धौलागीरीमा पहिलो रेडिमिक्स कंक्रिट उद्योग

एविसि खबर

पर्वत, २६ मंसिर । धौलागिरि अञ्चलमा नै पहिलो पटक स्थापित रेडिमिक्स कंक्रिट उद्योगले सेवा सुरु गरेको छ । स्थानीय युवा व्यवसायी तथा उक्त क्षेत्रसँग सम्बन्धित विज्ञको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा आएपछि घर तथा भवन निर्माणकर्ताका साथै निर्माण व्यवसायीसमेत प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

‘धौलागिरि रेडिमिक्स कंक्रिट, कन्ट्रक्सन एन्ड सप्लार्यस’का नामबाट धौलागिरि अञ्चलका पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङका साथै कास्की जिल्लालाई समेत लक्ष्य गरी कुश्मा नगरपालिका– १ खनियाँघाटमा करिब १० करोड रूपैयाँ लगानीमा निर्माण गरिएको उक्त उद्योगसँग प्रतिघन्टा ३० घ.मी. रेडिमिक्स कंक्रिट उत्पादन गर्ने क्षमता छ ।

पर्वत निवासी कालीगण्डकी क्रसर उद्योगका सञ्चालक एवम् निर्माण व्यवसायी यामबहादुर मल्ल (रामकृष्ण), बाग्लुङ निवासी ढुवानी सेवा सञ्चालन गर्दैआएका प्रेम केसी, व्यवसायी श्रीजय श्रेष्ठ र इ.विकास शर्माले पर्वतको पाङमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् ।

सो क्षेत्रमा निर्माण भइरहेका ठूला जलविद्युत् आयोजना, प्रसारण करिडोर, लोकमार्ग, विभिन्न सडक आयोजनाका साथै भूकम्पपछिको भूकम्प प्रतिरोधक घर, मापदण्ड अनुसारका सरकारी भवन तथा अन्य संरचनाका लागि आवश्यक पर्ने तयारी रेडिमिक्स कंक्रिट उपलब्ध गराउने उद्देश्यसहित उद्योग स्थापना गरिएको सञ्चालक मल्लले बताए ।

अहिले बलिया तथा भूकम्प प्रतिरोधात्मक घर तथा अन्य संरचना निर्माण गर्नाका साथै ढलान गर्नका लागि योग्य मजदुरको समेत अभाव हुने भएकाले गुणस्तरीय, छिटो र सस्तोमा समेत सेवा दिनका लागि समेत उद्योग स्थापना गरिएको जनाइएको छ ।

मल्लका अनुसार एक घन्टामा तीन घर ढलानका लागि आवश्यक रेडिमिक्स तयार गर्न सकिन्छ भने एक ट्रान्सिज मिक्स्चर गाडीले दिनमा १० वटासम्म घर ढलान गर्नसक्छ ।

अत्याधुनिक जर्मन प्रविधिबाट सिमेन्ट, बालुवा, रोडा, मिलाएर तयारी कंक्रिट रेडिमिक्स तयार गरिन्छ । उक्त रेडिमिक्स तयार गर्दा कम्प्युटराइज सिस्टमबाट हुने भएकाले आवश्यक मात्रामा घुल्ने र घुलेको मात्रासमेत सही हुने भएकाले सिमेन्टबाट निर्माण हुने संरचना बलियो र भरपर्दो हुने उद्योगका सञ्चालक इ.शर्माको भनाइ छ ।

पुरानो प्रविधिको प्रयोग गरेर संरचना निर्माण गर्दा वा मजदुरका भरमा बालुवा, सिमेन्ट र गिट्टी मिसाउँदा राम्रोसँग घुल्न नसक्ने भएकाले संरचना कमजोर बन्ने गरेको र उद्योगबाट उत्पादित रेडिमिक्स उद्योगमा नै पूर्ण रूपमा कम्प्युटराइज माध्यमबाट मिश्रण र घोल्ने भएको हुँदा यसको प्रयोगबाट बलिया र भरपर्दो खालका संरचना निर्माण गर्न सकिने जनाइएको छ ।

उद्योगले करिब ४० कर्मचारी र ५ ट्रान्सिज मिक्स्चर गाडी राखेर घरघरका साथै हरेक संरचना निर्माणस्थलमै पुगेर सेवा दिने गरेको छ । निर्माणकर्ताले आदेश दिएका खण्डमा गाडी चल्न सक्ने पक्की तथा कच्ची बाटो भएका बाग्लुङ, पर्वत र म्याग्दी जिल्लाका साथै कास्की जिल्लाका केही ठाउँमा सेवा दिन सक्ने सञ्चालकले बताएका छन् ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment