“राई” शब्दले खायो किरातिहरुको पहिचान

-निनाम लोवात्ती कुलुङ

……………………
हो, आजभोलि राई भन्ने बित्तिकै मान्छेहरुले नेपालका एक जाति हुन् भन्ने बुझ्छन् । तर सुरुमा यो राई शब्दले जात वा जाति जनाउँथेन । पृथ्वीनारायण शाहले नेपाललाई भगौलिक एकीकरणको सुरुवात गरेपछि पूर्वका किरातीहरुको भूगोललाई तीनभागमा विभाजन गरेर त्यहाँका (स्थानीय) प्रखुमहरुलाई विभिन्न पदवी÷पगरी दिईयो । जस्तै वल्लो किरातका प्रभावशाली सुनुवार किरातीहरुलाई ‘मुखिया’, माझ किरातका प्रभावशाली कुलुङ, खालिङ, साम्पाङ, बान्तावा, थुलुङ लगायतका किरातीहरुलाई ‘राई’ र पल्लो किरातका प्रभावशाली लिम्बुहरुलाई ‘सुब्बा’ याक्खालाई ‘देवान’ पदवी÷पगरी दिइयो । त्यस्तै तराईका थारुलाई ‘चौधराई’ (हाल चौधरी लेख्छन्) दिईयो । यसरी इतिहास हेर्ने हो भने ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’, ‘चौधराई’ आदि पदवी÷पगरी सिर्जना गरेर हारेका स्थानीयस्तरका स–साना किराती राजा–महाराजाहरुलाई थुमथुम्याउन र, ‘अबदेखि तिमीहरु राजा नभए पनि राजासरह नै हौ है ।’ भनेर सान्त्वना दिनका लागि र, स्थानीय स्तरमा जग्गाको तिरो–भरो उठाउन, उठेको रकम केन्द्रमा बुझाउन, पञ्चखत बाहेकको झै–झगडा स्थानीय स्तरमै मिलाउनका लागि पनि माथि उल्लेखित पद वा पगरीहरुको सिर्जना गरिएको थियो ।
हुँदा हुँदा पछि गएर ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदि पदवी÷पगरी अन्य जातजातिका मान्छेले पनि किनेर पाउन थाले । यसरी इतिहास हेर्दा ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदि शब्दले नेपालको कुनै पनि जात वा जाति नजनाएर नेपालको भगौलिक एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहका सन्तान दरसन्तानहरुले दिएको पदवी÷पगरी मात्रै जनाउँथ्यो भन्ने कुरो अरु त अरु हाल कथित् राई जाति हौं भन्ने हामी किरातीहरु मध्येकै धेरै मान्छेलाई थाहा छैन । फेरि राई जस्तै पगरी÷पदवी पाएका अन्य किराती जातिहरु जस्तै सुनुवार (कोईँच), लिम्बु (याक्थुक्बा) र याक्खाले पाएको ‘मुखिया’, ‘सुब्बा’, ‘देवान’ पदवी÷पगरीलाई उनीहरुले जातिको रुपमा लेख्न÷मान्न छाडिसके भने ‘राई’ पदवी÷पगरी पाएका किरातीहरुमध्ये कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, जेरो, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायतका किराती जातिहरुले भने अझै पनि विभिन्न कारणले ‘राई’ पदवी÷पगरीलाई नै जाति मान्नु पर्ने वाध्यता रहेको छ । तापनि ‘राई’ जाति नभएर पदवी÷पगरी मात्रै हो भन्ने प्रमाणहरु भेटिन÷देखिन थालेपछि (जस्तै त्यो बेलाका केन्द्रमा रहेका शासकहरुले स्थानीय स्तरमा नियुक्त गरेका ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदिलाई लेखेको आदेश पत्रहरु, विभिन्न समयमा जारी गरिएको लालमोर, सनदपत्र र, ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदिले ९९ रुपैंयासम्मको घरैमा जग्गापास गरेको घरायसी कागजपत्रहरुमा स्वयम् ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’हरुले पनि आफ्नो नामको अगाडि आफूले पाएको पदवी पगरीलाई जनएर मात्रै कागज गरेको पाइएपछि) २०५८÷२०५९ देखि कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, जेरो, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायत समुदायका अगुवाहरुले ‘राई’ पदवी/पगरीलाई जातिको रुपमा नमान्ने निर्णय गरेर व्यापक रुपमा आन्दोलन चलाए । हुन त राई लेख्दा ठूलो होइन्छ भन्ने मान्यताले गर्दा अझै पनि कतिपय सुनुवार, याक्खा, दनुवार, माझी लगायत जातजातिले अझै पनि कतैकतै नामको पछाडि राई लेख्ने गरेको देखिन्छ/भेटिन्छ ।
जे होस्, कुलुङ लगायत किरातीहरुको आन्दोलनका फलस्वरुप २०६५ फागुनमा नेपाल सरकारले समाजशास्त्री डाक्टर ओम गुरुङको नेतृत्वमा नौ सदस्य रहेको ‘उच्च स्तरीय सूची परिमार्जन तथा पुनः सूचीकरण कार्यदल’ गठन गर्यो । उक्त कार्यदलले किरातीभित्रका चार जाति कुलुङ, याम्फु, आठपहरिया, लोहोरुङ लगायत अन्य २१ जाति थपेर नयाँ २५ जाति थपेर र, पहिले सूचीकृत ५९ जातिमध्ये वनकरियालाई चेपाङमा गाभेर र, फ्री र छैरोतन भन्ने जाति नै नभेटिएकोले खारेज गरेर ८१ जातिलाई सूचीकृत गर्न नेपाल सरकारलाई सिफारिस गरेको पनि लगभग सात वर्ष भैसकेको छ । त्यस्तै २०६८ को राष्ट्रिय जनगणनामा कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायत १२ वटा किराती जातिहरुले कथित् राई जातिलाई हटाएर अलग्गै जातिको रुपमा लेखाएका÷आएका छन् ।
यसरी हेर्दा राई शब्द जातिको रुपमा व्यापक रुपमा सर्वसाधारण माझ प्र्रयोग भएको भनेको २०२१ सालमा भूमि सुधार ऐन आएपछि मात्रै हो । त्यो पनि २०२९÷२०३० सालमा तीव्र रफ्तारमा यो ऐन गाउँ–गाउँ, वडा–वडा, टोल–टोलमा लागू गरेपछि ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदिको अधिकार कटौती हुँदै गएर अन्तमा उनीहरु अधिकारविहीन नै भएका थिए । यसरी हेर्दा साँच्चै कथित् राई जातिको इतिहासबारे अध्ययन–अनुसन्धानै गर्ने हो भने नेपाल एकीकरण भन्दाअघि जान सकिदैन । हुन त त्यसभन्दा अघि पनि राई भएको तर्क गर्नेहरु पनि नभएका होइनन् । तर त्यसबेला राई नभएर ‘राय’ थिए । र, त्यसबेलाको ‘राय’को रुप भनेको पनि राई जस्तै जाति नभएर हालको प्रधानमन्त्री सरहको पदको रुप थियो । र, नै सेनहरुको पालामा बुद्घिकर्ण लगायतका व्यक्तिहरु पनि विजयपुरमा ‘राय’ भएका थिए । जुन व्यक्तिहरु सेन शासकहरुका पालामा ‘राय’ भएका थिए, उनीहरु लिम्बु जातिका पूर्खा भएको प्रमाणित भएको छ । असलीयतमा ‘राय’ भनेको कर्णालीको भाषिका हो भने यो ‘राय’ शब्दले त्यो बेला कर्णालीमा ‘राजा’ जनाउँथ्यो । यसरी हेर्दा ‘राई’को इतिहास भनेको लगभग २ सय ५२ वर्ष जतिको हुने देखिन्छ । यो आधारमा हेर्दा ‘राई’ नेपालको आदिवासी हुन सक्छ त ? स्वाभाविक रुपमा प्रश्न उठ्छ । जबकि हाल नेपालमा आफूलाई किराती भनेर चिनाउने कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, जेरो, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायतका किराती जातिहरु त आदि अनादि कालदेखि यसै भूमिमा बस्दै अएका थिए÷छन् भने उनीहरुको आ–आफ्नो उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि छ । किरात संवत् येले÷यले दोङ÷तङ्बे ( किराती जातिहरुको आफ्नो आफ्नो मातृभाषा अनुसार फरक फरक नाम) समेत छ भने हाल किरात संवत् ५०७७ वर्ष चल्दैछ ।
हुन त हाल किराती भनेर चिनाउने कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, जेरो, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायतका जातिहरुमा नेपालका अरु जातजातिमा जस्तै आफैभित्र थर÷उपथरहरु हुन्छ । र, नै कुलुङ जातिभित्रै विवाह हुन्छ भने हाल कथ्ति राई जाति भनिएको अन्य जातिहरुबीच एकआपसमा भाषा, संस्कार संस्कृति आदि मिल्दैन । अर्थात् कुलुङले बाहिङ वा बान्तावासँग विवाह गरेमा ‘एक्सो ग्यामस’ नै हुन्छ । किनभने उनीहरुबीच भाषा नमिल्ने त छँदैछ । कतिपय संस्कारगत कुरोहरु पनि मिल्दैन । जुन अरु जातिसँग पनि मिल्दैन । अर्को भनेको उधौली र उभौली भनेर राई भन्नेहरुले काठमाण्डौको टुँडीले लगायत स्थानमा नाच्ने चण्डी (बान्तावा र चामिलङ भाषामा साकेवा÷साकेन्वा) किन जातै पिच्छे फरक–फरक थान बनाएर नाच्नु पर्यो ? यदि राई एकै जाति हो भने त थान पनि एउटै, नाच पनि एउटै नाच्नु पर्ने होइन र ? वास्तवमा यसले के देखाउँछ ? बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायतका जातिबीच अलग–अलग अस्तित्व छ भन्ने नै देखाउँछ होइन र ? कि कसो हौ राई सर÷राईनी म्याडमहरु ?
हुन त कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर २६५६) का हर्ताकर्ताहरुले कुनै पनि जातजातिको आत्मनिर्णयको अधिकार हनन् गर्न पाउँछ ? भन्ने प्रश्न पनि छ । वास्तवमा ‘यायोक्खा’ शब्द बान्तावा भाषाको शब्द हो । भोलि गएर बान्तावा समुदायका अगुवाहरुले यो ‘यायोक्खा’ शब्द बान्तावा भाषाको भएकोले तिमीहरुलाई अबदेखि लेख्न दिन्नौं । लेखेमा कानुनी उपचारमा जान्छौं ! भनेमा कतिथ् राई सर÷राईनी म्याडमहरुले के गर्लान् ? यो पक्ष वास्तवमै विचारणीय छ । यसरी संघ–संस्था दर्ता ऐन–२०३४ अन्तर्गत खुलेको राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर २६५६) का हर्ताकर्ताहरुले कुनै पनि जातजातिको आत्मनिर्णयको अधिकार हनन् गर्न पाउँछ ? पाउँछ भने उसलाई यो छूट कसले दियो ? किनभने उनीहरु ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ ।’ भन्ने खालको भ्रम छर्दै हिँंड्छन् । जबकि नागरिकता र राहदानी भनेको आफ्नो देश छाडेर परदेश जाँदा चाहिने देशीय अर्थात् कुनै पनि व्यक्ति कुन देशको नागरिक हो ? भनेर चिनारी दिने आधार भने पक्कै हो । अर्थात् कुनै पनि व्यक्ति कुन देशको नागरिक हो ? भनेर चिनाउने आधार भने नागरिकता र राहदानी नै हो । तर जात वा जाति चिनाउने प्रमुख आधार भनेको त सम्बन्धित जातजातिको उत्पत्ति थलो, ऐतिहासिक भूमि, मातृभाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रहन, सहन, चाडपर्व आदि हो । तापनि नागरिकताकै कुरो गर्ने हो भने पनि हाम्रो देशका कतिपय बुढापाकाहरु राज्यबाट बृद्घभत्ता लगायत सामाजिक सुरक्षा पाउने भएपछि हाल बल्ल ९८, ८८, ९६, १०८, ८२, ११० वर्ष टेक्दा भर्खर नागरिकता बनाउँदै छन् ।

जे भए पनि राईकरणबाट मुक्त हुन चाहेका कुलुङ, जेरो, याम्फु, बान्तावा, चाम्लिङ, आठपहरिया, बाहिङ, खालिङ, साम्पाङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायतका किराती जातिहरुलाई रोक्न नसकेपछि अन्तिम अस्त्रको रुपमा राईवाला सरहरुले केन्द्रीय तथ्यांक विभागमा गएर २०६८ को राष्ट्रिय जनगणनामा स्वतन्त्र जातिको रुपमा लेखाएको÷आएको किराती जातिभित्रका १२ वटा जातिहरुलाई कथित् राई जातिभित्रै गाभेर (कुलुङ, जेरो, याम्फु, बान्तावा, चाम्लिङ, आठपहरिया, बाहिङ, खालिङ, साम्पाङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायतका जातिहरुको) अलग्गै रुपमा जातीय स्वपहिचान नआवोस् भनेर कथित् सूचीकृत ५९ जातिको तथ्यांकको आधारमा मात्रै केन्द्रीय तथ्यांक विभागले २०६८ को राष्ट्रिय जनगणनाको विवरण सार्वजनिक गरोस् भनी बिन्तीभाऊ गरेका थिए । यदि केन्द्रीय तथ्यांक विभागले राई यायोक्खाको भनाई मानेर ५९ जातिको तथ्यांक मात्रै सार्वजनिक गरेको भए २०६८ को राष्ट्रिय जनगणनामा एकसय २५ जाति होइन, ५९ जाति मात्रै आउँथ्यो ।
अब अलिकति छलफल गरौं कुलुङ, जेरो, याम्फु, बान्तावा, चाम्लिङ, आठपहरिया, बाहिङ, खालिङ, साम्पाङ, थुलुङ, मेवाहाङ, लोहोरुङ, लगायतका जातिहरु साँच्चै नेपालका अन्य जातिसरह अलग्गै जाति हुन् कि होइनन् त ? भन्ने बारेमा । माथि नै भनियो कि, ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदि जात नभएर नेपाल एकीकरणपछि शासकहरुले दिएको पदवी÷पगरी मात्रै हो । हुन पनि ‘मुखिया’, ‘राई’, मीर सुब्बा, ‘सुब्बा’, ‘देवान’ मात्रै नभएर विचारी, डिठ्ठा, खरदार, सरदार, बैदार, थरी, कारबारी, माथा, करता, गौरुङ, तोहले, पाँचखपन, दशखपन, द्वारे, हुक्के, बैठके, छाते, हुलाकी, सइस, हौदा आदि पदहरुको पनि सिर्जना गरिएको÷भएको थियो । अझ त्यो भन्दा पनि ठूलो हालको ‘प्रधानमन्त्री’ सरहको पद ‘काजी’, ‘चौतरिया’ र ‘मुख्तियार’ पदको पनि सिर्जना भएको थियो भने नेपालको इतिहास हेर्दा फत्तेजङ्ग शाह ‘चौतरिया’, रंगनाथ पौडेल बाहुन ‘मुख्तियार’ र, भीमसेन थापा, अभिमानसिंह बस्नेतलगायतका धेरै मान्छेहरु ‘काजी’ भएका थिए । तर खै किन हो ? तिनका सन्तान दरसन्तानहरुले ‘काजी’, ‘चौतरिया’ र ‘मुख्तियार’ पदलाई जात वा जाति मानेको देखिदैंन ।
हुन पनि त्यो बेलाको प्रशासनिक विभाजन अनुसार खोटाङको रावा–राखाको तत्कालीन ‘राई’ भूपालसिंह ज्यमीको घरमा गरिएको ‘९९ सय’को घरायसी राजीनामा कागज (जग्गा किनबेचको) मा, जुन कागज विक्रम संवत् १९९६ मा तमसुक गरिएको छ, उक्त कागजमा के लेखिएको छ भने, त्यो बेला ‘राई’ पद पाएका व्यक्तिहरुले पनि हाल प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रधान सेनापति, प्रहरी महानिरिक्षक आदि पाएका व्यक्तिहरुले झैं नामको अगाडि ‘राई’ लेख्थे÷लेखेको भेटिएको छ । अर्थात् रावा–राखाका तत्कालीन ‘राई’ भूपालसिंह ज्यमीको पनि नामको अगाडि नै आगे ‘राई’ भूपालसिंह ‘ज्यमी’ लेखिएको छ भने साक्षी बस्नेहरुको भने नामको अगाडि ‘राई’ नै लेखिएको छैन । हुन त यो ‘राई’ पद पनि सानो ठूलो हुन्थ्यो । अब तपाई आफै भन्नोस् त ! यदि राई जात वा जाति हो भने त नामको पछाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने त्यो बेलाका रावा–राखाका राईको पनि नामको पछाडि भूपालसिंह ‘राई’ लेख्नु पर्ने होइन र ?
त्यसो त डोरबहादुर विष्टले आफ्नो किताब ‘सबै जातको फूलबारी’मा लेखे अनुसार २०२१ सालको भूमि सुधार ऐन लागू हुँदा कतिपय राईहरु नै खुशी भए । किनभने ठूला राई होस् वा साना राई, घरधुरीको आधारमा नभएर सबै राईहरुले केन्द्र सरकारलाई बराबर कर बुझाउनु पथ्र्यो । यसले गर्दा साना राई अर्थात् थोरै भूमि वा कम एरियाको राई भई खाएका राईहरुलाई मर्का पथ्र्यो । त्यसै अब राई सर÷राईनी म्याडमहरु आफू राई वा गाई जे भए पनि हुनु, किनभने त्यो उहाँहरुको आत्मनिर्णयको अधिकार र मानवअधिकार पनि हो । तर कुलुङ, जेरो, याम्फु, बान्तावा, चाम्लिङ, आठपहरिया, बाहिङ, खालिङ, साम्पाङ, थुलुङ लगायतका किरातीहरुलाई पनि आ–आफ्नो जातीय स्वपहिचानले चिनिन दिनू ! पढालेखा छौं, तर्क गर्न सक्छौ, हामीले भनेको जसले पनि पत्याउँछ भन्दैमा ‘गुईये तर्क’ अर्थात् जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुसतेमा समेतर राई छ । भन्दै नहिँड्नू !? राई सर÷राईनी म्याडमहरुलाई चेनता भया !

(इसमता डटकम Esamata.com बाट साभार )

Facebook Comments

सम्बन्धित

Leave a Comment