सगरमाथा आरोहीलाई जीपीएस सिस्टममार्फत ट्र्याक गरिने

काठमाडौं, ८ चैत। नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ ।

विकसित देशहरुले प्रयोग गर्दै आएका जीपीएस प्रविधि नेपालमा पनी प्रयोग गर्न लागेको हो । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ । शुरु हुनै लागेको यहि स्प्रीङ सिजनमा परीक्षण गर्ने र यो सफल भयो भने अटम सिजनबाट सबै आरोहीलाई अनिवार्य गर्ने योजना छ ।

केही आरोहीले सगरमाथा सफलतापूर्वक चढेको भन्दै झूटो विवरण दिने गरेको पाइएपछि सरकारले जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्न लागेको हो । यसअघि भारतीय नागरिक दिनेश राथोड र उनका श्रीमतीले सगरमाथा चढेको भनेर नक्कली फोटो सार्बजनिक गरेका थिए ।

जीपीएस ट्र्याकिङ सिस्टमको लागि एउटा मोबाइल आकारको डिभाइस हुन्छ जसलाई आरोही स्वयमले बोकेर लैजानुपर्छ । त्यसअघि सरकारको सरोकारवाला निकाय पर्यटन विभागले उक्त डिभाइसमा आरोहीको नाम, ठेगाना लगायतका सम्पूर्ण विवरण इन्ट्री गरेर आरोहीलाई दिन्छ । आरोहण सकिएपछि डिभाइसलाई आरोहीले सरकारको सम्बन्धित निकायमा फिर्ता गर्नुपर्छ जसलाई अर्को छुट्टै यन्त्रमार्फत रिड गरिन्छ । त्यसमा आरोहीले के गर्दैछ, कुन दिशाबाट आरोहण गरेको, कति उचाइमा पुगेकोलगायतका विस्तृत विवरण रेकर्ड भएको हुन्छ । त्यसको आधारमा आरोहण सफल भए नभएको पत्ता लगाउन सकिन्छ ।

हिमाल आरोहणको क्रममा कुनै आरोही दुर्घटनामा परेको भए पनि यस यन्त्रमार्फत् पत्ता लगाउन सकिन्छ र उद्धारमा सहज हुने छ ।

स्प्रीङ सिजन सगरमाथा आरोहणको लागि मूख्य सिजन हो । अटम सिजनमा भने अत्यनत न्युन संख्यामा मात्र आरोही हरु सगरमाथा चढ्ने गर्छन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment