केरुङ नाकामा १० अर्बका सामान अलपत्र

काठमाडौं, ६ चैत । रसुवाको केरुङ नाकामा नेपाल भित्रन लागेका सामान डेढ महिनादेखि अलपत्र परेका छन्। भन्सार कर्मचारीको अवरोधका कारण भन्सार मुल्यांकनमा समस्या हुँदा १० अर्ब रूपैयाँभन्दा बढीका सामान केरुङमै अलपत्र परेका हुन् ।

सामान बोकेर आएका कन्टेनर लामो समयसम्म कन्टेनर रोकिँदा कन्टेनर व्यवसायीलाई असर परेको छ । कतिपय सामान अर्डर गरेर ल्याइएकाले पनि समयमा नआउँदा त्यसको मार व्यवसायीले भोग्नुपरेको छ ।

समयमा बिक्री गर्न नपाउँदा सिजनेबल सामान र कतिपय मोडल नै काम नलाग्ने हुँदा व्यापार गर्न कठिन हुने गरेको गुनासो व्यापारीहरुको छ। लत्ताकपडा, उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, आल्मुनियमका सामान लगायतका अन्य सामान नाकामै रोकिएका छन् । रोकिएर रहेका सामान जतिसक्दो छिटो नल्याइए यसले थप असर पर्दै जाने व्यवसायीको भनाइ छ । खासगरी ठूलो परिमाणमा भित्रिने गरेको लत्ताकपडा तथा इलेक्ट्रोनिक्स सामानहरू सीमापारी नै अलपत्र परेका छन् ।

व्यापारीहरूका अनुसार अहिले ३ सय ५० कन्टेनरहरू मितेरी पुलपारी नै लोड भएर बसेका छन् भने पार्किङ क्षेत्रमा डेढ सयको हाराहारीमा कन्टेनरहरू रहेका छन् । सरकारले नै नाका खुलाउन पहल नगरेको भन्दै व्यापारीहरू आक्रोशित भएका छन् ।

नाकामा रोकिएका सामानको चेकजाँच गर्नका लागि जान नपाउदा थप समस्या परेको व्यवसायीले बताएका छन् । रसुवाका स्थानीयलाई एक दिनको पासले नाकामा जान पाउने व्यवस्था भए पनि अन्यलाई नाका प्रवेशमा निषेध गरिएको छ ।

भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङ अवरुद्ध हुँदा व्यवसायीलाई प्रत्यक्ष मार परेको छ । पछिल्लो समय व्यवसायीले चीनका विभिन्न ठाउँबाट खरिद गरेका सामान सो नाकाबाट सामान आयात गर्दै आएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment