पूर्ण समानुपातिक स्ववियुका लागि आन्दोलनमा विद्यार्थी गठबन्धन

काठमाडौं, २८ पुस । पूर्ण समानुपातिक स्ववियु निर्वाचनको माग गर्दै आएका विभिन्न आठ वटा विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले बुधबारबाट स्ववियु निर्वाचनको तयारी भइरहेका क्याम्पसहरुमा तालबान्दी सुरु गरेको छ ।
समाजवादी विद्यार्थी फोरम, वैद्य निकट अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी, राप्रविसंघ, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, राष्ट्रवादी विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनको संयुक्त गठबन्धनले हाल त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी नभएको भन्दै रोक्न माग गर्दै आएको छ ।
स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी हुनुपर्ने आफूहरुको मागका सम्बन्धमा त्रिविले छलफल गर्न नचाहेको भन्दै तालाबन्दीमा उत्रनुपरेको समाजवादी विद्यार्थी फोरमका उपाध्यक्ष सुवास लाबुङले जानकारी दिनुभयो ।
बुधबार झापाका मेची बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस लगायत क्याम्पसहरुमा तालाबन्दी गरिएको हो । विद्यार्थी गठबन्धनले मंगलबार घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार बुधबार झापाका क्याम्पसहरुमा विप्लव निकट क्रान्तिकारीले तालाबन्दी गरेको बताइएको छ । त्यस्तै बुधबार नै पोखराको पृथ्वीनारायण क्याम्पस, राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसलगायतमा समाजवादी विद्यार्थी फोरमका विद्यार्थी नेताहरुले तालाबन्दी गरेका हुन् ।
पूर्ण स्ववियु निर्वाचन प्रणालीको माग सम्बोधन गराउन क्याम्पस प्रमुखहरुको कार्यकक्षमा र निर्वाचनका लागि सचिवालय बनेसकेका क्याम्पसहरुमा निर्वाचन सचिवालय कार्यालयमा समेत तालाबन्दी गरिएको विद्यार्थी गठबन्धनले जनाएको छ । माग पूरा नभए माघ २९ गतेदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने गठबन्धनको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

(कमन देवानबाट)

Facebook Comments

Related posts

Leave a Comment