रङ्गभेद र दासताको मर्मभेदी उपन्यास -“बिलोभेड “

रङ्गभेद र दासताको मर्मभेदी उपन्यास -” बिलोभेड ”

-होमर श्रेस्ठ

(टोनि मरिसन , उपन्यासकार स्वयं नारी हुन् उनि अमेरिकी उपन्यासकार, सम्पादिका, शिक्षिका र प्रिन्सेटन युनिभर्सिटिकी निवृत्त प्राध्यापक हुन्। (T. Morrison is an American novelist, editor, teacher, and Professor Emeritus at Princeton University.) र उपन्यासको प्रमुख चरित्रपात्र पनि नारी नै छ!

केही अध्ययनशील फेसबुक-मित्रले टोनी मरिसनकृत ‘बिलोभेड’को कथावस्तुको निष्कर्ष स्येर गर्न (सुटुक्क) अनुरोध गर्नुभएकोले पोष्ट गरेको हुँ। आशा छ—यस उपन्यासको विषयवस्तु मन पराउने मित्रहरूले यो कृति आद्योपान्त आफै पढेर पूर्ण रसस्वादन गर्नुहुनेछ! यो अत्यन्त पोसिलो कृतिहरूमध्ये एक हो भन्ने कुरो सर्व-विदित छ। )

बिलोभेडः सार
उपन्यासको विशेष पात्र सेथ नामकी हब्सिनी छे जो भागेर ओहियो (Ohio) पुग्नुअघि स्वीट-होम (फार्म हाउस)मा दासीको रुपमा काम गरेर थुप्रै वर्ष बिताएकी हुन्छे। त्यहाँ अकल्पनीय, डरलाग्दा, कहालीलाग्दा घटनाहरू घटेका हुन्छन्। ओहियो पुगेपछि उसको जीवन थोरै आशाजनक बन्छ, तर अठार वर्ष बितिसक्दा पनि दासताको सांग्लो चुडाउन सकेकी हुँदिन। त्यहाँ उसलाई विगतका भयावह स्मृतिहरूमात्र छल्न आइरहेका हुँदैनन्, बरू उसकी दिवंगत छोरीको भूत समेत बारंबार तर्साउन आइरहेको हुन्छ— त्यो फुच्ची छोरी जसको नाम पनि राखिएको हुँदैन। उसको चिहाने-ढुँगोमा फगत Beloved कुँदिएको हुन्छ।

उपन्यासकार मोरिसनले मानवतावादी उच्च विचार दृढतापूर्वक प्रकट गरेकी छिन्—

त्यो अनाम छोरीलाई सेथ आफैँले हत्या गरेकी हुन्छे—किनभने ऊ छोरीलाई असाध्यै प्रेम गर्थी; आफ्नी छोरीलाई पहिलेकै दास-मालिककहाँ किमार्थ फिर्ता पठाउन चाहँदैनथी, प्रिय छोरी आफूजस्तै दास बनेको हेर्न चाहँदैनथी…! “Love is or it ain’t. Thin love ain’t love at all.” (प्रेम या त गाढा हुन्छ, अथवा हुँदै हुँदैन, पन्यालो प्रेम, प्रेम होइन।)

उपन्यासभित्र आङ जिरिङ्ग पार्ने दृश्यहरू थुप्रै छन्। अमेरिकी प्लान्टेशनमा काम गरेकी सेथकी आमालाई गोराहरूले पटकपटक बलात्कार गरेका हुन्छन्। सेथ हब्सीपट्टिकी छोरी भएकी कारण आमाले उसलाई बचाएर राखेकी हुन्छे। बलात्कारीपट्टिका सबै छोराछोरीलाई उस (सेथकी आमा) ले हत्या गरेकी हुन्छे। बलात्कार र अत्याचारको विरोध गरेकै कारण मालिकको निर्देशनमा उसलाई झुन्ड्याएर मारिएको हुन्छ (हल्ला भएझैँ दास ओसार्ने जहाजभित्र मेरेकी हुँदिन)! सेथ लगभग तेह्र वर्षकी छँदा स्वीट होममा बेचिएकी हुन्छे।

सूक्ष्म समीक्षाः
टोनी मरिसनले Beloved उपन्यास साठी मिलियन काला जातिलाई समर्पित गरेकी छन्—जुन संख्या ‘अटल्यान्टिक-स्लेभ-ट्रेड’को सिलसिलामा मरेका दासहरूको आँकडासँग मिल्दोजुल्दो छ! अमेरिकी इतिहासको यो भयावह बर्बरताबाट प्रताडित प्रत्येक औपन्यासिक पात्र सधैँ भयभित र आतंकित भइरहेका हुन्छन्।

उपन्यासकारद्वार पुस्तक समर्पित संख्यालाई कतिपय अन्तर्राष्ट्रिय घागडान प्रोफेसरहरूले हिटलरद्वारा होलोकस्टमा मारिएका यहुदीतर्फ संकेत गरेको ठान्दछन्। नाजीको होलोकस्टमा जम्माजम्मी साठी लाख यहुदी मारिएका थिए, जब कि अटलान्टिक-स्लेभ-ट्रेडमा ६ करोड काला!

मञ्जुलको उपहारः बिलोभेड
आजभन्दा दशकअघि मञ्जुल दाइलाई मैले यो उपन्यासको उपसंहार सुनाएको थिए। त्यतिखेर उनको चेहरा एकाएक संवेदनाले रात्तिएको थियो। उनी धेरै बोलेनन्, गम्भीर मुद्रामा थिए, निर्निमेष कुनै बिन्दूमा टोलाइरहेका थिए। मैले मनमनै गुनेको थिएँ—सच्चा कवि-हृदय कतिविधि संवेदनशील हुँदारहेछन्।

मञ्जुल दाइ उदार-चेता व्यक्ति हुन्। तिनताक मञ्जुल दाइ र मेरो भेटघाट बाक्लो थियो। हामी कहिले कता, कहिले कता भेट गर्थ्यौँ र चित्त माझेर विचारविमर्श गर्थ्यौँ। एकचोटि मञ्जुल दाइको इच्छामुताविक हामी पुलचोक-हाइटको चैत्यबिहारमा उक्ल्यौँ र घन्टौँ विचारविमर्श ग-यौँ— कविता र गीतबारे अनि नितान्त व्यक्तिगत जीवनबारे। मञ्जुल दाइको अन्तरात्माको कुरो सुनेपछि मैले महसुस गरेँ— बाहिरबाट देखिने जीवन र यथार्थ जीवन कतिविधि फरक हुँदो रहेछ…!
अर्कोपटक मञ्जुल दाइ र म विश्वभाषा क्याम्पसमा भेट ग-यौँ। मञ्जुल दाइको क्लास सकिएको थियो। वसन्तऋतु— अपराह्न टन्टलापुर घाम लागिरहेको थियो… हामी भृकुटीमण्डपको सियाँलमा बस्न पुग्यौँ। मञ्जुल दाइलाई फलफूल निकै मन पर्छ। हामीले रसिला-पोसिला मेवा, केरा, काँक्रो र खर्बुजाको मिश्रण प्लेटभरि किनेर खायौं। केही बेर गफिएपछि हामी कान्तिपथतर्फ हानियौँ। जमलको ‘मण्डला पुस्तक-पसल’मा पस्यौँ। नयाँ कृतिहरूमा आँखा लगायौँ। एकदुई वटा नविन कृति किन्यौँ। त्यसपछि, ‘एजुकेशनल बुक हाउस’तर्फ (पारिपट्टि) लाग्यौँ।
सडकपेटीमा निस्केपछि म चाहन्थेँ—बायाँपट्टिको आकाशेपुल भएर पारि जाऊँ। मञ्जुल दाइ मेरो पाखुरा समातेर सिधै व्यस्त सडक पार गर्न अग्रसर भए। उनले हाँस्दै भनेः “सीसीटीभीमा कुनै परिचित पुलिस अफसरले हेरिरहेका छन् भने पनि के फरक पर्ला र—हद्द भन्लान्—’किन आज मञ्जुल र होमर गलत मार्ग हिँडिरहेका छन्! हाहाहा…’
हामीले ठट्टा गर्दै होसियारीपूर्वक/ मूर्खतापूर्वक सडक पार ग-यौँ… एजुकेशनल बुक हाउसमा पस्यौँ। पसलमा ग्राहक पातला थिए। म एउटा खास पुस्तक खोज्दै थिएँ, मञ्जुल दाइले आवश्यक पुस्तक खरिद गरेर झोलामा हालिसकेछन्। हामी पसलबाट बाहिर निस्क्यौँ। बिदा हुने बेला मञ्जुल दाइले सर्प्राइज गराउँदै झोलाबाट BELOVED झिकेर मलाई उपहार दिए। उपहारमा दुई शब्द लेखिसकेका रहेछन्—”भाइ होमर श्रेष्ठलाई सप्रेम—मञ्जुल…(८ फेब्रुअरी २००८)”
म छक्क परेँ! पुस्तक लिएँ, तर ‘धन्यवाद’ भन्न भुलेँ!

अबरुद्ध अनुवादः
Beloved पढिसकेको थिएँ तर मञ्जुलदाइले पुस्तक-उपहार दिनुभएपछि ममा नयाँ जोस र उमंग पैदा भयो। रंगभेद र दासताको मर्मभेदी उपन्यासको आधाजति पुस्तक मैले ६ महिनाभित्र अंग्रेजीबाट नेपालीमा खेस्रा अनुवाद गरें। अनायास यात्रामा नयाँ मोड आयो, थकाइ र निराशा छायो। अनुवाद-कार्य अबरुद्ध भयो। हाम्रा प्राध्यापक, बुद्धिजीवी, पत्रकार, प्रकाशक, शिक्षक, बिद्यार्थी र पाठकहरूलाई यस्तो कृति अनुवाद भएको आजकाल मन नपर्ने कुरो प्रकाशकमार्फत सुनेँ! उनीहरूलाई मन नपरेका कृति प्रकाशन गर्न असम्भव नभए पनि बजारमा बिक्तैनन् भन्ने कुरो सोह्रै आना सत्य हो। पैसामा नबिक्ने कृति र मानिस बेकार र अनुपयोगी बन्छन्। विश्वसाहित्यको अग्रभागमा सूचिकृत तीन वटा उत्कृष्ट कृतिको नेपाली अनुवादको पाण्डुलिपि मेरो स्यानो अँध्यारो दराजमा हावा र धूलो खाएर बसेको धेरै वर्ष भयो! लेखन्तेको मन मरेपछि ब्रेनका कोशिकाहरू पनि मर्दा रहेछन् क्यार… जीवनमृत भइँदो रहेछ!
हाम्रा आम पाठकको चेतनाको स्तर अझै पनि उस्तै छ—विज्ञापनको बजारमा चर्चापरिचर्चा भएका कृतिहरूमात्र पढिन्छन्। दुईसय क्वीजलिङहरूले जुन साहित्यिक कृति प्रेस्क्राइब गर्छन् (अपवादबाहेक) २५००० पठित बुद्धिजीवी त्यहीमात्र पढेर तुष्ट, सन्तुष्ट हुन्छन्! तिनै पच्चीस हजार कथित बुद्धिजीवी पौने तीन करोड नेपालीको बुद्धिविधाता बनिरहेका छन् जस्तो लाग्छ! तिनै दुई सय विदूषकहरू जो प्रज्ञालाई अँध्यारो तिजोरीभित्र बन्द गर्न चाहन्छन्, प्राज्ञ बनेका/बनाइएका अवस्था हो यो!!! ✍️👣

*(बिलोभेड यथार्थवादी पौष्टिक आहार हो—सन् १९८८ को पुलित्चर पुरस्कार प्राप्त गरेको छ र साहित्यको निम्ति नोवेल पुरस्कार (१९९३) हासिल गर्न यसले प्रमुख भूमिका खेलेको अन्तर्राष्ट्रिय साहित्यिक संस्थाहरूको टिप्पणी छ।)

Facebook Comments

Related posts

Leave a Comment