कविता – देशमण्ड टुटुको दृश्टिबाट काठमाडौँको नेवा:लाई हेर्दा

————– शंकर लिम्बू

———————-
उनीहरु रित्तो हात, मित लगाउँदै आए,
हामीले मित छोरा त छौरा नै हो भनी पाल्यौँ पोस्यौँ ।
उ लक्का जवान भएपछि….
हामीले इन्द्रजात्राको पर्व मान्दै गर्दा,
हामी निहत्था भएको बेला खुँडा र तरवार ल्याएर आए,
हामीलाई जो हुकुम, जो निगाह भन्न लगाए..
मीत छोरा त छोरा जस्तै हो भनी, जो हुकुम जो निगाह भन्यौँ ।

त्यसपछि खाली हात नै जयनेपाल र लालसलाम भन्दै,
उसका शाखा सन्तान आए,
हितेरी मितेरी नै हो भनी जयनेपाल पनि भन्यौँ लालसलाम पनि भन्यौं ।

जुन दिन जयनेपाल र लालसलाम पस्यो,
हामी नेवा : हरुबीच पानी बाराबारको दिन शुरु भयो ।

उनीहरुले ननी–ननी बहाः–बहाः हरुमा भेलाहून डाके,
हामी कोही जयनेपाल र लालसलामको नारा लगाउँदै भेला भयौं,
उनीहरु भाषण गर्थे
हामी ताली पिट्थ्यौँ।

फेरिपनि एकझुण्ड रातो तुल लिएर,
गणतन्त्र र केके तन्त्र भन्दै बन्दुक बोकाउन आए,
ए यो पनि त हाम्रै हितेरी मितेरी हो नी भन्दै,
बन्दुकको चिसो सिरानी लगाउँदै पछिपछि हिडयौं ।

नौ महिना रगतले र्सिचेर दशधारा अमृतरुपी दुध खुवाउने आमाको आँखा अहिले पनि साहदात पाएका सन्तान सम्झेर ओभाएको छैन,
पसिना र परिश्रमले हुर्काएको, बुढेशकालको साहारा
जवान छोरी र छोरालाई चिसो बन्दुकको तातो गोलीले घर्लप्प मारिदिएपछि,
पिरैपीरमा बुढा बाबुले
रात कटाउन थालेको पनि दशकौं भइसकेछ ।
अनाथ बनेकाहरु,
जिवनसंगी गुमाएकाहरु,
कति छन कति ;
छात्ति पोलेका पीडाहरु यहाँ !

चारैतिर…..
पूर्व,
पश्चिम,
उत्तर,
दक्षिण,
आफ्नै पाुख्र्यैली थलो बाँडभञ्ज्याङदेखि साँगा भञ्ज्याङसम्म
चन्द्रागिरिदेखि नाङलेभारेसम्म,
यत्रतत्र शिरिसको रुखमा ऐंजेरु फैलिएजस्तै फैलिएका,
आकाशबेली जस्तै झाँगिएका,
हतेरीमितेरीको हुलमा हराएपछि,
आफु बिरानो, आफना बिरानो भएपछि,

एक दिन ….
झीं नेवाः,
झीगु स्वःनिगः
गनः ?
भनी आँखा र चेत खोलेर हेर्दा त,
हितेरी मितेरीहरुले हाम्रै भूमि खोसेर आलिसान दरबारहरु बनाएर हामीलाई नै शासन गरी रहेका रहेछन् ।
हाम्रा जात्रा, संस्कृति र सभ्याता चलाउन
पुर्खाले जोडेका गुठीका जग्गाहरु,
कहिले–कहिले श्रेस्ता मिलाएर
दखल गरी सकेका रहेछन् ।
हामीले बनाएका मन्दिरहरुमा,
हामीले बनाएका मूर्तिहरुलाई,
रातो कपडाले छोप्दै,
निधारमा खै के को टिका लगाएर,
हामीलाई नै मन्दिरको ढोकामा नै भेटीमाग्दै खोक्रो आर्शिबाद दिदै रहेछन् ।

हिजो अस्ति त हो नी,
जुजुमानले तमाखु खाँदै,
व्यापार गर्ने त्यो असनको पसः
आज त खै कसरी हो हितेरी मितेरी नै पो
गद्दी फैलाएर
बसेको देख्छु ।

सिंहदरबारभित्रैबाट फर्मान जारी गर्दै,
नीलो र छिर्केविर्के वस्त्रधारीलाई
बन्दुक बोकाएर,
हामीलाई सुकुम्बासी बनाउन
उठीबास नै लगाउन,
बुल्डोजरहरु ल्याएर, हितेरी मितेरीहरु त,
एका बिहानै हाम्रा घरहरु पो धमाधम भत्काउदै रहेछन् ।

हामीले गुनासा बोकेर, सिंहदरबार गयौं,
अदालत गयौं
बल्खु गयौं,
टेकु गयौं,
पेरिस डाँडा गयौं
भएन बलुवाटार पनि गयौं ।

गजधम्म परेर हितेरी मितेरीले भन्नुभयो –
हामीले सडक मिच्यौँ रे,
कानून मिच्यौँ रे,
उस्को चिल्लो गाडी दौडाउनलाई हाम्रो घरले छेक्यो रे,
त्यसैले झीः नेवा गैरकानूनी रे ।

.

Facebook Comments

सम्बन्धित

Leave a Comment