काे हाे प्रेम दिवसकाे आविष्कारक ? (कविता)

अरुणिमा, कविता

        – विक्रम पवन

——————

कसरी बिर्सन सक्यौ अतीत
जुनदिन तिमीले मलाई गम्ल्याङ्ग अंगालो हालेकी थियौ
र टोकेकी थियौ बिहानको कलिलो घामले
फूलहरूलाई नचुम्दै मेरो ओठ ।।
***
को हो प्रेम दिवसको आविष्कारक रु
जो कि सधैँ मेरो दृष्टिबाट बाहिरिन्छ ।।
***
कस्तो छोड्न नसकेको होली उस्ले
मैले नै सिलाएको रातो पेटीकोट
मेरै हातले सिलाएको चौबन्दी र ब्लाउज लगाएर
ठिङ्ग उभिएकि होली कसैको इन्तजारमा
एकथुङ्गा गुलाफको फूल बोकेर
किन उभिएकी होली फेरि त्यहि दोबाटोमा ?
मेरै हातले बनाएको स्यान्डल लगाएर
किन अग्लिन खोज्छे पहाड जसरी ?
कस्ले सम्हाल्ला आधा फुलेको आधा जिन्दगी ?
कसरी ठान्न सकेकी होलि आफुलाई
सगरमाथा भन्दा पनि ठूलो पहाड ?
***
अचेल किन छट्पटी रहेकी छे ?
आधा घाँटी छिनिएको कुखुरा जसरी
किन बगाइरहेकी छे आँखाबाट आँसु ?
किन यसरी कमजोर बनाउदै छे आफुलाई ?
***
तल्ला घरका
मिजार दाइले बनाएको हिल जुत्ता लगाएर
पट्पट् फुटेका कुर्कुचा छोप्दैमा
किन सोचेकी होली आफुलाई मोनालिषा ?
मैले सिलाएको कलेजी गाउन लगाएर
किन ठानेकी होली आफुलाई विश्व सुन्दरी ?
एकदिन उस्को यस्तै घमण्डले
बैँसालु यौवनका फूलहरूले आत्माहत्या गर्नेछन्
जस्तो कि जिन्दगी जिन्दगी जस्तो नभएपछि
घामले पनि प्रत्येक दिन आफुलाई आत्महत्या गर्छ ।।
***
कुनै दिन म उसैको अंगालोमा थिएँ
उ मेरै अंगालोमा लप्पक थिइ
मेरा औँलाहरू उस्को प्रत्येक अंग अंगमा पुग्थ्यो
र बेर्थी मधहोसमा लहराले जस्तै
जस्तो कि पिपललाई वरको जराले बेर्छ ।।
***
आज त्यहि दोबाटोमा
अरू कसैको व्यग्र प्रतिक्षामा होली
मनभित्र रंगिन अभिलाषाहरू बोकेर ।।
***
त्यो त्यहि सुन्दरी हो जो कुनैदिन
मेरो तस्बिर नहेरी निद्रा लाग्दैन भन्थी
र भन्थी प्रेमले जात रोज्दैन
जस्तो कि भोकले बासी भात भन्दैन
लासले मसानघाट भन्दैन ।।
***
प्रेम दिवसकै दिन भनेकी थिई
गुलाफको रातो फूल दिदै आइ लव यु मेरो ज्यान
म तिम्रो जिन्दगी हुँ र तिमी मेरो जिन्दगी हौँ
वाह कत्रो डाइलाग थियो उस्को
थाहा थिएन केही रातो चिज खतरा हुन्छ ।।
***
त्यसपछि बिस्तारै बिस्तारै
नपत्याउदो पाराले लुट्दै गई मेरो जवानी
म नजिकिँदै गएँ – उ टाडिँदै गई
म उ विना बाँच्नै नसक्ने भएँ
उ म बिना बाँच्न सक्ने भएर गई
भन्थी शुरू शुरूमा म नङ – तिमी मासु
म बायाँ – तिमी दायाँ, तिमी राम – म सीता
खुब चिल्लो घस्ति त्यतिबेला
जबकि उ त्यतिबेला बेसहारा थिई
कोही थिएनन् माया गर्ने ।।
***
मलाई छोड्छु भनेर छोडिन
आँखाबाट हटाउछु भनेर हटाइन
मुटुबाट झिकेर ढुङ्गामा बजार्छु भनेर बजारिन
सायद यसरी जिउँदो लास बनाएर जानू अघि
मेरो लास उपहार मागेकी भए
हाँसीहाँसी गरिदन्थेँ मृत्युवरण ।।
***
यतिबेला होसियार हुनु माया गर्नेहरू
यौटा गुलाफको फूल दिँदैमा माया नगर्नू
हात माग्दैमा हात नदिनू तानेर लडाउन सक्छन्
साथ माग्दैमा साथ नदिनू
हुनसक्छ रंगमञ्चमा कलाकारले गर्ने माया जस्तो
विश्वास नगर्नुस् यो युगले पढाएका मानिसको
बरू सक्नु हुन्छ मलाई पढेर पाठ सिक्नुहोस्
तपाईंहरूलाई बाँच्ने आधार मिल्ने छ ।।
***
हो मैले नै सिलाएको हो
आज उनीले लगाएको लेहेङ्गा
माझघरका सुनार दाइले बनाएका हुन् औँठी
क्या सुन्दर देखिएला बाहिरी सुन्दरता
तिमी पग्लिन सक्छौ जसरी आगोले घ्यू पगाल्छ
प्रिय बन्धु हो यो सम्झनू कि
मान्छेको बाहिरी सुन्दरता सुन्दरता हैन ।।
***
ओ प्रेम दिवस म फेरि गल्ती दोहोर्याउदिनँ
मलाई यो समाजको के भरोसा ?
यो जीवन त्यति सस्तो पनि छैन
जती सस्तो छ बजारमा मुला
किन यति साह्रै बिक्रियौ तिमी ?
अचेल तिम्रो यौवन सब्जीमा साटिन्छ रे ।।
***
बरू म ढुङ्गालाई माया गर्छु
माटो, खोला, झार, पातलाई माया गर्छु
मलाई यिनीहरूले कहिल्यै नछो भनेनन्
जसरी मलाई यो समाजले अछुत सम्झन्छ ।।
***
मैले तिम्रै विश्वासमा
एक थुङ्गा फूल दिएर माया गरेँ
त्यो माया बालुवामा पानी जस्तै भयो
खहरेले पाखा बगाएर मरुभूमि बनाए जस्तो
भत्काएर गयौ यो पहाड जस्तो छाती
त्यसै दिनदेखि हो स्पर्श गर्न छाडेको खोलाले पनि
तिम्रै ओठ जस्तो किनारालाई ।।
***
प्रेम दिवस १ म त्यही युवक हुँ
कुनै दिन मलाई देख्ने बित्तिकै तरुनीहरूले
रातो गुलाफको फूल लिएर आउँथे
र भन्थे तिमी मेरो मुटु हौ
जो सधैँ बाँच्नकै लागि धड्कन्छ ।।
***
लाग्थ्यो मलाई पनि म उनकै मुटु हुँ
लाग्थ्यो म उनकै लागि जन्मेको रहेछु
उनी मेरै लागि जन्मेकी रहेछिन् जस्तो लाग्थ्यो
तर जिन्दगी सोचे जस्तो नहुँदो रहेछ
मेरो मुटु भन्नेले नै छोडि दिएपछि
आफ्नै मुटुले पनि बेस्सरी हान्दो रहेछ छातीमा
लाग्दो रहेछ खोला यौटै गतिमा नबगेजस्तो ।।
***
त्यही बाटोबाट सुरु भएको थियो मेरो प्रेम
र त्यही दोबाटोमै पुगेर टुङ्गिएको थियो प्रेमको यात्रा
त्यहि दिनदेखि छुट्टाछुट्टै भएका हुन्
हामी हिँड्ने बाटो र हामी घुम्ने सहर ।।

(बेथान -४, रामेछाप)

Facebook Comments

Leave a Reply