Balaram Timilsina

सप्तरी घटना – सल्केको आगोमा घीऊ नहालौं

बिचार, राजनीति

-बलराम तिमिल्सिना ” बिप्लप ”

भर्खरै एमाले मधेसको भुङ्ग्रोमा खुट्टा हालेर चिच्याउँदै राजधानी फर्केको छ । एमालेको आँखामा अव मधेशी अनुहार अझ बढी आतङ्ककारी लाग्ने छ र उसले यसको बदला लिने चक्रव्युँह रच्न सक्ने छ ।

मधेशमा एमालेलाई सामाजिक बहिष्कार गर्ने घोषणा गर्नेहरू हौसिएर थप अराजकतापूर्ण गतिविधि गरेर दमनलाई पान सुपारी बाँड्न उद्दत हुने परिस्थितितिर देश धकेलिन सक्छ ।

संक्रमणकालको फाइदा उठाउँदै हामीभित्र भारत लगायत छिमेकीहरू आफू खुसी छिरेर स्वार्थ साँध्न सक्छन ।

नेपालको समस्या नेपाली मात्रले हल गर्न खोजेको मन नपराउँने असल छिमेकी देखि लिएर देशमा विद्यमान व्यवस्थालाई दायाँतिरबाट आगो झोस्न उद्दत सामन्तवादका कचराहरू र वायाँतिरबाट बम हान्न उद्दत क्रान्तिकारीहरू को घोषित अघोषित मोर्चा बन्न सक्छ ।मधेशीहरू नेपाली हैनन विहारी हुन भन्न खोज्ने ओलीपथ र मधेश नेपाल होइन अलग हो भन्ने सिकेपथबाट देश अघि बढ्यो भने पुगिने भनेको विखण्डनमै हो।

यो समय कसैले पनि सप्तरीबाट सल्केको आगोमा घीऊ नहालौं ।सवैले आत्म समिक्षा गरौं !

पहिलो आत्म समिक्षा एमालेले गरोस । मधेशीहरूको माग सम्वोधन गर्न भनेर सरकारले ठीक पारेको संविधान संसोधनको विधेयकलाई राष्ट्रघाती विधेयक भनेर सदनमा महिनौं हलो अड्काएर र मधेशीहरूलाई तथानाम गाली गरेर त्यही मधेशमा धमाका धमाससहित जाँदा मधेशीहरूको अभिमानमा आगो वल्छ कि वल्दैन ? एमालेको मेची महाकाली अभियान रुपमा जे भने पनि सारमा त्यो राजनीतिक हिसावले मधेशीहरू विरुध्दको युध्दको घोषणा थियो। मधेशकै भूमिमा धूम धडाका मच्चाएर उनीहरूलाई डिमोरलाइज्ड गर्ने नियतले नै यो सुरु भएको थियो र सप्तरी घटनाको पूर्वानुमान पहिलै गर्न सकिन्थ्यो ।अव एमालेले ठण्डा दिमागले सोच्नु पर्छ र मधेश वारे गरम हैन नरम नीति अख्तियार गर्नु पर्छ ।

मधेशी मोर्चाले पनि सोच्नु पर्छ । संघर्ष र वलिदान सवै वेला सही नहुन सक्छ । सरकारले प्रस्तुत गरेको संविधान संसोधन त पास हुने संभावना लगभग नरहेको स्थितिमा योभन्दा क्रान्तिकारी कदमको आशा गर्नु सदनको अंकगणितले अहिले दिदैन । त्यसैले आफ्ना एजेण्डा सहित निर्वाचनमा जानु अहिलेको उत्तम उपाए हो । देशभित्रको समस्यामा भारतले जतिखेर पनि हात हाल्ने परिस्थिति नवनोस भन्ने कुरामा मधेशी मित्रहरूले ध्यान दिनै पर्छ ।

विद्यमान परिस्थितिलाई पहाडी मधेशी बीचको द्वन्दतिर नजावस भन्ने कुरामा सवै थरि सचेत बन्नु पर्छ । नेपाल र नेपालीका वैरीहरू नेपाली नेपाली बीचमा साम्प्रदायिक भिडन्त होस भन्ने चाहन्छन भने हामी मूलत पहाडी र मधेशी दुवै पक्षले आपसी सद्भावलाई बचाउँन सवै कोशिसहरू गर्नु पर्छ।

(फेसबुक पोस्टबाट ) फागुन २५, २०७३ |

Facebook Comments

Leave a Reply