म अज्ञात सहिद आएको छु ! (कविता)

– विप्लव ढकाल

……………………
सुनको मस्तिष्क
र हीराका हातहरूले लेखिएको
इतिहासको पुरानो किताबले सुनोस् !
…………….
मेरो गीतको भाषा फरक छ—
तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब !
तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो !
तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि
पस्नेछ अब रगतको बाढी !
र यो देशको आत्मा
फेरि एक पटक
मध्यरातमा बिउँझेर रुनेछ !
…………..
आऊ, गिरफ्तार गर !
हातमा बन्दुक हुनेहरू !
मलाई गिरफ्तार गर— म फेरि आएको छु !
कफ्र्यु लगाएर विचारको भग्न सडकमा
मेरो चेतनामा अन्तिम पटक छापा मार !
र मलाई जङ्गलमा लगेर फेरि बेपत्ता बनाऊ !
हातहरू गिँड, आँखा झिक र जिब्रो काटिदेऊ !
…………..
हिजो पनि इतिहासमा थाहै नपाई
पटक पटक यसरी नै मारिएको थिएँ
म अब फेरि मर्नका लागि बाँचेर आएको छु !
………….
मेरो चिहान खोइ कहाँनिर पर्छ ?
चिहानमा राखिएका नम्बर प्लेटहरू झिक !
मेरो लासमाथि लास जस्तै ओढाइएका
ती रक्तिम झन्डाहरू झिक !
र झिक तिम्रा लाटा शब्दकोशहरूबाट
यो ‘अज्ञात सहिद’ भनिने शब्द !
म आज तिमीले सुन्ने गरी गीत गाउँदै
एउटा अनागरिक इलाकाको
अप्रिय कोलाहल आएको छु !
म फेरि मर्नका लागि बाँचेर आएको छु !
……………
मेरो सडक खोइ कतातिर पर्छ ?
भन ए १ कुन म्युजियममा राखिएको छ
मेरो शिर काट्ने पुरानो तरबार ?
………………
झम झम पानी परेको यो साँझमा
म देशसँग बास माग्न आएको छु !
तर देश
उसको आँगनीमा पाइला टेक्न नपाउँदै
कुक्कुर भुकाएर लखेटिरहेछ मलाई !
मेरी आमा १
अब साँझमा जोरबत्ती नबाल
म निभेको अँगार बनेर आएको छु !
…………….
कम से कम
रगत सकिएको मुटुको दियोमा
मायाको मधुरो बत्ती बालेर
जिन्दगीको एक्लो किनारामा उभिइरहेकी
मेरी प्रेयशीले त थाहा पाउनुपर्छ—
म विगत इतिहासमा मारिएको छु भनेर !
……………
कम से कम
तिहारमा सयपत्रीको माला बोकेर
माथि रित्तो आकाशतिर एकोहोरो हेरिरहेकी
मेरी अबोध बहिनीले त थाहा पाउनुपर्छ—
विगत युद्धहरूमा मैले जिन्दगी हारेको छु भनेर !
………..
म स्वयंले थाहा पाउनुपर्छ मेरो मृत्यु !
…………
ए ! म फेरि बाँचेर आएको छु
समयका स्ट्रेचरहरूमा आफ्नै लासलाई सुताएर
जिन्दगीको पोस्टमार्टम गराउन आएको छु !
म तिम्रो कविताको हेड लाइन
आज तिम्रै कलमको निबबाट बगिरहेको
फाल्सा–फाल्सा रगतको गीत गाउन आएको छु !
म आफ्नै लासलाई सिरानी हालेर
केही क्षण चुपचाप निदाउन आएको छु !
……………….
म त्रिवेणीको अक्करमा तोक्मा अड्याएर
चामलको ढाकर बिसाउनै लाग्दा
सप्तकोशीमा खसेको तिम्रो भरिया कान्छो
अहिले श्रमको ज्याला माग्न आएको होइनँ !
म मुग्लानको जङ्गलभित्र आरा काट्न जाँदा
जङ्गलमै हराएको तिम्रो सौतेनी भाइ
आफ्नो अंशको लालपूर्जा माग्न आएको होइनँ !
म भाक्सुको भिर र किमाथाङ्काका पहराहरुमा
नूनको ढाकरले थिचिएर नून जस्तै बिलाएको
नरबहादुरकी अन्तरी श्रीमतीको पनाति
अहिले तिम्रो विरुद्धमा
उम्मेदवारी दिन आएको होइनँ !
म त तिम्रो मतदातासूचीबाट
एकाएक हराएको
आफ्नो नाम सच्याउन आएको छु !
मृत्यु दिवसको यो मिति मेटिएको क्यालेण्डरमा
म मेरो हराएको नागरिकता खोज्न आएको छु !
मेरो रगत पिएर निदाएको शान्त बन्दुकसित
म फेरि जिन्दगी लिएर
जुहारी खेल्न आएको छु !
।।।
आऊ, गिरफ्तार गर !
र फेरि कुनै निर्जन जङ्गलमा लगेर
मेरो विचारको उज्यालो खोस
मलाई रित्तो बनाऊ
र मेरो आवाजको हत्या गर !
………..
यी मानचित्रका बिखण्डित धर्साहरूभित्र
मेरो देश खोइ कहाँनेर पर्छ ?
म देशबाट निस्किएर
देश खोज्न आएको छु !
यो भित्तेपात्रोको सुनसान जङ्गलभित्र
म अनाम समय खोइ कहाँनेर पर्छु ?
दिवाल घडीका निर्जीव टङ्कारहरूभित्र
म मेरो वर्तमान खोज्न आएको छु !
……………..
सुनको मस्तिष्क
र हीराका हातहरूले लेखिएको
तिम्रो इतिहासको अन्तिम डिलमा उभिएर
म यो देशको एउटा अज्ञात सहिद
फेरि यही देशमा
आफ्नो रगतको मूल्य हराउन आएको छु !
पेट्रोल सकियो भने रगत बाल !
म बेहिसाब रगत बिक्री गर्न आएको छु !!
*******
(निर्जन बन्दरगाह, २०५१०)

Facebook Comments

सम्बन्धित

Leave a Comment