एसएसबिका तर्फबाट गोली प्रहारका सम्बन्धमा सत्यतथ्य अवगत गराओस्

बिचार, राजनीति

केही दिन अगाडि सप्तरी जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट शान्तिपूर्ण विरोध प्रदर्शनमा सरिक भइरहेका जनताहरुमाथि सरकारको तर्फबाट अत्यन्त निर्मम ढंगले गोली प्रहार गर्ने, हत्या गर्ने र घाइते बनाउने काम भएको छ । गोलीकाण्डबाट सप्तरी सञ्जन मेहता, मलेठ –२, पिताम्बरलाल मण्डल, मलेठ–४, वीरेन्द्र मेहता मलेठ –२, आनन्द साह, प्रसवन्नी ४ मृत्यु भएको छ । त्यस्तै गरेर ५ जना गंभीर घाइते भएका छन् । उपचाररत ५ जना मध्ये पनि धरान विपि केआइएसमा उपचाररत एकजनाको मृत्यु भएको खबर आएको छ । पैंतिस जना अरु घाइते भएका छन् ।

म यस गोलीकाण्ड वा सप्तरी हत्याकाण्डको निन्दा एवं भर्तसना गर्न चाहन्छु । सरकारको तर्फबाट सुरक्षाकर्मीहरुले कहिलेकाहीं भीड नियन्त्रण गर्नका निम्ति गोली प्रहार गर्नुपर्ने अवस्थाहरु बन्छन् । यो सबैलाई थाहा भएको कुरा हो । तर गोली प्रहार गर्दाखेरि सुरक्षकर्मी र सरकारको उद्देश्य मान्छे मार्ने होइन, भीडलाई नियन्त्रण गर्ने हुनुपर्दछ । तसर्थ कानुनमा नै व्यवस्था गरिएको छ कि गोली घुँडाभन्दा मुनि हान्नु पर्दछ । तर मृतक र घाइतेहरुको अवस्थालाई हेर्दा सबैको कम्मरभन्दा माथि गोली लागेको हुनु, मृतकहरुको टाउको छ्याल्ल ब्याल्ल हुनेगरी गोली प्रहार गरिएको हुनु अत्यन्त निन्दनीय कार्य हो । यो मानवअधिकार उलंघन हो र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनहरुको उलंघन हो । त्यसो भएको हुनाले यस घटनासँग सम्बन्धी दोषीहरुलाई कारबाही हुनुपर्छ भन्ने म माग गर्न चाहन्छु । यसैगरी मृतकहरुप्रति श्रद्धान्जलि व्यक्त गर्न चाहन्छु । र उनका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

यसैको विरोधको सिलसिलामा आज नेपाल बन्द कार्यक्रम संघीय गठबन्धनका तर्फबाट राखिएको थियो । यो शान्तिपूर्ण विरोधको एउटा रुप हो । यो विरोधको सिलसिलामा संलग्न भएका थुप्रै नेता र कार्यकर्तालाई राजधानी र राजधानी बाहिर पनि गिरफ्तार गरिएको छ । उनीहरुको अविलम्ब रिहाइको निम्ति पनि म माग गर्न चाहन्छु ।

यस्तै गरेर यो देशमा हत्या हिंसाको श्रृं्रखला निरन्तर जारी छ । टीकापुर हत्याकाण्डा वा दुर्घटनाको सम्बन्धमा यो भन्दा अगाडि पनि संसदको ध्यानाकर्षण मैले गरिसकेको छु । त्यसमा गिरफ्तार गरिएका बन्दीहरुलाई रिहाइ गर्नेकाम अहिले पनि भएको छैन । उनीहरु अपराधी होइनन्, उनीहरु दोषी होइनन् । उनीहरु आस्थाका बन्दी हन् , उनीहरु राजबन्दी हुन् भन्ने कुरालाई ध्यानमा राखेर रिहा गरियोस भन्ने पनि माग राख्न चाहन्छु ।

यी सबै घटना वा श्रृं्रखलाका पछाडि संविधानलाई जनअनुकुल र विभेद रहित बनाउने, पहिचान सहितको संघीयता अनुकूलको बनाउने माग कारकको रुपमा रहेको छ भन्ने मलाई लाग्दछ । यी सबै घटना श्रृ्रंखलाहरुलाई सामान्यकरण गर्नका निम्ति संविधानलाई सुधार सहित संशोधन पारित गरेर स्थितिलाई सामान्य बनाउने तर्फ संसदको पनि ध्यान जाओस् भन्ने कुरा म निवेदन गर्न चाहन्छु ।

यस्तो गरेर यो सप्ताह अत्यन्त घटनापूर्ण रह्यो । भरखरै मात्र कञ्चनपुर जिल्लामा भारतीय प्रहरी एसएसबिका तर्फबाट गोली प्रहार भएर एक जना नेपाली नागरिकको ज्यान गएको भन्ने खबरहरु प्रकाशमा आएका छन् । तर भारतीय दुतावासबाट आएको प्रकाशित जानकारीमा त्यस्तो घटना नभएको भन्ने कुरा आएकोबाट एउटा विवादास्पद अवस्था खडा भएको छ । यस सम्बन्धमा सत्य तथ्य के हो भनेर सरकारले तुरन्त संसदलाई अवगत गराओस , नेपाली जनतालाई अवगत गराओस भन्ने पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।

यसप्रकारले आज मुलुकमा जसरी हत्या हिंसाको श्रृ्रखला निरन्तर कायम छ त्यो श्रृंखलालाई रोक्नका निम्ति हामी सबै जिम्मेवार राजनीतिक दलहरु, विशेष गरी संविधान जारी गर्नमा उद्धत रहेको जिम्मेवार दलहरुले गंभीरतापूर्वक ध्यान दिनुपर्दछ भन्ने आग्रह गर्न चाहन्छु । यस्तो स्थितिमा हामी संघीय गठबन्धनसँग सम्बद्ध संसदमा प्रतिनिधित्व गर्ने दलहरु, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दलहरुका सांसदहरु यो संसदको नियमित गतिविधिमा संलग्न हुन नसक्ने व्यहोरा पनि निवेदन गर्न चाहन्छु । – अशोक राई

(संघीय गठबन्धनका तर्फबाट सांसद अशोक राईले संसदमा राख्नुभएको वक्तव्यको सार संक्षेप)

Facebook Comments

Leave a Reply