एमाले पूर्वसांसद र केन्द्रीय सदस्य फोरम नेपालमा प्रवेश

वीरगन्ज, ८ जेठ । नेकपा एमालेका पूर्व सभाषद् प्रद्युमन चौहान र केन्द्रीय सदस्य प्रहलाद गिरीले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्। एमालेका केन्द्रिय सदस्य गिरी र पूर्वसभासद समेत रहेका एमाले पर्साको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति चौहानले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

पर्सामा एमालेका दुइ चर्चित नेताहरुले वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपालमा प्रवेश गरेको प्रेस विज्ञप्तिमार्फत् घोषणा गरेका छन् ।

मधेसी दलहरुले उठाएका माग जायज भएर पनि त्यसलाई सम्बोधन गर्न एमाले नेतृत्व नै मुख्य बाधक बनेको र एमाले शीर्ष नेताहरुलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेकाले एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्न बाध्य भएको दुवै नेताको भनाई छ ।

पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य गिरीले एमालेको खोक्रो राष्ट्रवादले मधेसलाई मात्र नभई मुलुकलाई नै विखण्डनको खाडल तर्फ धकेलिरहेको भन्दै पहाडी दलमा रहेको मधेसप्रतिको विभेदकारी मनोविज्ञान अहिले पनि यथावत रहेको प्रतिक्रिया दिए ।

एमालेमा रहेका मधेसी नेताहरुले पार्टीभित्र आफ्नो विचार र धारणा खुलेर व्यक्त गर्ने अवस्था अहिले पनि नभएको भन्दै उनले एमालेका शीर्ष नेताहरुले पार्टीमा रहेका मधेसी नेताहरुको विचारलाई लत्याउदै आएको आरोप लगाए ।

मधेसका मुद्दा र एजेण्डाका बारेमा एमाले नेतृत्व सुध्रिनै नसक्ने नदेखेपछि मधेसका जनताको भावनाको कदर गर्दै आफूले एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने निर्णय गरेको गिरीले बताए ।

‘कांग्रेस, एमाले र माओवादी केन्द्रले अहिले पनि मधेसी दल र मधेसी जनतालाई बिरालोले मुसा खेलाए जस्तै खेलाइरहेको छन्’,–उनले भने,– ‘एमालेको महेन्द्रवादी र राणाकालीन खोक्रो राष्ट्रवाद अब धेरै दिन टिक्दैन । मधेसको मुक्ति अब फोरम नेपालबाट मात्रै सम्भव छ ।’

यसैगरि, एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका पूर्वसभासद एवं एमालेका क्षेत्रीय अध्यक्ष प्रधुमन चौहानले एमालेकै बदमाशीका कारण मधेसको माग सम्बोधन हुन नसकेको बताए । मधेसको माग जायज छ र यो माग सम्बोधन गर्नु पर्छ भनेर एमाले नेतृत्वलाई पटक पटक भन्दा पनि सुनुवाई नभएपछि मधेसी जनताको भावनाको कदर गर्दै एमाले परित्याग गरि फोरम नेपाल प्रवेश गर्न बाध्य भएको उनले प्रतिक्रिया दिए ।

पत्रकार सम्मेलनमा फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले एमाले केन्द्रीय सदस्य गिरी र पूर्वसभासद चौहानको फोरम नेपालमा प्रवेशले सिङगो एमाले पार्टीलाई ठूलो झटका लागेको बताए । गिरी र चौहान मधेशी जनताको लोकप्रिय नेता भएको भन्दै उनले दुवै नेतालाई पार्टीभित्र सम्माजनक स्थान दिइने बताए ।

फोरम नेपाल पर्साका अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी, केन्द्रीय सदस्य मोहनलाल चौधरी, हरिनारायण रौनियार, जितेन्द्र यादव लगायतको उपस्थिति थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment