यौन दुव्र्यवहार गर्ने लाई एक लाख क्षतिपूर्ति भराउन आदेश

एविसि खबर

खोटाङ, २७ मंसिर । जिल्ला अदालत खोटाङले दिक्तेलस्थित होटल शुभदिनमा काम गर्ने महिला कामदार र उनकी छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गर्ने तीन दोषीबाट १ लाख रूपैयाँ क्षतिपूर्ति भराउन सजाय सुनाएको छ । होटलमा काम गर्दै आएकी महिला कामदार र उनकी तीन वर्षीया छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गर्नमा संलग्नलाई दोषी ठहर गर्दै सञ्चालक हरिप्रसाद आचार्य र कामदार तिलक कार्कीलाई जनही १०÷१० हजार तथा प्रबन्ध निर्देशक दीपनारायण रिजालका छोरालाई ५ हजार जरिवानाका साथमा १ लाख क्षतिपूर्ति भराउन फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले तीनैजना दोषीबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउन फैसला सुनाएको प्रहरीले जनाएको छ । नाबालक भन्दै प्रबन्ध निर्देशक रिजालका छोराको नाम गोप्य राखिएको छ । कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा गत २८ वैशाखमा पक्राउ परेका तीनैजना धरौटी बुझाएर १७ जेठमा रिहा भएका थिए । होटल सञ्चालक आचार्य र नाबालक भनिएका किशोरले कुटपिट गरेको र यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै पीडित महिलाले २१ वैशाखमा जिल्ला प्रहरी कार्यालयमा घाजाँच केश फारमका लागि निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो ।

महिला अधिकारकर्मीका अनुसार आमाछोरीमाथि गत १४ वैशाखमा कार्यरत होटलमा कुटपिट तथा यौन दुव्र्यवहार भएको थियो । घरेलु हिंसामा परेर घरबाट निकालिएकी आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुंग्याउने प्रयास भएपछि राष्ट्रिय मानवअधिकार आयोगको निर्देशनमा प्रहरीले दोषीउपर कारवाही प्रकृया अघि बढाएको थियो ।

आयोगको सोही निर्देशनपछि आरोपितहरू पक्राउ परेका थिए । मिलापत्रपछि पीडकविरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि आयोगले घाजाँच केश फारमकै आधारमा कारवाही प्रक्रिया थाल्न निर्देशन दिएको थियो ।

घटनापछि लुकाएर राखिएको अवस्थामा आमाछोरीलाई उद्धार गरेर प्रहरी संरक्षणमा पु¥याइएपछि मात्र पीडित महिलाले दवावमा मिलापत्र गराइएको भन्दै आरोपितविरुद्ध उजुरी दिने आँट गरेको प्रहरीले जनाएको छ । घटना सार्वजनिक भएको हप्ता दिनपछि मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको टोली र प्रहरीले संयुक्तरूपमा आमाछोरीलाई दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको डेराबाट उद्धार गरेर प्रहरीको संरक्षणमा पु¥याएको थियो ।

पीडितले प्रहरीलाई दिएको निवेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले यौन कार्यको आशयले जिस्क्याउने, संवेदनशील अंग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको उल्लेख छ । यस्तै नाबालक किशोर भनिएका दोषीले संवेदनशील अंग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगेर नाङ्गो बनाएर यौनाङ्ग सुमसुम्याउने र १४ वैशाखमा यौनाङ्गमा टोकेर घाउ बनाइ दिएको आरोप छ ।

कार्कीले भने होटलमा आएको ग्राहकको मोबाइल चोरेको आरोपमा ११ वैशाख राति कोठामा थुनेर कुटपिट गरेर मरणासन्न अवस्था बनाएको पीडितको भनाइ छ । काठमाडौं माइती भएकी पीडित महिला २०६९ साल मंसिरमा विवाह गरेर खोटाङ आएकी हुन् । श्रीमानले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । घरबाट विस्थापित भएपछि ६ वैशाख २०७१ देखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई २३ माघ २०७२ देखि होटल शुभदिनमा ज्यालादारी कामदारका रूपमा लगिएको थियो । उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि उनी अरुको संरक्षणमा बस्न बाध्य बनेकी हुन् ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment