शन्दर्भ शहिद दिवस : ( कविता : शहिद)

कविता

भिम दुमि (माक्पाली कान्छा)
तिमि
मरेर बाँचेकाहरु
जीवन बलिदान दिएर
निशब्द
सडक, गल्लि, कोठा,
चोटा र सिरानी भित्र
उभिरहेका छौ
अहिले बाँचेर पनि
मरि रहेकाहरुलाई
हेरेर
खोजि रहेका छौ
ति अनन्त इतिहाँसको
रंगीन सपनाको
हिसाब किताब

संगै उठाएका कदम
संगै खाएको कसम
एउटै झण्डामुनी बसेर
उठाएर मुठि
खाएको सपथ
सजाएको सपना
कति पुग्यो भनेर
हिसाब नखोज
उत्तर सँधै
निस्कि रहेको छ
शुन्यमा

पुछिएको सिंदुरको के हिसाब
रित्तिएको काखको के किताब
बाबा, आमा गुमाएका बच्चाहरु
चेलि गुमाएका माईति,
माइति गुमाएका चेलि
संगै मैदानमा गुमाइएका सहकर्मीको
आँशुहरुको के छ र ? हिसाब किताब

केवल
फेरिएको छ त रंग शोषणको
फेरिए केही पात्रहरु
शाषण उस्तै छ, शैलि त्यही छ
कुर्सी र टेबुल उस्तै छन्
दरबार करिब उस्तै उस्तै
लाग्दछन्

खै क भनौँ तिमिलाई
तिमि मरेर बाँचेका छौ
बाँचेर मरिसकेकाहरुले
न तिम्रो बाटोलाई पछ्याए
न सपनालाई सजाए
सुन्दर वस्तिमा
स्वर्णिम संसारको
कल्पनालाई भत्काएर
बनाएका छन्
पतझड, ढुँगे बगर
तिम्रा ति पार्थिव शरिर
राखेको भुमिमा समेत
कंक्रिट र काँडा रोपिए पछि
कहाँ फुल्छ र ?
तिम्रो भावनाको सुन्दर फूल
कहाँ फैलन्छ र ?
विचारको सुन्दर तरंग
परिवर्तनको नौलो किरण

Facebook Comments

Leave a Reply