाँ अभरमा पार्ने हो युद्घले ?

 

घरको याद आँखैमा बोकी

चिसो मौसममा

क्याम्प छोडी युद्धमा हिँडेको थियो

कतै घाइते पो भयो कि ?

कतै वीरगति पो पायो कि ?

२०० वर्ष भयो

कुनै खुटखबर केही छैन

 

उसको छाँया तस्विर आँखामा

एकनासले सधैँ खेलिरहन्छ

उसको याद र सम्झना

उसैगरी दोहोरिँदै आइरहन्छ

 

उसको लागि एक गज कात्रो

एक मुठी माटो

किन र कसरी

यो देशले दिन सकेन ?

२०११ अगष्ट ११

 

३. आदिवासी लाहुरे

युद्ध मोर्चामा

उभिएका अदृश्य बाटाहरू—

जित्नु÷हार्नु

मार्नु÷मारिनु

साहस÷निपुणता

युद्ध–कौशल

जवानीको रहर

 

मृत्युको लास पिठयुँमा

भीषण युद्ध नयाँ भूगोलमा

एक मुठी माटो टेक्दै

प्रत्येक युद्ध मोर्चाहरूमा

अनिवार्य नयाँ इतिहास जन्मायो

 

जहाँ जहाँ पुगे

त्यहाँ त्यहाँ

लेखियो इतिहास वीरताको

लेखिएन समानताको

पहिलेदेखि अहिलेसम्म

उहिल्यैबाट यो सालसम्म

 

कहालीलाग्दो

भयङ्कर डरलाग्दो

मौखिक कथा जन्माउँथ्यो

२१२९ राइफलमेन गोलीहरूमा

उसैगरी मेसिनगनका आवाजहरूमा—

२११७०४०४ अन्यायको विरुद्ध आवाज जन्माउँछ

जन्माइरहन्छ

ठ्याक ठ्याक

कम्प्युटरको किबोर्डमा

ख्यासेक ख्यासेक

वास्तविक कहानीहरू पुस्तकमा

सन १८१५ देखि अहिलेसम्म

खोजिरहन्छ वास्तविक पात्रहरू

पढ्छ पुर्खाका कथाहरू

जोसँग वीरताको दाग छ

जोसँग प्रमाणित मेडल छ

जोसँग भेदभावको पीडा छ

उसको नाम हो आदिवासी लाहुरे ।

सन् २०१०,  टुकर लाइन सेरिया, ब्रुनाई

 

४. थलिएको गोर्खाली इतिहास

फाक्सुसार्ट र निगालापानी गाउँ

कुलवीर थापा मगर

फोक्सिङ अल केफर र कर्ण बहादुर

रस ईज जोई ट्युनिसिया,

अर्जिया सुम्सा र लाल बहादुर भिसीको तीतो कथा

वारपाक गजे घले र चीन हिल्स बर्मा फ्रन्टको अनुहार

घाइते गन्जु लामा

मायाको साङमो सिक्किम

निङथोङखोङ गाउँ

राणाको हुकुमी उर्दी

गल्लावालको साथ लाहोरको यात्रा

मोगाङ रेलको लिकमा

तुलबहादुर पुनले गरिबी बिछ्याउँदै लडेको युद्ध…

 

भिसी अगमसिं राईको

ओखलढुङ्गा ठूलो छ कि

कवि सिद्धिचरण श्रेष्ठको

ओखलढुङ्गा ठूलो छ ?

वीरताले भन्छ कि कविताले भन्छ ?

 

भिसी भानुभक्त र फाल्पु गाउँ गोर्खा

स्नोडेन पूर्व बर्माको एउटै माया होइनन्

भिसी लछुमन गुरुङ र दाहखानी चितवन

इरावती किनारमा बाँचेका बहादुरी एउटै होइन

 

रम्घा गाउँ तनहुँ

भानुभक्त आचार्य र कुवाको कथा

पाठ्यक्रममा घोकीघोकी पढ्यौं

नेत्रबहादुर थापा मगर र भिसी पदक

पुस्तकको पाठ्यक्रममा आउँदै आएन

उनको सौर्य, वीरता

बिशेनपुर पहाडै पहाड बर्माले झस्काइ दिन्छ

सम्झाइ दिन्छ

घामपानीमा उनको कथा

नेपालतिर हराइ सक्छ

तर विन्चेस्टर मिउजीयमा सुँक्सुकाउँदै बोलिरहेजस्तो

भिसीहरूका अस्पष्ट आवाजहरू …

 

सान मारिनो इटालीमा सम्भोग गरेका छन्

भिसी शेरबहादुरको रगत, पसिना

घलेछाप गाउँ मानेर

सिङला गोर्खा थमन गुरुङको मायालु गाउँ

अनुहारमा वीरता छापिएका छन् वा छैनन्

मोण्टेशान वार्तालोको लडाइँमा

हुर्केका छन् वा छैनन्

परिकल्पना गरिएको उनका फोटाहरू ?

 

सारावाक बोर्नियोको गर्मीमा

रामबहादुर लिम्बू

च्याङथापु पाँचथर सम्झी

हाँस्दै लडेनन् होला

मृत्यु सम्झी रुँदै लडेनन् होला…

 

अब त सोध्नै पर्छ—

भिसी पाएका र युद्ध जितेका गोर्खाली साथीहरू

हामी केका लागि लड्यौं ?

हामी कस्का लागि लड्यौं

हामीलाई कस्ले लड्न पठाए युद्धमा ?

दष्ट्रब्य ः

१. कुलबीर थापाः भि.सी. पाउने पहिलो नेपाली सिपाहीँ

२. फाक्युसार्टः फ्रान्सको एक स्थान

३. अल केपरः  प्यालेस्टाईनको एक स्थान

४. रस.ईज.जोईः ट्युनिसियाको एक स्थान

५. चिनहिल्स्, भोगाङ, विशेनपुर, स्नोडेन, टाङडाः बर्मामा पर्ने विभिन्न स्थानहरू

६. निङथोङखोङः बर्माकै दक्षिणी भेगमा पर्ने एक गाउँ

७. सानमारिना र मोण्टेशान वार्तोलोः इटालीमा पर्ने स्थानहरू

८. शारावाकः बोर्नियोको जङ्गल

                      ७ मार्च २००८, मेडिकल वार्ड सर जोन मोर ब्यारेक, बेलायत

५. सुन्दर बन्दुक

सम्भोग, विछोड र वेदना छातीमा टाँसेर

प्रेमिका सम्झिरहने जवान सिपाहीँँ

युद्धमा उभिएको श्रीमान

उनको छायाँ तस्वीर सम्झेर

रोइरहेको हुनुपर्छ जोभान

 

प्रेम, बैंश र विछोड

युद्धका घट्नाहरू सम्झिँदा

यस्तो लागिरहेछ—

विश्व सुन्दरीभन्दा धेरै सुन्दर छन् बन्दुकहरू

तर धेरै कुरुप छन् युद्घहरू   ।

   २४ फेब्रवरी २०११

(अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक २, २०७३ मा प्रकाशित)

Facebook Comments

Related posts

Leave a Comment