साकेलाको उत्पति -निनाम्मा राई

सृष्टिकालमा किरातमोङ मात्र हुनुहुन्थ्यो । यो सारा संसार पुरै शुन्य, खाली थियो । यहाँ केही पनि थिएन । त्यसले किरातमोङलाई न्यास्रो बनायो । उहाँले पृथ्वी–आकाशको कल्पना गर्नुभयो । उहाँ तुरुन्तै ध्यानमा बस्नुभयो । त्यो ध्यानाकृष्ट शक्तिबाट उहाँले पृथ्वी–आकाशको उत्पत्ति गर्नुभयो । त्यसपछि उहाँले आफ्नो श्वासबाट हावा, आँसुबाट पानी, रीसबाट आगो, मष्तिष्कबाट ग्रह, तारा, आकाश आदि को उत्पत्ति गर्नुभयो । त्यो हावा, पानी र आगोको समिश्रणबाट उहाँले कुहिरो–बादलले पृथ्वी–आकाशलाई ढाकेर राख्यो । उहाँले धेरै वर्षसम्म पृथ्वी–आकाशलाई हेर्न पाउनु भएन । पृथ्वी–आकाशलाई हेर्न नपाउनु भएपछि उहाँ रिसाउनुभयो । उहाँले तुरुन्तै हावा, हुरी बतास बनाउनुभयो । बिजुली चम्काउनुभयो । मुसलधारे पानी पार्नुभयो । त्यो पानीले पृथ्वीमा जलमग्न भयो । उहाँले फेरि पृथ्वीमा मानव वस्ती बसाउने विचार गर्नुभयो । उहाँले त्यो पानी बिस्तारै सुर्काउनुभयो । तर त्यो पृथ्वीलाई महासागरले डुबाइरह्यो । यसरी पृथ्वी–आकाशको उत्पत्ति भयो ।

त्यसपछि किरातमोङले नेवाहाङ आकाश र हितहाङ आकाशको उत्पत्ति गर्नुभयो । किरातमोङको ईच्छाअनुसार त्यो नेवाहाङ आकाश र हितहाङ आकाशको कोखबाट सुम्निमा–पारुहाङको उत्पत्ति भयो । सुम्निमा–पारुहाङ अत्यन्तै सुन्दर हुनुहुन्थ्यो । किरातमोङको आग्रहमा सुम्निमा–पारुहाङको विभिन्न जल प्राणीहरुको सृष्टि गर्नुभयो । त्यो सबै प्राणीहरु बाँच्यो । तर, जल प्राणीहरुको सृष्टिले मात्रै यो सारा संसार सार्थक हुने अवस्था थिएन । त्यो तथ्य उहाँहरुले राम्ररी बुझ्नु भएको थियो । स्थलमा पाइने प्राणी तथा वनस्पति दुवैको सृष्टि गर्नु अनिवार्यता थियो । तर पानीमा तिनीहरु अडिने सम्भावना थिएन । त्यो तथ्यलाई बुझेर उहाँहरुले कोङठोकलाई पाँगो माटोको आवश्यकता थियो । पृथ्वीको मजबुद संरचनाको लागि ठूलै मेहनतको खाँचो थियो । त्यो तथ्यलाई बुझेर उहाँहरुले धमिराको सृष्टि गर्नुभयो । सुम्निमा–पारुहाङको इच्छाअनुसार धमिराले कोङ्ठोकको आडमा पानीभित्रको लिसाइलो माटोलाई थुपार्न थाल्यो । पानीको चिसो र लिसाइलो पाँगो माटो पाएपछि कोङठोक हलक्कै बढ्यो । त्यो बढाइको गतिसँगै धमिराले पनि माटो थुपारेर पानी र माटो बराबरी बनायो । त्यहाँ होचो, अग्लो, डाँडा, पाखा, पहरा, ताल, भयो । त्यहाँ उहाँले विभिन्न प्रकारको जीवजन्तुहरुको उत्पत्ति गराउनुभयो । त्यो पृथ्वी–आकाशमा मानव वस्ती बसाउनयोग्य भयो । त्यहाँ उहाँहरुले मानव वस्ती बसाउने विचार गर्नुभयो । त्यही क्रममा पारुहाङ आकाशबाट गायव हुनुभयो । आकाशमा सुम्निमा एक्लै हुनुभयो ।

सुम्निमाले पारुहाङलाई आकाशको सबै भागमा खोज्नुभयो, तर केही पनि भेट्नु भएन । सुम्निमा तुरुन्तै ध्यानमा बस्नुभयो । त्यो ध्यानमा किरातीहोडको भेषमा पारुहाङलाई पृथ्वीमा सुम्निमाले देख्नुभयो । उहाँले पनि किरातीहोङमाको भेष बदल्नुभयो । उहाँले छोटो गुन्यू–चोला लगाएर छोकोमा टिप्दै–टिप्दै महासागरको किनारैकिनार उँभो निस्किनुभयो । पारुहाङ पनि त्यही महासागरमा दुवाली छेक्दै माछा मार्दैमार्दै उँधो झर्नुभयो । त्यही क्रममा सुम्निमा–पारुहाङबीच महासागरमा भेट भयो । उहाँहरुको एकआपसमा चिनापर्ची भयो । त्यही बेला पारुहाङले रात पार्नुभयो । त्यसपछि पारुहाङले तीनवटा ढुङ्गालाई गाढेर सुप्तुलुङ बनाउनुभयो । त्यो सुप्तुलुङमा उहाँले आगो बाल्नुभयो । उहाँले त्यो सुप्तुलुङमामा आफूले मार्नुभएको माछालाई बुछामा पकाएर खानुभयो । सुम्निमाको छोकोमा पनि पकाएर खानुभयो । त्यस रात सुम्निमा–पारुहाङ त्यहीँसँगै बास बस्नुभयो । राति पारुहाङले सुम्निमालाई विवाहको प्रस्ताव राख्नुभयो । तर, उक्त विवाह प्रस्तावलाई सुम्निमाले ठाडै अस्वीकार गर्नुभयो । सुम्निमाको कुराले आफूलाई बेइजती गरेको ठान्नुभयो । पारुहाङ तुरुन्तै अलप हुनुभयो । सुम्निमा एक्लै हुनुभयो । पारुहाङको पृथ्वीमा सुख्खा–खडेरी लगाइदिनुभयो । वन–जङ्गलमा उजाड बनाइदिनुभयो । महासागरको सबै पानी सुकाइदिनुभयो । पारुहाङले आफ्नो वीर्य घनाजङ्गलको ठुटाको टोड्कामा राख्नुभयो । तर, त्यो वीर्यलाई लाहाचेले खायो । रिसको झोंकमा पारुहाङले लाहाचेको मुखै च्यातिदिनु भएर जिब्रो थुतिदिनुभयो ।

पारुहाङले फेरि आफ्नो वीर्यलाई नाचिहोङको पातमा स्खलन गर्नुभयो । उहाँले त्यस वीर्यलाई महासागरको किनारमा राखेर आफ्नै धुनमा अगाडि बढ्दाबढ्दै त्यही अलप हुनुभयो । अचानक पृथ्वीको सबै ठाउँमा पानीको हाहाकार मच्चियो । सुम्निमा तिर्खाले व्याकुल हुनुभयो । जताततै पानी खोज्नुभयो, तर पानी पाउनु भएन । सुम्निमाले ताङतुप्मीलाई उत्पत्ति गराउनु भएर पानी खोज्नु पठाउनुभयो । ताङतुप्मीले पृथ्वीभरि पानी खोज्यो । तर, कहीँ पनि पानी पाएन । निराश भएर सुम्निमातिर आउँदा ताङतुप्मीले महासागरको किनारमा नाचिहोङको पातमा पानी देख्यो । ताङतुप्मी दोधारमा प¥यो । त्यो सबै कुरा ताङतुप्मीले सुम्निमालाई वृतान्त बतायो ।

सुम्निमाले त्यही पानी नै ताङतुप्मीलाई ल्याउन लगाउनुभयो । त्यो पानी ल्याएर ताङतुप्मीले सुम्निमालाई दियो । सुम्निमाले पनि त्यो पानी पिउनुभयो । त्यही बेला अचानक पृथ्वीमा सरर चिस्यान फर्कियो । महासागरमा विस्तारै पानी चिप्चिपाउन थाल्यो । वनजङगलमा मुना–पालुवा पलाउन थाल्यो । एकै छिनमा पृथ्वीमा पहिलाको जस्तै सुन्दर हराभरा भयो । तर, सुम्निमा विस्तारै जिम्ल्याउन थाल्नुभयो । सुम्निमाले जाने बुझेसम्मको दबाई बनाएर खानुभयो, तर सुम्निमा निको हुनु भएन । त्यो कुराले सबैलाई चिन्तित बनायो ।

त्यही क्रममा पारुहाङले बूढाहोङ दोवाको रुप लिनु भएर सुम्निमालाई उपकार गर्नुभयो । बूढाहोङले सुम्निमालाई उपकार गर्नुभयो । सुम्निमा बिस्तारै निको हुनुभयो । तर, सुम्निमा बुखुन्दीमा हुनुभएको कुरा बूढाहोङले सुम्निमालाई बताउनुभयो । त्यो कुराले बूढाहोङ र सुम्निमाबीच वादविवाद भयो । तर बूढाहोङ त्यहाँबाट अलप हुनुभयो । पेट छाम्दा सुम्निमाले आफू बुखुन्दीमा हुनुभएको थाहा पाउनुभयो । सुम्निमा तीन छक्क पर्नुभयो । उहाँलाई ठूलो धर्मसंकट आइप¥यो । त्यसरी विवाह पूर्व नै आफू बुखुन्दीमा हुनुभएकोमा लाज हुने डरले सुम्निमाले पारुहाङसँग विवाह गर्ने निर्णय गर्नुभयो ।

सुम्निमाले ताङ्तुप्मी, भेत्वा, तुइरा, चेन्चेरेवा, तावामा र खिवामा आदि चराहरुको उत्पत्ति गराएर पारुहाङलाई खोजेर ल्याउन पठाउनुभयो । त्यो तिनीहरुले पनि सुम्निमा सिली नाच्दै सोलोन्वाले थोक्दाउँदै बेछुक काटेर यारी हेर्दै पारुहाङलाई खोज्न गयो, तर कहीँ पनि भेटेन । थकित भएर सुम्निमा हुनुभएको ठाउँतिर फर्किँदा तिनीहरुले पारुहाङलाई साल्पा पोखरीमा सुतिरहेको पत्ता लगाए । तिनीहरुले सुम्निमा सिली नाच्दै सोलोन्वाले थोक्दाउँदै बेछुक काटेर यारी हेर्दै साल्पा पोखरी वरिपरि घुमेर पारुहाङलाई उठायो, तर पारुहाङ उठ्दै उठ्नुभएन । त्यो कुरा तिनीहरुले सुम्निमालाई बतायो । त्यस कुराले सुम्निमालाई चिन्तित बनायो । सुम्निमाले तुरुन्तै वाजिकुहोङको उत्पत्ति गराउनुभयो ।

त्यसपछि सुम्निमाले ताङतुप्मी, भेत्वा, तुइरा, चेन्चेरेवा, तावामा र खिवामा आदि चराहरुर वाजिकुहोङलाई लिएर सुम्निमा सिली नाच्दै सोलोन्वाले थोक्काउँदै बेछुक काटेर यारी हेर्दै वाजिकुहोङको साथमा साल्पा पोखरी गएर पारुहाङलाई उठाउनुभयो, तर पारुहाङ उठ्नु भएन । त्यसपछि सुम्निमाको आज्ञा अनुसार वाजिकुहोङले साल्पा पोखरीभित्र पसेर पारुहाङको कान टोकिदियो । तर्सिँदै पारुहाङ उठ्नुभयो । त्यही बेला सुम्निमाले भन्नुभयो– “पारुहाङ, पहिला त्यस्तै भयो । त्यसमा चित्त नदुखाउनुहोस् । अबदेखि म तपाईलाई नै माया गर्छु । म तपाईसँग नै विवाह गरेर घरजम बसाउन चाहान्छु ।” सुम्निमाको कुरालाई स्वीकार्दै पारुहाङ साल्पा पोखरीमुनिबाट बाहिर निस्किनुभयो ।

त्यसपछि पारुहाङले सुम्निमाको शीरमा आल्मारीबुङ सिउरिदिनुभयो । सुम्निमाले पनि पारुहाङलाई मिचिलिमाबुङ सिउरिदिनुभयो । सुम्निमा–पारुहाङबीच धुमधामसित ठूलो विवाह भयो । त्यो विवाहमा ताङतुप्मी, भेत्वा, तुइरा, चेन्चेरेवा, तावामा र खिवामा आदि चराहरु र वाजिकुहोङलगायत सबैले नाचेर रमाइलो गरे । त्यसपछि सुम्निमा–पारुहाङले घरजम गरेर बस्नु भयो ।

त्यही क्रममा सुम्निमाले पहिलो सन्तानको रुपमा बाघ, भालु र होङ्छालाई जन्म दिनुभयो । सुम्निमाले बाघ, भालु र होङ्छाको जन्म दिनुभएपछि आकाश हल्लियो । आकाशमा पारुहाङ पनिहुनु नभएको, आफूपनि पारुहाङलाई खोज्दै पृथ्वी मैे भर्नुभएकोले आकाशलाई आकाशतिर नै पठाउने विचार गर्नुभयो । उहाँले पारुहाङसँग निहुँ खोज्नुभयो । पारुहाङले पनि आकाशमा सुम्निमालाई एक्लै छोडी आउनुभएकोले सुम्निमाको माया लागेर आकाशतिरै फर्किने विचार गर्नुभएर सुम्निमासँग झन् निहुँ खोज्नुभयो । सुम्निमा र पारुहाङबीच झन् मनमुटाव बढ्यो । सुम्निमाले पारुहाङलाई छुट्टिएर एक्लाएक्लै बस्ने प्रस्ताव राख्नुभयो । उक्त प्रस्तावलाई पारुहाङले पनि स्कीकार्नुभयो । सुम्निमाले सबै सम्पत्तिलाई बराबरी दुई भाग लगाउनु भएर आफ्नो भाग जति घरभित्र हुल्नुभयो । तर, पारुहाङ चाहिँ आकाशमा जाने विचारले आफ्नो भागमा परेको श्रीसम्पत्ति, अन्नबाली, कुखुरा, परेवा, गाई, भैँसी, भेंडा, बाख्रा, सुँगुर आदिआदि जङ्गलमा लगेर छाडिदिनु भयो ।

त्यसपछि पारुहाङले आकाश जाने कल्पना गर्नुभयो । त्यही बेला पारुहाङको शरिरभरि धमिराले देवाल उठायो । त्यो देवालबाट निस्केर पारुहाङ आकाशतिर जानुभयो । तर पारुहाङले सुम्निमालाई आकाशमा भेट्नु भएन । पारुहाङले ध्यान गरेर हेर्नु हुँदा त सुम्निमा नै पो किरातीहोङमाको भेषमा पृथ्वीमा पुगेर घरजम गरी बसिरहनुभएको देख्नुभयो । पारुहाङ पुनः पृथ्वीमा आउनुभएर माफी माग्नुहुँदै सुम्निमालाई आकाशमा फर्कनु अनुरोध गर्नुभयो । तर,बाघ, भालु र होङ्छा जवान भएपछि मात्रै आफू्लाई लिन आउनुभएमा पारुहाङसँग आकाशमा जाने कुरा बताउनुभयो । सुम्निमाको त्यो कुरामा राजी हुनु भएर पारुहाङ आकाशतिर नै फर्किनुभयो ।
बाघ, भालु र होङछा जवान भएपछि सुम्निमालाई लिन पारुहाङ आकाशबाट पृथ्वीमा आउनुभयो । त्यसबेला सम्ममा पृथ्वीमा सम्पूर्ण मानव बस्ती बसिसकेको थियो । सुम्निमा–पारुहाङले मानव जातिको कल्याणको लागि आवश्यक सृष्टि गर्नुको लागि सम्पूर्ण अधिकार होङछालाई दिनुभयो । त्यसपछि पारुहाङले सुम्निमालाई आकाशतिर जान अनुरोध गर्नुभयो । पहिलाको बाचा अनुसार सुम्निमाले पारुहाङको आकाश जाने अनुरोधलाई स्वीकार्नुभयो । तीनै जना छोराहरुलाई पृथ्वीमा छोडेर सुम्निमा–पारुहाङ आकाशतिर जान तयार हुनुभयो । तर होङछाले सुम्निमा–पारुहाङलाई रुँदै पछ्याउनुभयो । उहाँहरुलाई आफ्नो सन्तानहरुको धेरै माया लाग्यो । उहाँहरुले पनि आफ्नो मन थाम्न सक्नुभएन । उहाँहरु पनि रुनुभयो ।

त्यसपछि सुम्निमाले अकछुप बाख्खा, बेछुक, सोलोन्वा र बेरुछा होङछाको हातमा लगाइदिँदै भन्नुभयो– “होङ्छा, तिमी हामीसँगै निनाम्मामा जाने कुरा नगर । हाम्रो कुलको रक्षा गर्नुको लागि भए पनि तिमी यही पृथ्वीमा राज्य गरेर बस्नुपर्छ । बरु, हाम्रो साह्रै याद आयो भने (लुङवा, ठोला, मानी, दिएर सुम्निमा सिली सिकाउँदै) यो लुङलाई पुथ्वीको चोखो ठाउँमा गाडेर यो ठोला–मानी बजाउँदै बर्षभरि तिमीले यो पृथ्वी जे–जे गरेको थियौ, त्यहीँ त्यहीँको अभिनय गर्दै साकेन्वामा सुम्निमा सिली टिपेर हामीलाई दोङवाङा–दोङदापामा सेवा गर्नु । हामी तिमीलाई आशीर्वाद दिँदै पानी पारिदिन्छौँ । त्यो पानी परेपछि तिमीले पूजा गरेको हामीले थाहा पाएको कुरा तिमीले पनि थाहा पाउनु । (एक मुठी माटो बेछुक बेरुछा र सोलोन्वा हातमा लगाइदिँदै) होङ्छा, हामी आपासँग निनाम्मा जान्छौँ । तिमी जिमी किराती राजा हौ । यो धर्तीमा तिम्रो माटो कहिल्यैपनि सकिँदैन । तसर्थ, तिमी यही धर्तीमा बाँचुन्जेल बस्नु । अब तिमी बस है होङ्छा ।” त्यही बेला आकाश गडगडाएर कालो मुस्लो भयो । बिजुली चम्कियो । पानी प¥यो । सुम्निमा–पारुहाङ त्यही अलप भएर साकेन्वालुङ हुनुभयो । त्यो साकेन्वालुङलाई होङ्छाले सुम्निमा पारुहाङको प्रतीक मानेर पूजा गरेर राख्नुभयो । त्यसरी सुम्निमा पारुहाङको रुपमा साकेलालुङको उत्पति भयो । किरातीहरुको भाषागत विविधताका कारण साकेलालाई भूमी पूजा, साकेन्वा, साकेवा, साखेवा, साख्खेवा, तोसी आदिआदि पनि भनिन्छ । यो साकेलालाई उभौली र उधौलीमा पूजा गरिन्छ ।

– निनाम्मा राई

 (खम्बुवान पत्रबाट सभार )

Facebook Comments

सम्बन्धित

Leave a Comment