कविता / लु त जवाफ देउ

लु त जवाफ देउ…

-बी .पी. बजगाईँ

ए राज्य सत्ता!
मलाई थाहा छ, तिमी हाम्रो मृत्युको
उत्सव मनाउने तयारीमा लागेको छौ,
यहाँ भेला भएर हामी तिमीलाई
नयाँ आकार दिने तयारीमा लागेका छौं|

हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले
तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ गाड्यौ,
आज त्यहीं उभिएर म तिमीलाई प्रश्न गर्दैछु ए सत्ता!
सक्छौ भने जवाब देउ….
१८१७ मा कम्पनीले सिक्किमसँग गरेको तितालिया सन्धिमा
तिम्रो मान्छेको उपस्थिति देखाउ…
तितालिया सन्धि नै हाम्रो
उपस्थितिको लालमोहर हो|

१८६१ मा एस्ले एडनले सिक्किमसँग गरेको
तुम्लुङ सन्धिमा तिम्रो मान्छेको उपस्थिति देखाउ…
तुम्लुङको सन्धि नै दार्जिलिङको विकासको भरयांग थियो…

१८६५ मा जोन लरेन्सले भुटानसँग गरेको
सिन्चुला सन्धिमा तिम्रो मान्छेको उपस्थिति देखाउ…
सिन्चुला सन्धि नै हाम्रो किपटको अमेट कथा हो|

बंग भंग होबेना भन्दै तिमी,
सत्यको कुन त्यान्द्रो समातेर बोल्दैछौ?
बङ्गोप सागरको किनारामा उभिएर
हाम्रो हिमालको कथा लेख्दैछौ?
कथा नै लेख्ने भए हामीले जस्तो
सालनाल यहि माटोमा गाडेर लेख
जसरी आज हामी गोर्खेथुममा उभिएर
जन्मँदा गाडेको साथी खन्दैछौं|

हो, हामीले आज यहाँ भेला भएर,
जन्मँदा गाडेको हाम्रो साथी खन्दैछौं|
(दुख्दैछ भीडमा कसैलाई मेरो कुराले?)
पुनः भन्छु, हामीले आज यहाँ भेला भएर,
जन्मँदा गाडेको हाम्रो साथी खन्दैछौं|
किनभने, त्यसको डीएनए रिपोर्ट
तिमीसँग मिल्दैन भनेर देखाउनु छ,
किनभने, यहाँको माटोले …
तिमीलाई चिन्दैन भनेर बताउनु छ|

नेताजी हवाई दुर्घटनामा मरेका थिए भन्दा
तिमीलाई दुखेको मैले पढें,
उनको पुण्यतिथिमा ….
केन्द्रिय मन्त्रीको हार्दिक श्रद्धान्जलीले
तिमीलाई भतभती पोलेको पनि मैले देखेँ|
तिमी आरटीआई गरेर उनको मृत्यु पछिको
सत्य जान्न चाहन्छौ हैन…
ए सत्ता, उनको मृत्यु अधिको सत्य के हो
भन्ने कुरा थाहा छ तिमीलाई?

ए सत्ता! नेताजी जान्नु छ भने
बीर खडगबहादुरसिंह पड्नुपर्छ तिमीले
आईएनएको कथामा गर्व गर्नुअघि
गोर्खाली मुटु छाम्नुपर्छ तिमीले
उपनिवेशवादको जरा उखेल्ने
नेताजीकै संकल्प पनि पड्नुपर्छ तिमीले…

तर मलाई शंका लाग्छ,
तिमीले नेताजी चिनेको छौ के?
चिनेको भए तिमी आज,
नेताजीले घृणा गरेको उपनिवेशवाद
काखमा बोकेर किन हिंडथ्यौ?
नव उपनिवेशको फर्मुला बोकेर
सेनाको बन्दुक हामीतिर किन तेर्साउँथ्यौ?

धेरै टाडा जानु पर्दैन ए सत्ता…,
तिमी १९३५ को टाइम फ्रेममा उभिएर आफैलाई हेर
दार्जीलिड र डुवर्ससँग तिम्रो ऐतिहासिक सम्बन्ध खोजेर हेर
तिमी हाम्रो पाहुना हौ, पाहुना भएर बस
हाम्रै घरमा आएर सत्ताको बुर्कुशी नखेल|
१८९१ को जनगणनामा तिमी छैनौ
१९०७ को ओ’माले गजेटियर्समा तिमी छैनौ
१९६५ का काँडे तारले दिएका घाउहरू बोकेर
तिमि यहाँ हाम्रो परिचय सोध्न आउँछौ?
लेप्चा, भोटिया, कोचेलाई
गोर्खा, राजवंशी, मेचेलाई
जबर्जस्ती सिमान्तकृत गरेर
तिम्रो भोट ब्यांक खोल्न चाहन्छौ?

हाम्रो पुर्खाले रोपेको चियाबारीसँग
लोभिन्छौँ होइन………?
हाम्रो हरियो जङ्गल,
खोला-नाला देखेर राल काड़छौ होइन?
तिम्रो बाँझो अब तिमी आफै जोत,
हाम्रो गोरूले तिम्रो खेत जोत्दैन
तिमी तिम्रै कुखुरा पाल,
हाम्रो कुखुराले अब तिमीलाई सुनको अण्डा दिंदैन|

हामी राष्ट्रवाद माग्दैछौँ,
तिमी हामीलाई उपनिवेश दिन्छौं
गाउँखाने कथा त बुझेको छैनौ,
तिमी हाम्रो भूगोल खान खोज्छौ?
जिउँदो जातिको जिउँदो भाषा,
तिम्रो बिरामी सोचले मार्न खोज्छौ?

तिम्रो सरकारमा हामीलाई
नेपाली भाषामा पड्नु नेपाल जा भन्दैछ
“एइपारेउ बाङ्गला, ओइपारेउ बाङ्गला”,
बङ्गला बोल्न हामीलाई पनि आउँछ
काँडे तार छिर्दाको चिरिएको दाग मेटिएकै छैन,
सुकेको हाँगामा बसेर उँभौली खोज्ने काग कराउँछ|

आऊ सत्ता तिमी हामीसँग तर्क गर्न,
स्वार्थमा लेखेको नयाँ इतिहास बोकेर
हाम्रा मसानघाटका भूतहरू तर्कमा उभिनेछन्,
हामी हाम्रो पुर्खाको चिहान खनेर राखिदिनेछौँ,
लाशमा दागबत्ती दिँदा त
चितामा खुकुरी उल्टा राखेर
दागबत्ती दिने जाति हौँ हामी भने
सेतो बनसाङले उभिएर तिमी
नाङ्लो ठटाएर हात्ती तर्साउँछौ?

तिमी हाम्रो मृत्यु उत्सवको तयारी गर्दै गर
हामी तिम्रो भूगोल कोर्दै हुन्छौं,
हामी तिम्रो भूगोल कोर्दै हुन्छौं|
– बी० पी० बजगाई

Facebook Comments

Related posts

Leave a Comment