कविता – स्वाधीनता

अरुणिमा, कविता

– प्रथा

………………
यहि माटोका सहस्र रङहरू टिपेर
धर्तीको मन रङ्ग्याउन थियो !
आधा इन्द्रेणी झारेर
लगाउनु थियो सीमानामा – राष्ट्रीयताको पर्खाल !
तर उफ, रामसाइँला !
यो बेला मन दुखेको हो कि माटो ?
……………

शायद,
नजिकै कतै ढलेको छ
स्वाभिमानी छोराहरूसँगै – देश पनि !
अकस्मात् अस्तायो घाम
र रगत बनेर बगेको छ माटोमा – होलीको खुशी !
कुन दुष्ट हो त्यो
जसले तोकिदियो – यति सजिलै जीवनको मूल्य ?
…………….

चिन्ता नगर प्रिया !
जुन दिन सीमानाभित्र मुस्कुराउँछ – यो देश !
हामी त्यहि दिन खेलौँला
धित मरुञ्जेल – दसगजामा स्वाधीनताको होली !!
………………
२०७३ फागुन २९

Facebook Comments

Leave a Reply