एमाले र कांग्रेसका प्रभावशाली नेता फोरम नेपालमा प्रवेश

रौतहट ५, चैत्र । शनिबार गरुडामा आयोजित फोरम नेपालको पार्टी प्रवेश एवं आमसभामा नेपाली कांग्रेस र नेकपा एमाले लगायत अन्य विभिन्न पार्टीका नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

पूर्व गाविस अध्यक्ष एवं नेपाली कांग्रेसका प्रतिष्ठित नेता इन्दुराय यादवको नेतृत्वमा कांग्रेसको ठूलो समूह फोरम नेपाल प्रवेश गरेको छ । कांग्रेसका अर्का नेता वीरेन्द्र कुमार यादवको नेतृत्वमा समेत सयौँ जना नेता कार्यकर्ता फोरम नेपाल प्रवेश गरेका छन् ।

त्यस्तै, जयनगर गाविसका पूर्व अध्यक्ष एवं नेकपा एमालेका नेता वीरेन्द्र यादवसहित सयौंको संख्यामा एमाले नेताहरुले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन् । कांग्रेस, एमाले र विभिन्न पार्टी परित्याग गरि फोरम नेपाल प्रवेश गरेका कांग्रेस, एमालेका नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन बिना कुनै पनि शक्तिमा हिम्मत भए चुनाव गराएर देखाउन चुनौती दिएका छन् । जनताको ब्यापक विरोधका बीच बन्दूक र प्रहरी दमनको भरमा चुनाव गराउन खोजिए मधेशी मोर्चा र संघीय गठबन्धनसहित जनताले कडा प्रतिकार गर्ने यादवले चेतावनी दिएका छन् ।

त्यस्तै, शनिवार संचारकर्मीहरुसँगको कुराकानीमा सरकारलाई चुनौती दिँदै अध्यक्ष यादवले भने,– ‘संविधान संशोधन नभएसम्म हामीले कुनै पनि चुनाव हुन दिन्नौं । प्रचण्ड सरकारसँग हिम्मत छ भने बन्दूकको भरमा चुनाव गराएर देखाए हुन्छ ।’

दुई चार दिनको म्यादी सरकारले मधेश र मधेशीको माग पूरा नगरी चुनाव गराउँछु भन्नु सरकारले देश र जनतासँगको भावनासँग खेलाची गरेको उनले टिप्पणी गरे । डुब्न लागेको ढुंगामा बसेर देश विकास गर्छु, चुनाव गराउछु भनेर सरकारले झूठको नाटक गरेको यादवले कटाक्ष गरे ।

यादवले भने,– ‘विगतमा गणतन्त्र स्थापना गर्न र कुर्सी प्रप्तिका निम्ति जनतालाई झुक्याएर हजारौं हजार जनताको रगत बगाएका प्रचण्डले अहिले संविधान संशोधनको एजेण्डामा मधेशी, आदिवासी जनजाति, दलित, महिला, सीमान्कृत समुदायलाई ठग्ने काम गर्नु देश र प्रचण्ड स्वयम्का लागि दुर्भाग्य हो ।’

सरकार टिकाउन मात्र गणतन्त्रवादी भन्न रुचाउने प्रचण्डले राजतन्त्रको ओकालत गर्ने पार्टीलाई सरकारमा ल्याएको भन्दै अध्यक्ष यादवले सरकारमाथि आशा र अपेक्षा गरेर विगतमा ठूलो गल्ती गरेको स्वीकार गरे । संविधान संशोधनको पहिलो लाइन सीमान्कन भएको भन्दै यादवले सीमान्कनलाई थाती राखेर चुनाव गर्ने प्रस्ताव कहिलै मान्य नहुने प्रष्ट पारेका छन् ।

पहिचान, सम्मान र स्वाभिमानका लागि मधेसी तथा आदिवासी जनजाति सहित समग्र उत्पीडित समुदाय संघर्ष गरिरहेको जनसंख्याको अनुपातमा शासन, प्रशासन तथा नीति–निर्माण तहमा सबैको समान सहभागिता सुनिश्चित नभएसम्म लडाइँ जारी रहने यादवले प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित

Leave a Comment