गायनले बाँचेकी मनिषा

भिम राई
काठमाडौं, २१ मंसिर । कोही मान्छे वैदेशिक रोजगारमा जाँदै छ भने सहज अनुमान लगाउन सकिन्छ । ऊ त्यहाँ मजदुरी गर्नकै लागि जान्छ । यसमा पुरुष भए ज्यामी, हेल्पर आदि महिला भए घरेलु कामदार । तर, यसभन्दा पृथक ढंगले विदेश पुगेर आइन् खोटाङ कि मनिषा राई । दुबईको याक एन्ड यति होटेलमा गीत गाउन कै लागि उनी पुगिन र २ वर्ष बिताइन् । नेपाली सुगम संगीतमा सुमधुर स्वरका धनी मनिषाले नेपाली गीतको अलवा हिन्दी गीत गजल निकै राम्रो गाउने गरेकी छन् ।

कलिलो उमेरमा संगीतको मोहजालमा फसेकी उनले २ वर्ष दुबईमा गीत गाएर नै बिताइन् भने ३ महिना बहराइनमा गजल गाइन् । पैसा कमाउन गीत गाउने काममा विदेशिएकी उनी नेपालमा फर्किएपछि पनि गीत गाउने पेसामा नै आवद्व छिन् । राजधानीको दरबारमार्गस्थित मधुशाला गजल रेस्टुरेन्टमा स्थापित कलकारहरू उदय सोताङ, मनिला सोताङ, टीका प्रसाईहरू सँगै बसेर अहिले पनि उनी नियमित गाउँदै आउने प्रतिभा हुन् । स्कुले जीवनमा स्टेजहरूमा गीत गाउँदै आएका मनिषा जालपा मावि नुनथला खोटाङमा हुँदा ताका नाच्ने नृत्यंगना पनि हुन् ।

खोटाङका स्थापित जनवादी कलाकार हेम नाछिरिङको संगतमा हुर्केकी उनले रेडियो सुनेर संगीतमा लहसिएको बताउँछिन् । करिब ३ सय गीत रेकर्ड गराइसकेकी मनिषाले बाल्यकाल भिरपाखामा दाउरा घाँस गर्दै स्वरले साधना पाएको दावीसमेत गरेकी छन् । उनले दाउरा घाँस गर्दा गाएको गीतलाई गाउँलेले परिचय नै बनाइदिएको जनाइन् । स्कुलको पढाई सकेर काठमाडौं छिरेकी उनले कैलाश राईसँग संगीतको ‘सा रे ग म’ सिकेकी हुन् ।

पहिलोपटक चौधरी भाषाको ‘दिवानी मस्तानी, तुमोर पियारी’ बोलको गीत रेकर्ड गरेर गायनमा डेब्यु गरेकी हुन् । हालसम्म एकल र डोयट गरी ३ वटा एल्बम बजारमा ल्याइसकेकी उनले ‘निष्ठुरी, बहाव, तुलसी मन्जरी’ नामको एल्बम बजारमा दिइसकेकी छन् । आधुनिक गीतका साथै पपगीतसमेत राम्रै गाउने मनिषाले हाल नितान्त संगीत नै पेसाको रूपमा अपनाएको बताएकी छन् । नारायण गोपालका गीतहरूदेखि अरुणा लामाको फ्यान रहेको बताउने उनले संगीतलाई जीवनका रूपमा बुझेकी सुनाइन् । ‘संगीत त एउटा जीवन जस्तै रहेछ’ उनले भनिन्, ‘रुँदा नी चाहिने हाँस्दा नि चाहिने ।’

उनले अझ अगाडि थपिन्, ‘मान्छेको मानसिकता परिवर्तन गर्ने तागत कुनै कुरा सँग छ भने त्यो संगीतमा छ । जसका कारण मान्छेले पीडासमेत भुल्छ ।’ यसो त उनले गीत संगीतले दुनियाँ परिवर्तन गर्ने धारणामा उनिमा छ । समाज परिर्वतनका निम्ति गीत संगीतले समेत महत्वपूर्ण जागरण दिने उनको मान्यता छ ।

Facebook Comments

Related posts

Leave a Comment