बल्ल पारित भयो शिक्षा नियमावली

काठमाडौं , १९,जेठ ।
शिक्षा ऐन आठौँ संशोधन पारित भएको एघार महिनपछि आज बल्ल शिक्षा नियमावली पारित भएकोछ । निक्कै लामो समयपछी पछि शिक्षा नियमावली मन्त्रिपरिषदबाट बल्ल आज पारित भएको हो ।
सिकाइ अनलाइन (Sikaai online ) लेख्छ -” आफ्नो कार्यकालको अन्तिम क्षणमा मात्र आएर शिक्षामन्त्री धनीराम पौडेल शिक्षा नियमावली पारित गराउन सफल भएका छन् । शिक्षाको सुधारका निम्ति नेतृत्व दिनुपर्ने कामबाट बिमुख भएर निहीत स्वार्थपूर्तिमा मात्र ध्यान केन्द्रित गरेको भनी चौतर्फी आलोचना खेपेका मन्त्री पौडेललाई नयाँ सरकार गठनको आफ्नो कार्यकालको अन्तिम समयमा आएर मन्त्रिपरिषद्मा लामो समय देखि थाती रहेको शिक्षा नियमावली पारित गराउने सफलता मिलेको छ । र, नियमावली पारित भएसँगै जे जस्ता कमीकमजोरी भए पनि शिक्षा ऐनको आठौं संशोधनको कार्यान्वयनको बाटो खुलेको छ ।

शिक्षामन्त्री पौडेलले सिकाइ अनलाइनलाई फोनमा दिएको जानकारी अनुसार, आज बिहान बसेको मन्त्रिपरिषद्को विधेयक समितिले शिक्षा नियमावलीलाई परिमार्जन सहित पारित गरेको हो । विधेयक समितिको संयोजक कानूनमन्त्री हुने प्रावधान छ ।“कानूनमन्त्री सहित १०,११ जना मन्त्रीजीहरु र केही सचिवहरु संलग्न बैठकले हामीले शिक्षा मन्त्रालयको तर्फबाट प्रस्तुत गरेको नयाँ शिक्षा नियमावलीलाई परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ।” मन्त्री पौडेलले शुक्रवार अपराह्न २.३० बजे सिकाइ अनलाइनसित कुरा गर्दै भने, “केही ढिलो गरेर भए पनि नियमावली पारित भएको छ । अब शिक्षा ऐन पूरा कायान्वयनमा जाने बाटो खुलेको छ।”

परिमार्जित शिक्षा नियमावलीलाई कहिलेसम्म राजपत्रमा आउला त भन्ने जिज्ञासामा मन्त्री पौडेलले नियमावलीका भाषा लगायतका प्राविधिक पक्षहरुमा मन्त्रिपरिषद् सचिवालय र कानून मन्त्रालयले काम गरेपछि केही दिनमा सार्वजनिक हुने विश्वास ब्यक्त गरे ।

स्मरण रहोस्, अर्थ र कानून मन्त्रालयको पृष्ठपोषण पछि आफूले तयार पारेको शिक्षा नियमावलीलाई शिक्षा मन्त्रालयले केही महिना अघि स्वीकृतिकालागि मन्त्रिपरिषद्मा पेश गरेको थियो । मुख्य सचिव डा सोमलाल सुवेदीले शिक्षा मन्त्रालयले प्रस्तुत गरेको नियमावलीको मस्यौदा संविधानको मर्म र भावनासित बाझिएको भन्दै उचित परिमार्जन बिना पारित गर्न नहुने अडान लिए पछि मन्त्रिपरिषद्को बैठकले परिमार्जन सहित पारित गर्ने अधिकार मन्त्रिपरिषद् अन्तरगतको विधेयक समितिलाई दिएको थियो । र, यही विषयलाई लिएर मुख्य सचिव सुवेदी र शिक्षामन्त्री पौडेल बीचको विवाद पनि सार्वजनिक भएका थिए ।
एमाले माओवादी गठबन्धन सरकारकाे पालमा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा २०७३ साल असार संसदबाट शिक्षा ऐनकाे अाठौं स‌ंशोधन पारित भएको थियो भने लगत्तै माओवादी-काँग्रेस गठबन्धन भई पुष्षकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेसँगै शिक्षामन्त्रीको जिम्मेवारी पाउने बित्तिक्कै पौडेलले २०७३ कात्तिक भित्रै शिक्षा नियमावली ल्याउने सार्वजनिक वाचा गरेका थिए।

गोल्डेन ह्याण्डसेक र खुलाको बाटो खुल्यो

नियमावली पारित भएसँगै सुविधा लिएर अवकाशको बाटो –गोल्डेन ह्याण्डसेक) रोज्ने अस्थायी शिक्षकहरुको निम्ति औपचारिक बाटो खुलेको छ । जेठ १५ गते आएको बजेट बक्तव्यमा गोल्डेन ह्याण्डसेकमा शिक्षकहरुको निम्ति बजेट बिनियोजन नहुँदा र शिक्षा नियमावली पारित नहुँदा अवकाशको फारम भरिसकेका अस्थायी शिक्षकहरुको भविष्य के हुने भन्ने अन्यौल छाएको थियो । नियमावली पारित भएसँगै अन्यौलको त्यो तुवाँलो फाटेको छ । र, अब अर्थ मन्त्रालयले बजेट छैन भन्ने बहानीबाजी गर्न नपाउने भएको छ ।

“अब अड्किएर बसेको गोल्डेन ह्याण्डसेकले पनि निकास पायो । फारम भर्ने शिक्षकहरुले अव पैसा सहित अवकाश पाउँछन्।” मन्त्री पौडेलले खुशी ब्यक्त गर्दै सिकाइ अनलाइनसित भने, “ निमावली पारित नहुँदा अस्थायी शिक्षकले ओगटेको ५१ प्रतिशत दरबन्दीमा समेत खुला प्रतिस्पर्धाको बाटो बन्द भएको थियो । अब त्यो पनि खुल्यो ।” उनले शिक्षक सेवा आयोगबाट खुला प्रतिस्पर्धाको विज्ञापन पनि छिट्टै खुल्ने आशा गरे ।

नियमावली पारित भएसँगै एक वर्षे पूर्व प्राथमिक शिक्षा पनि विद्यालयको संरचनामा व्यवहारमै जोडिन आइपुगेको छ भने ११,१२ माध्यमिक तहमा एकीकृत हुनपुगेको छ। त्यस्तै, प्रधानाध्यापकलाई विद्यालयको नेतृत्व स्वीकार गरी सो पदलाई छुट्टै दरबन्दी सृजना गर्ने शिक्षा आठौं संशोधनको प्रावधान पनि कार्यान्वयनमा आएको छ । हिजोसम्म प्रधानाध्यापक र शिक्षकको पद एउटै थियो भने अब आजदेखि यी दुइ पद भिन्नाभिन्नै हुन गएको छ ।”

Facebook Comments

Related posts

Leave a Comment