करियरलाई फेका कप उपाधि

काठमाडौं, २६ मंसिर । करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले ११औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नवौँ संस्करणको उपविजेता करियरले पहिलो संस्करणको विजेता न्यु स्टार पोललाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । करियरबाट विवेक खवास, जीवन धामी, जीवन लामा, विदेश राई र आकाश शाहले गोल गरे । न्यु स्टारका तर्फबाट रुपेश बस्नेत, दीपेश बस्नेत र कृतन अर्यालले गोल गरे ।

निर्धारित ७० मिनेटको खेल र थप गरिएको १५ मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा १ गोल बचाएका करियरका न्युसन श्रेष्ठ फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिए ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा कस्मिकले हाइल्यान्डलाई १–० गोलले हराउँदै तेस्रो भयो । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । चौथो हुने हाइल्यान्डलाई ५ हजार नगद पुरस्कार प्रदान गरियो । करियरका विवेक खवास उत्कृष्ट खेलाडी, करियरकै सुजन भट्टराई उदीयमान खेलाडी, न्यु स्टारका सुमन खत्री उत्कृष्ट डिफेन्डर तथा न्यु स्टारकै साजन गिरी उत्कृष्ट गोलरक्षक चुनिए ।

प्रतियोगिताभर ४ गोल गरेका कस्मिकका रञ्जन गुरुङ सर्वाधिक गोलकर्ता बने । गोल्डेन बड स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो । विजेतालाई सांसद दीपक कुइँकेल, प्रधानमन्त्री कार्यालयका प्रशासनिक सल्लाहकार नारायण दाहाल, प्याब्सनका केन्द्रीय उपमहासचिव राजेन्द्र बानियाँ, आयोजक फेकाका अध्यक्ष युवराज भट्ट, कार्यक्रम संयोजक मुरारीप्रसाद सन्जेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर १६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा विभिन्न विद्यालयका २० टिमले प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment