काठमाडौंमा विश्व शान्ति पूजा हुने

lama-copyकाठमाडौं, १४ मंसिर । सम्पूर्ण प्राणी जगतको सुख, शान्ती र दीर्घायूको निम्ति काठमाडौंमा विश्व शान्ति पूजा हुने भएको छ । यही ८ पुसदेखि सञ्चालन हुने विश्व शान्ति पूजा १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

निरन्तर १० दिनसम्म सञ्चालन हुने शान्ती पूजामा बौद्ध गुरु श्यरटुल दम्क्ष्यो ग्यछो रिन्पोछेको प्रमुख उपस्थिति रहने आयोजक बुद्ध समाज सेवा केन्द्रले जनाएको छ । रिन्पोछे भारतको हिमाञ्चल प्रदेशबाट आएका बौद्ध गुरु हुन् । उनी तेस्रो अवतारी लामासमेत हुन् ।

विश्व शान्ति पूजामा १० करोड महासिद्धी मन्त्र जपसमेत गरिने बुद्धसमाज सेवा केन्द्रले जनाएको छ । राजधानीमा आयोजित बज्रगुरु मन्त्र जप तथा विश्व शान्ती पूजाको महत्व विषयक गोष्ठीमा बुद्धिष्ट संघसंस्थाका प्रतिनिधिहरूले मन्त्र तथा विश्व शान्तिको पूजाको महत्वबारे धारणा राखेका थिए । देश तथा विदेशमा मानिस मानिसबीच द्वन्द्व, कलह, झगडा भइरहेको सन्दर्भमा विश्व शान्ती पूजाको आयोजना हुनु अत्यन्तै स्वागतयोग्य काम भएको वक्ताहरूको धारणा थियो ।

शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पाले राष्ट्र धर्म निरपेक्ष र गणतन्त्रमा गइसकेको प्रसंग उल्लेख गर्दै सम्पूर्ण समुदायले आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नुपर्ने उल्लेख गरे । साथै यस विश्व शान्ती पूजा तथा मन्त्रले विश्वको सम्पूर्ण मानवलाई रक्षा गर्ने बताएका छन् । बौद्ध धर्मअनसुार बज्र गुरु मन्त्रमा अटल तथा विनाश नहुने शक्ति रहेको र मन्त्रको जप गर्दा सम्पूर्ण जीवित प्राणीले सुख शान्ति पाउने विश्वास रहेको छ ।

नेपाल लगायत विश्वमै बढ्दै गएको द्वन्द्व, हिंसा, ईष्र्या, रिस आदि मानिसको नकारात्मक विचारको कारण भएको भन्दै विश्व शान्ति पूजाको माध्यमबाट जगतमा शान्ति कायम हुने बज्रगुरु पूजा आयोजक मुल समारोह समितिका सहसंयोजक खेन्पो छुल्ठ्रिम दोर्जी शेर्पाले बताए । मानिसको अहंकारबाट हुने बाधा व्यवधान हटाएर मानिसको विचारमा शुद्धीकरण ल्याई विश्वमै शुख शान्तिको निम्ति बज्रगुरु मन्त्र जप तथा शान्ति पूजा गर्न लागिएको उनले बताए ।

बुद्धिष्ट खगोलशास्त्र अनुसार यो वर्ष अग्नी बाँदर वर्ष परेको र गुरु रिन्पोछेको जन्म वर्ष भएको हुनाले यस समयमा मन्त्र जप तथा विश्व शान्ती पूजा गर्न लागिएको आयोजकको भनाई छ । बुद्धिष्ट खगोलशास्त्रमा यस्तो समय ६० वर्षमा एकपटक आउने गर्दछ ।

विचार गोष्ठीमा कांग्रेसका पूर्वसभासद जिपछिरिङ लामा शेर्पा वुद्ध समाज सेवा केन्द्रका कार्यवाहाक अध्यक्ष छिरिओङदी शेर्पा, शेर्पा सेवा केन्द्रका सल्लाहकार आङडेन्डी शेर्पालगायत बुद्धिस संघसंस्थाका प्रतिनिधिहरूले बज्रमन्त्र जप तथा विश्व शान्ति पूजाको महत्वको बारेमा प्रकाश पारेका थिए । ८ पुसदेखि राजधानीको बौद्धमा सञ्चालन हुने १० करोड महासिद्धी जप तथा विश्व शान्ति पूजामा लगभग १ करोड खर्च हुने अनुमान आयोजकको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment