फोरम नेपालका केन्द्रीय नेताहरुलाई प्रहरी हिरासतमा यातना

भैरहवा ३०, फागुन । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेताहरुलाई प्रहरीले हतकडी लगाएर हिरासतमा यातना दिएको छ । रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डे र स्थानीय युवाहरुले फोरम नेताहरुलाई हतकडी लगाएर प्रहरी हिरासतमा यातना दिएको खुलासा भएको छ ।

फोरम नेपालका केन्द्रीय सदस्य बसीउद्दीन खाँ, जिल्ला सदस्य नजाबुद्दीन मुसलमान,  राजकुमार यादव र जमाल खाँलाई प्रहरीले गैरकानूनी ढंगले यातना दिएको हो । एमालेको मेची–महाकाली अभियानको बेला मधेशी मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रहरीले फोरम नेपालका नेताहरुलाई आइतबार पक्राउ गरेको थियो ।

मोर्चाका ती चार जना नेता जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन् । आफ्ना नेताहरुलाई प्रहरीले पक्राउ गरी यातना दिएको विरोधमा मोर्चाले आन्दोलनको तयारीमा जुटेको छ ।

रुपन्देहीका डिएसपी पाण्डे र उनले बोलाएका गैरमधेशी स्थानीय युवाहरुको समूहले हतकडीमै रहेका चार जना नेताहरुलाई जिप्रकाको प्रतिक्षालयमा निर्घात कुटपिट गरिएको संघीय समाजवादी फोरम नेपालका रुपन्देही अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।

‘पहिले रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डे आफैले प्रतिक्षालयमा निर्धात कुटपित गरे । त्यसपछि सरोज पुन लगायत भैरहवाका केही गैरमधेशी युवाहरुलाई बोलाई डिएसपी पाण्डेले कुट्न लगाएका थिए’– रुपन्देही मोर्चाका संयोजक समेत रहेका यादवले बताए ।

आइतबार सडकमा टायर बालेको देखेर सि.न.पा. ८ बस्ने सरोज पुनले अपशब्द गाली गलौच गर्दै स्थानीय एक युवालाई कुटपिट गरेपछि आक्रोशित स्थानीयले पुनको स्कुटी जलाएको बताइन्छ ।

तर, डिएसपी पाण्डेले फोरम नेता खाँ सहितका नेतालाई अमर्यादित र मधेशी समुदायप्रतिको लक्षित अपशब्द प्रयोग गर्दै नियन्त्रणमा लिई कुटपिट गरेको यादवले बताएका छन् । यादवले स्कुटी जलाईनुमा आफ्ना नेता कार्यकर्ताहरुको कुनै संलग्ना रहेको दाबी गरेको छन् ।

मोर्चा संयोजक यादवले गैरकानूनी ढंगले प्रहरी हिरासतमा यातना दिने डिएसपी पाण्डे र कुटपिटमा संलग्न युवाहरुमाथि कारबाहीको माग गरेका छन् । यसअघि पनि प्रहरीले रुपन्देहीका मधेशी नेताहरुलाई विभिन्न निहुमा पटक पटक पक्राउ गर्दै प्रहरी हिरासतमा यातना दिँदै आएको छ ।

Facebook Comments

Related posts

Leave a Comment