लोडसेडिङ मुक्त बनाउन मेवाखोला विजुली निस्क्यो

समाचार

mewa-khola-copyखोटाङ, १६ मंसिर । खोटाङलाई लोडसेडिङमुक्त जिल्ला बनाउने उदेश्यका साथ उत्पादन गरिएको १ मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावरको परीक्षण प्रसारण सुरु गरिएको छ । दिक्तेल नगरपालिका–१० स्थित मेवाखोलाबाट उत्पादन गरिएको हाइड्रोपावरको परीक्षण प्रसारण सुरु गरिएको हो ।

जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको मेवाखोला हाइड्रोपावरमा चीनबाट झिकाइएका इन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि मंगलबारदेखि विद्युत् उत्पादन भएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्धनिर्देशक अर्जुन राईले जानकारी दिए । समुदायको ३० प्रतिशत, सानिमा बैंकको ६० र बैंक अफ काठमाडौंको ४० प्रतिशत गरी २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको प्रबन्धनिर्देशक राईको भनाइ छ । मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सब स्टेसनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवद्र्धनमा ०७० सालदेखि हाइड्रोपावरको काम सुरु गरिएको थियो । ०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुईपटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण समयमा सम्पन्न हुन सकेको थिएन । मेवाखोला हाइड्रोपावर अबको १५ दिनभित्रमा औपचारिक कार्यक्रम गरेर उद्घाटन गरिने तयारी रहेको आयोजनाका प्रमुख अर्जुन राईले जानकारी दिएका छन् ।

Facebook Comments

Leave a Reply