स्वस्थानी कथाको रहस्य

बिचार, समाज

डा. कविताराम श्रेष्ठ

माघ महीनाभरी स्वस्थानी कथा बडो भक्ति र उत्साहकासाथ नेपालमा पढिइन्छ । यसको महात्म्यको गुण गाइन्छ । सजधजकासाथ यसको ब्रत हुन्छ । त्यस्तैगरी सांग्य विधि अपनाइन्छ । यीनका धार्मिक पक्षको महत्ता आफ्नै ठाउँमा छ । म त्यो कुरो गर्न गइरहेको छैन । यसका कथाले संस्कृतिक इतिहासका दुइवटा महत्वपूर्ण कुरा संकेत गरिरहेको छ- यहाँ म त्यो कुरा गर्न गइरहेको छु ।

पहिलो कुरो : स्वस्थानी कथामा शीवजीको कथा प्रथम नायकको रुपमा प्रस्तुत भएको छ । उनी नन्दी, भृंगी, भूतप्रेत,  पिसाचका मालिकका रुपमा प्रस्तुत छन् । उनी नांगा जंगली असभ्य देखिइन्छन् र आर्य समाजमा यति तिरस्कृत देखिन्छन्  कि कन्यासम्म नपाउने स्थतिमा हुन्छन् । उनी असुर अर्थात् अनार्यहरूबाट त पूजिइन्छन् तर सूर अर्थात आर्यहरुबाट पूर्णत: अस्वीकृत र बहिष्कृत छन् । अन्तत: उनलाई ठूलै संघर्षपश्चात उद्भव भएको समावेशी धर्महरू (वैष्णव, शैव र शाक्त धर्म) समेतको हिन्दुधर्मका देवकोटीमा ल्याइन्छन् । यस कथाले प्रकारान्तमा हिमवतखण्डमा पश्चिमतिरबाट प्रवेश गरेका यज्ञसंस्कृतिका अनुयायी आर्य र यतैका स्थानीय आदिबासी हरू (नाग, सर्प, किन्नर, निषाद, व्याधा, ब्रात, किराँत, कुलाल) बीचको युगौंको सांस्कृतिक संघर्षको ऐतिहासिकतालाई पुष्टि गर्दछ । युगौंको संघर्षबाट शिवधर्मको उत्कर्ष कसरी भयो र पुरातन यज्ञसंस्कृति कसरी क्रमश: अनार्यहरूका मूल्य र मान्यतासाथ मिश्रित भई समावेशी हिन्दुधर्ममा परिणत भयो त्यो तथ्यलाई स्पष्ट गर्दछ ।

दोश्रो कुरो : स्वस्थानी माताको प्रसंग र शक्तिपीठको स्थापना । भनिएको छ दक्षका छोरी सतिले आनार्य शिवलाई वरण गर्दा उनीहरूको ठूलै अवहेलना हुन्छ । दक्षले एक यज्ञमा शिव र सतिलाई नबोलाई ठूलो यज्ञको योजना गर्दछन्  र असन्तुष्ट सति त्यहाँ पुग्दा पिता दक्षले शिवलाई असभ्य, असंस्कृत, कुजात जंगली देवको  रूपमा निन्दा गर्छन्  । सो निन्दा सहन नसकी सतिले त्यसै यज्ञकुण्डमा हामफालेर आत्महत्या गर्दछिन्  । फलस्वरूप महादेवका गणले त्यस यज्ञ र यज्ञमा सहभागी सबैको पूरै संहार गर्दछन्  । आर्यहरूले त्राहिमाम भएर महादेवलाई त्रीदेवको दर्जामा स्विकार्छन्  । तर महादेव भने पत्नीवियोगमा पागलसरी मृत शरीर बोकेर यत्रतत्र हिँडन लाग्दछन्  । सतिको शरीर कुह्येर ठाउँठाउँमा झर्दछन् । जहाँजहाँ ती झरे तीती ठाउँमा महादेव र उनका शक्तिस्वरूपा देवीको उत्पति हुन्छन्  र ती सबै ठाउँमा शक्तिपीठको स्थापना गरिन्छ । यो कथाले स्पष्ट यज्ञ संस्कृतिका आर्यहरूमाथि आदिबासी अनार्यहरूको अन्तिम विजयलाई संकेत गर्दछ । साथै यस संघर्षमा सहादत हुन पुगेका सतिको अंगहरूकै नाममा हिमवतखण्डभरी शक्तिपीठ स्थापना गरी यिनले बाँधेका क्षत्रमा आफ्नो वर्चस्वको झण्डा फहराएको संकेत मिल्दछ । उल्लेख्य यो छ कि स्वस्थानी मातालाई शिवशक्तिको रूपमा चित्रित गरिएको छ र यी त्रिदेवभन्दा उच्च र शक्तिशाली देखिन्छन् । यसबाट स्पष्ट हुन्छ आर्य र अनार्य संस्कृतिको संघर्षको परिणामस्वरूप स्थापना हुन पुगेको समावेशी हिन्दुधर्ममा अनार्यहरूको मत्रिसतात्मक मूल्य पूर्णरुपेण हाबी भएको छ । साथै ती देवीलाई “स्वस्थानी” अर्थात् स्थानीय देवी भन्नमा पनि स्थानीय आदिबासीहरूकै स्थानीय देवीलाई शिवशक्ति स्वरूपमा तादात्म गरिएको स्पष्ट हुन्छ ।

उपरोक्त मेरा दुइ भनाइहरूका अधार हो- शिवजी एक अनार्य देव थिए र पछि समावेशी हिन्दुधर्मको उत्कर्ष हुँदा महादेव अर्थात देवहरूको पनि देव महादेवको रूपमा स्थापित हुन पुगे.  यसैको सन्दर्भमा निम्नानुसार प्रमाणहरुसमेत विवेचना गर्न चाहन्छु । सारमा मेरो लेखको आशय यही रहेको छ कि शिवजी आर्य र अनार्य सभ्यताका मिश्रणका प्रतीकात्मक विन्दु हुन् ।

शास्त्रहरूका आधारमा बिबेचना :

वैदिककालको अन्त्यसम्म शैवधर्म भन्ने कुनै धर्म थिएन । शैव सम्प्रदायको केही झलकसम्मको संकेत भने वेदहरुमा पाइन्छन् । शैव धर्म वैदिक धर्मको एउटा शाखाको रुपमा प्रतिपादित भएर आएको छ र यसको कुनै व्यक्ति प्रतिपादकको रुपमा छैन । यस मतका प्रमुख देवता शिव हुन् र शिवकै नामबाट यसको नाम शैवधर्म भएको हो । अतः शैव धर्मको उद्गम खोज्न शिवकै पछाडि लाग्न पर्ने हुन्छ ।

पौराणिक युगमा हामी जुन शिवलाई पाउँछौं उनको प्राचीनतम रुप त्यो बेखिन्न । अर्थात् पुराणहरुका शिव अति नै मान्य प्रभावशाली र उच्चकोटीका देवता देखिन्छन् भने वेदहरुमा त्यो स्थान उनका लागि किन्चित देिखंदैन । ऐतिहासिक क्रमलाई हेर्दा उनको यो उत्कर्ष वेदहरुभन्दा पछि उपनिषददेखि शुरु भएको देखिन्छ ।

सवैभन्दा प्राचीन ग्रन्थ ऋगवेदमा आदिदेखि अन्तसम्म शीव भन्ने देवताको उल्लेख नै छैन । ऋगवेदका मध्यम श्रेणीका देवता “रुद्र” नै कालान्तरमा “शिव” हुँदै गएको विभिन्न ग्रन्थहरुले प्रमाणित गर्दछ । त्यसैले शिवको उत्पति खोज्दा हामीले रुद्रको नै प्रथमतः अध्ययन गर्न जरुरी छ ।

सम्पूर्ण ऋगवेदमा रुद्रका लागि तीनवटा मात्र पूर्ण सूक्तहरु उपलव्ध छन् । (राहुल सांकृत्यायन-  रिगवैदिक आर्य, १४।६ १५।७ १५।५८) यसदेखि बाहेक केही सूक्तहरुमा रुद्रलाई अरु देवताहरुका साथमा स्तुति गरिएको छ । यसरी उनका नाम प्रायः ७५ पल्ट आउँछ । (पिए मेकडानलाल्ड- वेदिक मिथोलोजी) । यी सूक्तहरुमा रुद्रलाई मरुतहरुसँगै भएको वर्णन गरिएको छ । उनका उज्ज्वल वाणहरुद्वारा दोपाया तथा चौपायालाई भेदन नगरियोस् भनेर प्रर्थना गरिएको छ । यी सूक्तहरुले रुद्रलाई आकाशमा गर्जदै र चिच्याउँदै उडी िहंड्ने देवताको रुपमा वर्णन गरेका छन् । यिनै सूक्तहरुका आधारमा विभिन्न विद्वानहरुले रुद्रका उत्पति बारेमा एकै किसिमका मतहरु पेश गरेका छन् जसलाई तल विश्लेषण गरिएको छ ।

ऋगवैदिक आर्यहरु इन्द्र, अग्नि, सूर्य, बरुण, उषा, आदि प्रकृतिपूजक थिए । प्राकृतिक तत्वहरुलाई मानवीकरण गरेर उनीहरुले वेदका रचना गरेका थिए । ती सूक्तहरु अति नै भावुक थिए । भावुक ऋषिहरुले विहानको रमाइलो सुखमय वातावरणमा सुन्दरी रमणी देवी “उषा”को कल्पना गरेका थिए भने प्रकृतिका अति भयानक र ध्वंसात्मक पक्षहरुमा डरलाग्दो र क्रूर “रुद्र”को कल्पना गरेका थिए । (विजि भण्डारकर- वैष्णविज्म शैविज्म एण्ड अदर माइनर रिलिजन्स) ।

आर्यहरु उत्तरका ठण्डी प्रदेशबाट मनसूनी क्षत्रमा आएका थिए र अनुकूल वातावरणको निमित्त प्रथमतः उनीहरु हिमालय प्रदेशतिर नै बसे । त्यता डरलाग्दो मनसूनी आँधीबेरी, हिमपात, वर्षात र बज्रपातको सामना उनिहरुले गर्न पर् यो । यही उत्पातहरुमा उनीहरुले रुद्रको कल्पना गरेको स्पष्ट हुन्छ । ऋगवेदका केही सूक्तहरुमा रुद्रलाई “मरुत” अर्थात् “वायुदेव”सँगै स्तुति गरिएको छ । मरुतहरुकै कारणबाट भयानक आँधीव्यारी हिमपात, घोर वर्षा र बज्रपात हुने प्रकृतिलाई हेरेर रुद्रलाई बायुदेवसंग कल्पेको हुन सक्छ । रुद्रका वाणलाई उज्ज्वल भनी वर्णन गरिएको छ । यसको संकेत बज्रपात हुँदा चम्कने बिजुलीतर्फ हो भन्ने बुझिन्छ ।

ऋगवेदमा रुद्रलाई “गिरित्र” अर्थात पहाडमा वस्ने र “गिरीश” अर्थात पहाडका मालिक भनिएको छ । यो पहाडि आदिबासीजातीको इष्टदेव हुनुको संकेत त हुँदै हो साथै प्रतिकात्मक रुपमा यसको संकेत बादलतर्फ छ भन्न सजिलो पनि छ किनकि बादल प्रायः पहाडमा नै बसेको प्रतीत हुन्छ र बादलबाट नै बज्र हानेको प्रतीत हुन्छ, जुन कुरो ऋगवेदका सूक्तहरुमा बारम्बार आउने रुद्रका उज्वल वाणको प्रतीक हुन सक्छ ।

रुद्रलाई “कृष्ण वस्त्रधारी” अर्थात कालो लुगा लगाउने, “कपर्दिन” अर्थात जटाधारी, “कल्पलिकिन” अर्थात धपधप बल्ने, “दिवो वराह” अर्थात “आकाशका बनेल” आदि नामले पनि स्तुति गरिएको छ । यी सवै नामको संकेत बादलतिर नै हुन सक्छ । बादलको कालो रंगलाई रुद्रका कालो लुगाको कल्पना गरिएको हुनसक्छ । छरिएका कालाकाला बादललाई हावामा उडिरहेका रुद्रका जटा मानेका हुन सक्छन् । काला काला बादलबाट बिजुली निस्कने हुनाले नै उनलाई “कल्पलिकिन” (धपधपी बल्ने) भनेका हुनसक्छन् । साथै आकाशमा गर्जदै उडी िहंड्ने खैरो कालो रंगको बादलको गर्जना भनेर तीनै बादलका कारणबाट उव्जने चट्याङ्गका गर्जनालाइ तादात्म गराएका हुन सक्छन् । (डा. यदूशंकर- शैविज्म) यी सबका अतिरिक्त “रुद्र” शब्द नै बादलको गर्जनाको अर्थबाट सिर्जिएको हुन सक्छ किनकि रुद्र “रु” धातुबाट बनिएको छ र जसको अर्थ “गर्जनु” हुन्छ । (पिए मेकडानलाल्ड- वेदिक मिथोलोजी) । साथसाथै त्यसै ठाउँमा र केही अरु अथर्ववेद, तैतरीय संहिता र सतपथजस्ता ग्रन्थहरुमा पनि रुद्रलाई अग्निसँग तादात्म्य गराइएको छ । (म्याक्समुलर सेरिज, द स्याक्रेट बुक अफ द इस्ट) । अर्थात् अग्निलाई नै रुद्रको रुप पनि भनिएको छ । आकाशबाट खसेको बज्र-बिजुलीले पृथ्वीमा आगो लगाउँदछ । अर्थात आगोको रुप लिन्छ । त्यसैले अग्निसँगको तादात्म्यलाई हेर्दा त्यो संकेतले चट्यांगलाई नै रुद्र भन्न सजिलो पर्छ । (पिए मेकडानलाल्ड- वेदिक मिथोलोजी) ।

आर्यहरु पश्चिमबाट आएर सिन्धुघाँटी तथा गंगाको मैदानको मनसुनी क्षेत्रमा बस्दथे र खेतीपाती र पशुपालन गर्दथे । पहाडको टुप्पाको नजीक चम्कँदै गर्जेर उडी हिंड्ने बादलले वर्षा हिमपात र बज्रपातका साथै डरलाग्दो आँधीव्यारी भेल र पैरो पनि चलाएको उनिहरुले देखे । यही ध्वंसात्मक प्रकृतिमा उनीहरुले भयानक र क्रूर रुद्रलाई देखे र पहाडका फेदीमा बस्ने दोपाया र चौपायाको कल्याणको निमित्त उनीहरु रुद्रको स्तुति गर्दथे । (विजि भण्डारकर- वैष्णविज्म शैविज्म एण्ड अदर माइनर रिलिजन्स) । रुद्रलाई ती सूक्तकर्ताहरुले बादल बिजुली आँधीव्यारी र हिमपातको रुपमा विध्वंसक मात्र नभई कल्याणकारीका रुपमा पनि हेरेका छन् । (राम दास गौड – हिन्दूत्व) ।

यसमा शंका छैन बादल बिजुली आँधीव्यारी र हिमपातको रुपमा रुद्र वर्षा सम्बन्धी देवता देखिन आउँदछन् । त्यसमा पनि रुद्रको एउटा नाम “वृष” पनि छ । वृष नाम विद्वानहरुका बीचमा निकै ठूलो विवादको विषय भएको छ । किनकि यही “वृष” अर्थात “गोरु” पुराणहरुमा आएर रुद्र शिवको वाहनको रुपमा देखिन्छन् । वृष शब्दको शाब्दिक अर्थ “वर्षयिता” पनि हुन्छ भनेर केही विद्वानहरुले भनेका छन् । साथै यसको अर्थ “गोरु” पनि हुन्छ । (डा. यदूशंकर- शैविज्म) ।

रुद्रलाई प्रथमतः “वृष” भन्नुको तात्पर्य “वर्षयिता” नै थियो भन्नमा अत्युक्ति हुँदैन । अन्यथा वृषलाई प्रजनन् शक्तिको प्रतीकको रुपमा लियौं भने पनि यो समस्याको सजिलै हल हुन सक्छ । रुद्र वर्षयिता हुन् । वर्षाले झारपात जडिबुटी घाँस फलफूल उमार्दछ र वर्षायाममै प्राणीहरुको प्रजनन् शक्ति बढ्दछ । त्यसैले धेरै ठाउँमा आफ्ना र पशुहरुका सन्तान वृद्धिका लागि रुद्रलाई प्रार्थना गरिएका छन् । उनको नाम “पशुपति” अर्थात पशुहरुका मालिक प्राणी मात्रका पालनकर्ता पनि भनिएको छ । उनी जडिबुटी उब्जाई दिन्छन् र स्वच्छ स्वस्थ र शीतल हावा बहाई दिन्छन् । त्यसैले उनलाई “महाभीषक” अर्थात “महान वैद्य” पनि भनिएका छन् । पशुपति र महाभिषक दुवै नाम प्रजननसँग सम्बन्धित छन् । त्यसैले उनी “वृष” हुन् ।

गोरुले खेत जोत्छ यस अर्थमा गोरुको कृषि कार्यमा ठूलो भूमिका छ । गोरुले वस्तुको संख्या पनि बढाउँछ । दुवै अर्थमा गोरुलाई प्रजननको प्रतीकको रुपमा लिन सकिन्छ । गोरुको पुंसकत्व र बलवीर्यका आर्यहरुमा राम्रै परिचय भएको थियो । अतः पौराणिक आर्यहरुले पुंसकत्वको प्रतीक गोरुलाई शिवका वाहन बनाई दिए (डा. यदूशंकर- शैविज्म) … अर्थात् रुद्रका कल्याणकारी व्यक्तित्व वृषमाथि सवार भएर कार्यरत छन् ।

यही व्यक्तित्व िलंगपूजामा विकसित भएको पनि बुझिन्छ । प्रजननका कारण मुख्यतः लिङ्ग हो त्यसैले संसारका प्रजननकर्ता शिवलाई लिङ्गरुपमा पूजा गरिनु स्वाभाविक भयो । यसरी हामी ऋगवैदिक कालका आकाशका वर्षासम्बन्धी भयंकर अति क्रूर विध्वंसक रुद्रबाट अति कल्याणकारी प्राणीहरुका पालनकर्ता पौराणिक शिवसम्म आइपुगेका छौं ।

रुद्रका कल्याणकारी पक्षको संकेत ऋगवेददेखि नै भइआएको बुझिन्छ तापनि रुद्रका लागि “शिव” नाम उपनिषदमा आएर मात्र उजागर हुनेगरी प्रयोग भएको देखिन्छ । यद्यपि उपनिषद् भन्दा अगाडि पनि “शिव” भन्ने शब्द रुद्रका लागि पहिलोपल्ट युजर्वेदको शतरुद्रीयमा उल्लिखित नभएको चाहिं होइन । उल्लेखनीय यो छ कि त्यो नामको रुपमा नभई विशेषणको रुपमा प्रयोग गरिएको छ । त्यस युगमा दिइएको विशेषण उपनिषद्कालमा आएर मुख्य नामकै रुपमा प्रयोग भएर उनका वैदिक नाम “रुद्र” उपनामको रुपमा परिणत भयो । यसै कालमा रुद्रलाई सृष्टि, पालन र संहार तीनै कार्यका कर्ता महान् देवता “महादेव”का रुपमा पूजा गरिन लाग्यो । अर्थात् ऋगवैदिक मध्यमश्रेणीका देवता रुद्रले यस कालमा “ब्रह्म”को स्थान पाए । (डा. यदूशंकर- शैविज्म) । रुद्रको यो उत्कर्ष सजिलैसँग भएको छैन । बेलाबेला ठूलाठूला संघर्षहरु भएका कुराहरु इतिहास शिलालेख र ग्रन्थहरु प्रमाण दिन्छन् । यी संघर्षहरु शिव स्वयंका नभई उनका भक्तहरुका थिए । स्वस्थानी ब्रतकथाका सम्पूर्ण कथा यसैमा केन्द्रित छ ।

ऋगवेदमा रुद्रको उल्लेख भएतापनि यीनलाई आर्यहरुले “विजातीय देव” अर्थात “आर्येतर देव” मानेका थिए । उत्तर पश्चिमबाट आएका आर्यहरु जब हिमालय प्रदेशमा बस्न आए त्यस कछाडमा उनीहरुले मनसूनी जलवायुका कारण ठूलाठूला आँधिव्यारी हिमपात, वर्षा, भेल, पहिरो, चट्यांग, आदिको सामना गर्न पर् यो । यस प्राकृतिक क्रूरताका पछाडि स्थानीय देवको कोपको कल्पना उनीहरुले गरे । उनीहरु अरुका भूमीमा आएका थिए । त्यस भूमीमा बस्नकोलागि राजनीतिक र सांस्कृतिक सम्झौता त गर्नै पर्थ्यो । यसर्थ उनीहरुले आफ्ना देवहरुका मध्येमा ती स्थानीय देवलाई राखी प्रार्थना गर्न लागे । आर्यहरुले यस स्थानका वासिन्दाहरु माथि राजनीतिक विजय प्राप्त गरेथे । अतः यताका आदिबासीहरुलाई आफूभन्दा नीच जाति सम्झन्थे । ती जातिका देशमा रहेका देवतालाई उनीहरुले करबलले मध्म श्रेणीमा राखे ।

ब्राह्मणकालको सूत्रपात भएपछि आर्यहरुको प्रमुख देव “इन्द्र” को ठाउँमा “विष्णु” आइपुगेका थिए । यस कालमा यज्ञ “कर्मकाण्ड”को ठूलो महत्ता थियो । ब्राह्मण धर्मग्रन्थहरुमा रुद्रलाई कुनै सम्मान दिइएको छैन । अथर्ववेदको १५ औं अध्यायमा उनलाई “ब्रात्यदेव” अर्थात् “नीच जातिको देव” अर्थात “अनार्य देव” भनिएको छ । (म्याक्समुलर- सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट) ।

महेन्जोदडोको उत्खननबाट प्राप्त भएका सामग्रीहरुबाट स्पष्ट हुन्छ आर्येतर जातिमा भारतमा “लिङ्ग” र “पशुपति” रुप शिवको पूजा हुन्थ्यो । यस उत्खननबाट प्राप्त भएको एउटा तीनमुखे शीरवाला पुरुष भएको बीचको शीरबाट एउटा फूल विरुवा लत्रिएको देखिन्छ । यो उब्जनी वा प्रजननसँग सम्बन्धित देव प्रतीत हुन्छ । (आरसी मजुम्दार- वेदिक एज) ।

यस्तै यहींबाट लिङ्ग स्वरुप चुच्चा चिल्ला चिल्ला धेरै ढुंगाहरु पाइएका छन् जुन प्रजननदेवको अर्का प्रतीक रुप हुनसक्छ । रिगवेदमा दुई पल्ट “शिश्नदेवा” भन्ने वहुवचनसूचक शब्दको प्रयोग भएको पाइन्छ । (राहुल सांकृत्यायन – रिगवैदिक आर्य, १४।६ १५।७ १५।५८) । यसमा शिश्नोपासकहरुलाई टाढै राख भनी ती उपासकहरुलाई वहिष्कार गरिएको छ । यसको तात्पर्य यही हुन्छ कि त्यहाँका आदिवासीहरुमा शिश्न (लिङ्ग) को उपासना चल्दथ्यो ।

महेन्जोदडोमा धेरै किसिमका पुरुष मूर्ति अंकित छाप वा मोहरहरु प्राप्त छन् । यी छापमा प्रायः तीनमुखा सिङ्गसमेतका पहिरनका र योगासनमा रहेका पशुपतिरुप तथा उब्जनी अर्थात प्रजनन् देवको अंकन स्पष्ट हुन्छ । अनार्यका ती शिश्नदेव संभवतः उही उब्जनी देव थिए र रिगवेदका ऋषिहरुले यिनलाई रुद्रका “वृष” रुपसँग तादात्म्य गराए । त्यसैले रुद्र शिवलाई “लिङ्ग” रुपमा पनि लिन थालियो ।

आर्यहरु जब भारतमा आए उनीहरुले स्थानीय आदिवासी अनार्यहरुका संस्कृति बीच अति नै भयंकर स्वरुपको नांगो, तीनआँखे, हात्तिको छाला ओढने, बाघको छाला लपेट्ने, मूण्डमाला धारण गर्ने, सर्पको गहना लाउने, जटाधारी, कालो, पाँचमूखे, स्थनीय देवताका अस्तित्व पाए । उनीहरुले भारतमा आएर भोगेका प्राकृतिक प्रकोपको कारण जुन रुद्रका कल्पना गर्दथे सोही रुद्रलाई उनीहरुले त्यस भयानक देवका मूर्तिमा देखे । ती दुवैलाई तादात्म्य गराएर आर्यहरुले पहिलोपल्ट आफ्नो वेदका “रुद्र”लाई “ब्रात्यदेव”का रुपमा लिन थाले ।

पुराणहरु उल्लेख गर्दछन्- विष्णु असुरहरुका शत्रु र शिवजी प्रायः असुरहरुलाई संरक्षक हुन् । विष्णु सुरहरुका तरफदारी गर्दछन् र शीव असुरका । रिगवेदले एक ठाउँमा रुद्रलाई नै “आकाशका असुर” भनेका छन् / असुर भन्नाले जो सुर अर्थात देव थिएनन् भन्ने बुझिन्छ । (इ डव्लू हप्किन्स- द रिलिजन अफ इण्डिया) । अर्थात् इन्द्रदेवका अनुयायी नरहेका तथा वैदिक तथा ब्राह्मण धर्म अनुरुप आचरण नगर्नेहरुलाई “असुर” भनिन्थ्यो । अतः यस जातिमा दैत्य, राक्षस, नाग, सर्प, किन्नर, निषाद, व्याधा, ब्रात, किराँत, कुलाल, आदि जातिहरु मान्दथे । यी सवै हीमवतखण्ड र भारतवर्षका पूर्ववैदिक आदिजातिहरु हुन् ।असुरहरुलाई अति नै कुरुप भनी वर्णन गरिएको छ । शिवजीका गण पनि अति नै कुरुप भनी वर्णन गरिएको छ । उनका छोरा हात्तीमुखे थिए, शिवजी स्वयं नै नांगो, तीनआँखे, हात्तिको छाला ओढने, बाघको छाला लपेट्ने, मूण्डमाला धारण गर्ने, सर्पको गहना लाउने, जटाधारी, कालो, पाँचमूखे कुरुप देवता मानिएका थिए । दक्ष प्रजापतिले आफ्ना यज्ञमा शिवका कुरुपता असभ्यता र जंगलीपनको घोर निन्दा गरेका छन् । स्वस्थानी कथामा वर्णित उनका गणहरुमा भूत, प्रेत, पिसाच, गन्दर्भ, किन्नर, आदि कुरुप र नंगा गण थिए । यसको संकेत निषाद, व्याधा, कुलाल, आदि द्रविड जातिहरुप्रति प्रतीत हुन्छ । किनभने शतरुद्रीयमा निषाद, व्याधा, कुलाल, ब्रात, कर्माचार, आदि द्रविडहरुलाई “रुद्र” भनी वर्णन गरिएको छ । (म्याक्समुलर- सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट) । अतः यो स्पष्ट हुन्छ कि असुर नै रुद्रगण थिए र जो तत्कालीन ब्राह्मण धर्मका कट्टर शत्रु थिए ।

देवताहरुद्वारा दुराचारी घोषित गरिएका यी असुर तथा रुद्रगणलाई शिव वरदान दिन्थे शक्ति दिन्थे र उनका तरफदारी भएर पनि लडथे । अतः शतरुद्रीयको सोही स्थान रुद्रलाई “स्तेनानाम् पति” अर्थात “चोरहरुका मालिक”, “स्तायुनाम् पति” अर्थात “ठगहरुका मालिक”, “तस्करणाम् पति” अर्थात डाकुहरुका मालिक, आदि भनिएको छ । यो त स्पष्टै छ आर्यहरु अनार्यहरुलाई कहिल्यै सभ्य र सदाचारीको रुपमा लिन तयार थिएनन् । ती शब्दहरु हेय दृष्टिमा प्रयोग भएपनि र नभएपनि यो कुरा स्पष्ट हुन्छ कि रुद्र अनार्य देव थिए । (रामधारी सिंह दिनकर – संस्कृतिका चार अध्याय) ।

आर्यहरुलाई अनार्यहरुका स्थानमा आई बसोबास गर्दा रुद्रको भयानक स्वरुपको भावनात्मक डर मात्र नभई अनार्यहरुको सहयोग र उनीहरुका समुचित व्यवहार पाउन पनि रुद्रलाई उनीहरुका देवमध्ये स्थान दिन राजनीतिक आवश्यकता थियो । रुद्रलाई स्थान ता दिइयो तर उनीहरुका समाजमा ती आर्येत्तर जातिको जुन स्थान थियो सोही स्थान रुद्रलाई आर्यदेवहरुका बीचमा दिए । अर्थात् उनी “अछूत” थिए । यज्ञमा उनलाई बोलाइन्न थियो  (स्वस्थानी व्रतकथा, स्कन्द पुराण) । यज्ञ भाग नै चौबाटोमा छाडिन्थ्यॊ  (म्याक्समुलर- सेरिज द स्याक्रेट बुक अफ अफ द इस्ट) ।

ऋगवेदका क्रूर र भयानक देव “रुद्र” ब्राह्मण कालमा अछूत र अति घृणित देखिए । यसको कारण आर्यहरुमा रक्तशुद्धी सदाचार र राजनीतिक विजयको घमण्ड थियो । अर्कोतिर असुर तथा रुद्रगणको बढ्दो विद्रोहको गतिविधि थियो । तर कर्मकाण्डको यान्त्रिक विधि र अनार्यहरुका बीचमा प्रचलित योगाभ्यासका चमत्कारपूर्ण कार्यकलापले सर्वसाधारण आर्यहरुको आस्था स्वभावतः ब्राह्मण धर्मबाट हट्दै जाँदै थियो र नयाँ मुक्ति मार्गका लागि तिर्खाउँदै थिए । अनार्यहरुका बीच प्रशस्त योगाभ्यासको चलन लियो । योगीहरु आफ्ना अभ्यासद्वारा अनेकौं चमत्कारपूर्ण कार्यहरु गर्थे । यी योगीहरुका बीच कुनै कर्मकाण्ड थिएन । कर्मकाण्ड अति नै कठिन र खर्चालु थियो जसमा ब्राह्मणहरुका अनुचित प्रभुत्व र शोषण थियो । कर्मकाण्डबाट वाक्क भएर उनीहरु योगाभ्यासतिर ढल्कन लागे । (हप्किन्स- द रिलिजनस अफ इण्डिया) ।

अर्थात् नयाँ मुक्ति मार्गको खोजीमा उनीहरु योगाभ्यासको शरणमा आए । यसको फलस्वरुव कर्मकाण्ड र ब्राह्मणहरुको धार्मिक विधि माथिको आधिपत्यमा ह्रास हुन लाग्यो । यो एउटा धार्मिक विद्रोह नै थियो जसमा प्रगतिशील ब्राह्मणहरुको पनि साथ थियो । यी ब्राह्मणहरुले आदिबासी क्षत्रियहरूको साथमा नै औपनिषदिक युगको श्रीगणेश गराए जसमा रुद्र महान आराध्यदेव शिवको रुपमा प्रतिष्ठापित भए ।

शिवको लोकप्रिय पदोत्कर्षको इतिहासमा अर्को एउटा यस्तो पुस्ताको पनि ठूलो हात छ जो “ब्रात्यआर्य” अर्थात “ठीम्सो आर्य” थिए । त्यो पुस्ता आर्य पिता र अनार्य माताका रावणहरु जस्ता सन्तान थिए । आर्यहरु अनार्य स्त्रीहरुलाई पत्निका रुपमा घरमा राख्दथे । उनीहरुबाट सन्तानोत्पत्ति पनि गर्दथे । ती सन्तान वस्तुतः आर्यहरुभन्दा मुनि र अछूतभन्दा माथिका ब्रात्य ठेम्सा भनिन्थे ।

पुराणमा ऋषिपत्नीहरुले नांगो शिवका लिङ्गदेखि कामोत्तेजित भएर महादेवका पछि लागेको र ऋषिहरुले आफ्ना पतिता स्त्री र महादेव दुवैलाई श्राप दिएको वर्णन पाइन्छ । यसवाट स्पष्ट हुन्छ कि ऋषिपत्नीहरुको स्वाभाविक आस्था शिवभक्तिप्रति थियो र आफ्ना आराध्यदेव शिवोपासनामा उनीहरु पागल थिए । (रामधारी सिंह दिनकर- संस्कृतिके चार अध्याय) । ऋषिहरुको लागि यो असह्य थियो । यीनै आर्य पिता र अनार्य माताका सन्तानहरु विष्णोपाषक र शिवोपासकका मध्यस्थ भए जसको फलस्वरुप कट्टर ब्राह्मणहरुले आफ्नो दृढतामा केही खुकुलोपन ल्याए र शिवलाई “ब्रात्यस्तोम”को विधिबाट चोख्याई पहिलोपल्ट आफ्ना देवहरुको बीचमा विष्णुभन्दा मुनी मान्यता दिंदै कर्मकाण्डका कट्टरतामा केही खुकुलोपन ल्याए । (राधाकृष्ण चौधर- व्रात्यज अफ एिन्सएन्ट इण्डिया) ।

यसरी “ब्राह्मण धर्म”ले काँचुली फेरी “वैष्णव धर्म”को रुपमा औपनिषदिक युगमा पाइला चाल्यो । कर्मकाण्डकॊ लोकप्रियता कम भएर जानु र औपनिषदिक युगको सूत्रपात हुनु ब्राह्मणहरुका कट्टरता र अनार्यहरुका उदारताकै प्रतिफल थियो । ब्राह्मणहरु आफ्ना आराध्यदेवलाई अरु बिजातीबाट चोखै राख्न चाहन्थे । तर अनार्यहरुमा यसको कुनै अर्थ थिएन । उनीहरुका आराध्यदेव शिव सांसारिक सुख र सभ्यताका प्रतीक यज्ञादि कर्मकाण्डबाट टाढा निर्जन श्मशान हिमालय तथा जंगलमा कहिले भांगधतुरोमा लठ्ठ भएर कहिले योगरत भएर कहिले शिकार खेलेर आफ्ना गणका साथमा रहन्थे । उनका कुनै गोत्र थिएन, जात थिएन, जातीय भाव थिएन र कुनै यान्त्रिक नियमका आदर्श थिएन । वास्तवमा अनार्यहरुका कुनै धार्मिक सन्देश नै थिएन कुनै धार्मिक ग्रन्थ नै थिएन र कुनै धर्म पनि थिएन ।

त्यस कालसम्ममा शिवमाथिको जुन धारणा आर्यहरुले जन्माए थे जुन स्वरुप उनलाई दिएथे त्यसै स्वरुपलाई स्वीकारेर अर्थात् जंगली असभ्य नांगो शिवलाई यथारुप दिएर “सौम्य शिव” को स्थापना गरी प्रगतिशील ब्राह्मणहरु र  क्षत्रिय ऋषिहरुले उपनिषद्हरु लेखे र यी उपनिषद्हरुले नयाँ धर्म दर्शनको सूत्रपात गरे । त्यहाँदेखि नै “शैवमत” अब “शैवधर्म”को रुपमा स्पष्ट हुन आयो । यसपछि पुराण तथा महाकाव्यहरुमा नाग, गन्धर्व तथा यक्षलाई देवत्व प्रदान र शूद्र तथा असुरहरुलाई पनि ठाउँठाउँमा सदाचारी र ज्ञानी अध्यात्मवादीको रुपमा लिइन लाग्यो । यसरी मानव, दानव, सुर, असुर सवै जातिबाट पुजिने एक मात्र देवता शिव अब “महादेव” का रुपमा पुजिन लागे र कालान्तरमा महादेव उनका मुख्य नाम नै भएर प्रतिष्ठापित भयो । यसो भन्न सकिन्छ महादेव आर्य र अनार्यहरुका मिश्रित संस्कृतिका केन्द्रविन्दु हुन् । जुन विन्दुमा आएर युगौंदेखिका राजनीतिक संघर्ष र आध्यात्मिक मान्यताको संघर्षको इति हुन्छ । आर्य अनार्यका संयुक्त मान्यतामा एउटा धर्म शैवधर्मको शुरु हुन्छ । स्वस्थानीको कथाको सम्पूर्ण संदेश यही जगमा आधारित छ । इति  !!

Facebook Comments

Leave a Reply