लक्ष्मण राजवंशीहरु र जातीय पहिचानको लडाइँ

राजमाया पुतवार

एकजना थिए लक्ष्मण राजवंशी । ऊ कुनै बेलामा सत्ताका बारेमा धेरै जान्ने सुन्ने अनि यही जानेसुनेका आधारमा कथा हालिबस्थे । सँधै भन्थे, यो सरकारले नेवारहरुको अस्तीत्वलाई स्वीकारेन, देशमा भाषिक दमन भयो, जातीय पहिचान मेटियो, हामी उठ्नु पर्यो । कथा सुन्ने बानी लागेका नेवारहरुलाई उनी मसिहा जस्ता लाग्थे । श्रद्धाले ओतप्रोत भएकाहरुले उनलाई बनाइदिए “भाषाथुवाः”, अर्थात् भाषाका संरक्षक । आज उनै संरक्षकले नेवारहरुको बचेखुचेको इज्जत पनि मिट्टीमा मिलाइदियो ।

भषिक अधिकार र समानता भनेर आधा दर्जन कथा निबन्धका पुस्तकहरु लेखे, जनतामा चेतनाका लहर ल्याउनेहरुको पंक्तिमा उभिए । सम्मान गर्न लायकका जस्ता देखिए, कहीँ कतै आफ्नो मुक्ति देख्न नसकेका र बत्ती मुनिको अँध्यारोमा टिल्मिलाइरहेका नेवारहरुले उनमा भावभक्ति प्रकट गर्नु स्वभाविक थियो । यहाँ श्रद्धाको के दोष?

हजारौं वर्षको सभ्यता बोकेको र आफुले बसाएको शहरलाई राजधानी भनाएर पनि कहिल्यै आफु नेपाली नागरिक भएको अनुभव गर्न नपाएका नेवारहरुले अब राजनीतिक रुपमा अगाडि जानुपर्ने आवश्यकता देखिरहेका थिए । नेवारहरु राजनीतिक रुपमा सचेत नभएका भए राणाहरुको जहानीया शासनका अगाडि घाँटीमा पासो चढाउन र छातीमा गोली थाप्न तयार हुने चारजना मध्ये तीन जना नेवारहरुकै छोराहरु हुने थिएनन् । तर अर्काको लागि राजनीति गर्दै अर्काको निम्ती सीट मिलाउँदै गणेशमान भएर जानुपर्ने नेवारहरुले अब आफ्नो नै भलाइका लागि एउटा पार्टी खोल्नुपर्ने विचार धेरै पहिले आएर पनि त्यसले मूर्त रुप लिन नसकिरहेको थियो । त्यहाँ पनि नेवारहरुको पार्टी बन्नुपर्छ भन्ने कुरा चल्दा त्यसको घोर घमासान विरोध गर्ने एकजना विद्वान उनै राजवंशी थिए । आज कुरा स्पष्ट हुँदै छ ।

आखिरमा संविधान सभा हुने नै भयो । अवस्था र परिस्थितिले पहिचानका लागि लड्नेहरुको बाटो अलिक खुल्ला भएको देखिँदै थियो । कोही कोहीले हिम्मतै गरेर नेवारहरुका तर्फबाट पार्टी बनाएर संविधान सभाको ढोकाभित्र प्रवेश गर्ने सपनालाई मुर्त रुप दिए । हजार समस्या, कमजोरी र कठिनाइका बाबजुद नेपाः राष्ट्रिय पार्टी संविधान सभाको पार्टीसूचिमा उभिए, एकजना समानुपातिक सभासद्लाई पठाएर । समयको कोल्टे, पहिचानविरोधीहरुको दिन अनि पाहिचानपक्षधकरुहो उँघाइले दोश्रो संविधान सभामा आफ्नो इज्जत जोगाउन गाह्रो भइरहेको अवस्थामा नेपाः पार्टीले धेरै सोच विचार गरेरै होला, उनै राजवंशीलाई आफ्नो पार्टीको एकमात्र सभासद्को रुपमा संविधानसभासम्म पुर्याए । एकै जनाले पनि सभा हल्लाउन सकिन्छ भन्ने विश्वास पहिलेका अमर बुद्ध सायमीले दिएकोले उनीबाट पनि त्यति नै वा त्यो भन्दा बढी अपेक्षा गर्नु अस्वाभाविक पनि थिएन ।

सभासद् बन्ने बित्तिकै “म पार्टीको सदस्य होइन, म पार्टीप्रति जिम्मेवार छैन अनि मलाई पार्टीले किन छान्यो थाहा छैन” भन्ने जस्ता हुँकार लिएर कहिल्यै पहिले कुनै राजनीति हैसियत स्थापित नगरेका र वडा सदस्य समेत पनि जित्न नपाएका व्यक्ति आफ्नो सेतो कपाल देखाएरै सभाध्यक्षता समेत गर्न पाए पछि आफ्नो छायाभन्दा माथि पुग्न थाले । कुरा उनले पार्टीलाई लेभी बुझाए कि बुझाएन, स्वकिय सचिवलाई हस्ताक्षर गराएर उनले पाउने तलब आफ्नो खल्तीमा राखे कि राखेन अनि अनि पार्टीले राखेका स्वकीय सचिवलाइ हटाएर आफ्नै छोरालाई स्वकिय सचिव बनाए कि बनाएन भन्ने होइन । अझ भोलि गद्दारीको पोल खुलेपछि पार्टीबाटै निकालिने भयले एकमहिना आफु जस्तैहरु मिलेर गोप्य पार्टी खडा राखेर आफ्नो भत्ता पाउने जस्केलो सुरक्षित राखेको भन्ने पनि होइन । कुरा एकै बाक्यमा सकिने के हो भने, कोहीमा जब नैतिकताको खडेरी हुन्छ उसके केके गर्छ भन्ने मात्र हो ।

संविधान पास गरिदिएको पुरस्कार स्वरुप एक जना नश्लवादी, गणतन्त्रविरोधी, संघीयता विरोधी व्यक्ति प्रधानमन्त्रीका रुपमा रंगमञ्चमा भित्रिन्छ । आफ्नो पद जोगाउने संविधानका खातिर पचासौं जनाको रगत बगाउन ऊ तयार हुन्छ, नेपाल–भारतबिच वैमनुष्यता पैदा गरेर जनतालाई पेट्रोल, ग्यास, औषधी र पानीको समेत अभावमा राखेर बाँसुरी बजाइरहन्छ ऊ । यस्तो सरकार ढल्नु नै थियो, ढल्यो । सरकारबाट हुत्तिएपछि सत्ताको रगत चाखेका नश्लवादी रन्थनिएर फेरि जहाँ जहाँ आफुजस्तो पहिचानविरोधीहरु देख्यो उतै घाँटी जोड्न पुग्यो ।

कस्तो बिडम्बना । यस्ता नश्लवादीलाई साथ दिन आफुलाई सभासद्को भत्ता लिन लायकको बाइदिने आफ्नै पार्टीमाथि गद्दारी गर्न समेत उक्सायो राजवंशीलाई । बिचबिचमा केही अप्ठेरा अभिव्यक्ति दिँदै, पार्टीले आफ्नो मानेको संघीय गठबन्धनका विरुद्ध ओकलेर आफ्नो पार्टी र पार्टीका मतदाताहरुको विश्वासमा लात हान्दै उनी एक दिन उनै नश्लवादीहरुको भीडमा उभिन पुगे, रत्नपार्कको फिल्म सुटिङ गर्नेहरुका लहरमा । हुन त गत २५० वर्षको नेपालको इतिहास भनेकै धोखा, षडयन्त्र, सत्ताको लागि आफ्नै मतियारको गला रेट्ने अनि आफेले थुकेको थुक चाट्नेहरुको इतिहास हो । तर यहाँ यी राजवंशीले यो इतिहासमै नभएको घटियापन देखाए । आफ्ना मतदाताको मतमाथि बेइमानी गरेर । सजाय त पाउनै पर्ने थियो । यसको सजाय पार्टीबाट निष्काशन गरेर मात्र त पुग्ने थिएन तर मुटुका रोगीलाई योभन्दा बढी सजाय दिनु उचीत पनि हुँदैन, मानवीयताको नाता त अमानुषहरुसँग पनि राख्नु पर्छ । यस्ता व्यक्तिहरु अन्त नहुने होइन । जहाँ पनि हुन्छन्, छन् — यति बुझेपछि हामी पछिका पुस्ताले यस्तो आफ्नै मान्छले गर्ने जस्तो असह्य घात सहेर बस्नु नपर्ला । भनिन्छ, सुन जोख्नु दशपल्ट, मान्छे जोख्नु एकपल्ट । जोख्नेले जोख्न नजानेकै हो, वा जानी जानी बिराएकै हो ।

कुरा लक्ष्मण राजवंशीको होइन, कुरा लक्ष्मण राजवंशीहरुको हो । यो पाँच दर्जन जनजाति र दश दर्जन भाषाभाषीहरुको नेपालमा एक मुठ्ठीभरका समुदायले त्यसै अविछिन्न शासन गरिरहेको छैन । हामी हाम्रा कमजोरी, समस्या केलाउन चाहँदैनौं, सुन्न तयार हुँदैनौ अनि विभिषणहरु जन्माइरहन्छौं । कुनै जात विषेशमा कुनै आमाको सँग्लो रगतबाट जन्मिँदैमा कोही चाखो मानिस हुँदैन, आफ्नो आमालाई माया र सम्मान गर्न लायकको हुँदैन । मान्नेहरुले भनेअनुसार पूर्वजन्मदेखि नै लिएर आउनुपर्छ,अन्यथा आफ्नो जन्म नै कसैकसैका लागि धिक्कार हुन्छ । यहाँ पनि यस्तै भएको हो ।

हामीले देखेका छौं, कोही एक आमाका सन्तान भएर पनि आफ्नो आमाको विरुद्ध दुनियालाई लगाउने एकदुइजना हरेक जाति, समुदाय र सम्प्रदायमा हुन्छन् (ती पिर्थवी नारायण आफ्ना बलबुताले काठमाडौं छिरेका थिएनन्) । तर जसले जिन्दगीभर आफ्ना समुदायमा समुदायको पहिचानका लागि लड्यौं भनेर सबैको माया, सम्मान र श्रद्धा टिपिरह्यो उनैले मर्नेबेलामा सबैलाई चिल्लै बनाएर शत्रुका पोल्टामा गएर खिसी गर्नेसम्मको काम गरेको उदाहरण त संसारकै पनि इतिहासमा नपाइएला । उनीहरुलाई समयमै चिनेर उचीत पुरस्कार सहित बिदावारी दिन नसक्दा नै हामीले हाम्रो पहिचान कायम गर्न नसकिरहेको हो । फोहर बोकेर कसिंगरसँग लड्न सकिन्न । पहिला आफुलाई सफा राख्न सक्यौं भने पहिचानको लडाइ जितिन्छ, अवश्य ।

(ईसमताबाट साभार) 

Facebook Comments

सम्बन्धित

Leave a Comment