टंक राई नेतृत्वको नेकपा र नेकपा माओवादी केन्द्रबिच एकता

काठमाडौं, ३१ चैत । टंक राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच आज पार्टी एकीकरण भएको छ । बिहीबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरी पार्टी एकता गरिएको हो ।

पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयको आवश्यकताले पार्टी पुर्ननिर्माणको अभियान थालिएको बताएका छन् । उनले कम्युनिष्ट पार्टीहरुबीचको ध्रुविकरण आजको आवश्यकता रहेको भन्दै टंक राई नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीसँग एकताले क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ताहरुलाई उत्साहा थपिएको उनको भनाइ थियो ।

यस्तै एकिकरण अभियानमा सामेल भएका नेता राईले मुलुकमा ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षार्थ पार्टी एकिकरण भएको बताए । उनले अहिले नेपाली जनताले प्राप्त गरेको उपलब्धीहरुको संस्थागत विकास गर्नुपर्ने बेला यी उपलब्धीका स्टेक होल्डरहरुलाई कमजोर बनाइन लागेका बेला यी उपलब्धीहरुलाई थप सुदृढ र स्थापित गर्न पार्टी एकता भएको बताए ।

एकिकरणको घोषणापछि दुवै पार्टीका वार्ता समितिका नेता तथा अध्यक्षद्वारा विज्ञप्ती प्रकाशन गरिएको छ । विज्ञप्तीमा ‘एतिहासिक आन्दोलनबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपाति समावेशिताका आधारभुत प्रणालीलाई नेपालको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा संस्थागत र सुदृढ गर्न परिवर्तनकामी शक्तिहरुबीच ध्रुविकरण आजको आवश्यकता हो ’ भनिएको छ ।

दुवै पार्टीबीच एक वर्षदेखि एकताको प्रयास भइरहे पनि प्राविधिक कुरो नमिलेका कारण प्रक्रिया लम्बिएको थियो । एकीकरणपछि राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने तय भएको छ भने जयकुमार राई, रामहरि कार्की र अमेम्बर राईले पोलिटव्यूरो सदस्यको जिम्मेवारी पाउनेछन् ।

माओवादी केन्द्रले पार्टी एकताका लागि अमिक शेरचनको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समितिमा गोपाल किराती, अग्नि सापकोटा, पूर्णाकुमारी सुवेदीलगायत सदस्य थिए ।

यसअघि एकता प्रक्रियामा आएका रामबहादुर थापा बादल, मातृका यादव र मणि थापा पनि माओवादी केन्द्रको हेडक्वाटर सदस्य छन् ।

विगत चार दशकभन्दा बढी समयदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय राई खोटाङ क्षेत्र नम्बर १ बाट ०४८ र ०५१ सालमा नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभाको सदस्य निर्वाचित भएका थिए ।

राई कुसल योजनाकार मानिन्छन् । हालको मध्य पहाडी लोकमार्ग अन्र्तगतको हिलेपानी–दिक्तेल सडकको परिकल्पना सबैभन्दा पहिला राईले नै गरेका थिए । यो एकताले पूर्वी नेपालका खोटाङ, ओखलढुंगा र भोजपुरमा माओवादी केन्द्रको स्थिति मजबुद बन्ने जनाइएको छ ।

Facebook Comments

Related posts

Leave a Comment