मत्स्येन्द्रनाथको जात्रा सम्पन्न

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको जात्रा आज ललितपुरको जावलाखेलमा  सम्पन्न भएको छ । भोटो देखाउने प्रचलन रहेकोले यो जात्रालाई भोटोजात्रा पनि भनिन्छ । आज भोटो देखाएसंगै उपत्यकाकै सवैभन्दा लामो जात्राका रुपमा परिचित मत्स्येन्द्रनाथको जात्रा सकिएको छ ।

जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख विद्या देवी भण्डारी तथा उच्च पदस्थ सरकारी अधिकारीहरु ललितपुरको जावलाखेल पुगेका थिए ।लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि  राजा (राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ ।  भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ । नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो ।

जात्राकै लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको थियो । रथ जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको जिम्मामा रहेको लोककथनमा आधारित बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाईएको हो । जावलाखेलमा भोटो देखाइसकेपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ ।

Facebook Comments

Related posts

Leave a Comment