‘आइ लभ यु’ भन्दै आए नन्दु र शिला (भिडियो सहित)

भिम दुमी

काठमाडौं, ७ मंसिर । धनकुटाको भेडेटारमा जन्मिएका नन्दु राई संघर्षशील युवा गायक तथा संगीतकार पनि हुन् । वैदशिक रोजगारमा रहेका संगीतप्रेमी राई धरान सहरबाट उकालो बाटो हुँदै निस्कने भेडेटार र भेडेटारबाट देखिने टाढा–टाढाको हिमाल र तराईको फाँटसँग परिचित हुने क्रममा छन् । उनी विशेषतः गीत लेखन र गायनमा लागिपरेका छन् । लोक, पप तथा आधुनिक गायनमा लागेका उनले स्थापित गायिका शिला राईसँगको सहकार्यमा नयाँ गीत युट्युबमार्फत भर्खरै सार्वजनिक गरेका छन् ।

वैदेशिक रोजगारबाट छुट्टीमा नेपाल आएका राईले ‘आइ लभ यू’ बोलको फिल्मी स्टायलको गीत बजारमा ल्याएका हुन् । नन्दु राईकै शब्द र संगीतमा रहेको गीतमा गायिका शिला राई र स्वयं नन्दुले स्वर दिएका छन् ।

यस अघि ‘परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान, आप्पा र आमा सम्झेर रुँदै त्यो गाउँघरमा झल्झली आउँछ सँगै घुमेको धरान बजारमा’ बोलको चलनचल्तीका शब्दले सजिएको गीत उनले बजारमा ल्याएका थिए । उनले परदेशीको पीडालाई भिडियोमार्फत जीवन्त प्रस्तुत गरेका थिए ।

लोकगीत, पपगीत तथा लोकपपगीतको फ्युजन गरी कर्ण्प्रिय गीत गाउन सक्ने उनले ‘सुसेली’ नामक एल्बममा यो म्युजिक भिडियो समेटेका छन् । दुबईका रमणीय स्थानहरू बरदुबई, देरा, आब्रा, युएईका नेपालीहरूबीच लोकप्रिय स्थलहरूमा छायांकन गरिएको छ । उनको यसअघि सुसेली लाउने बोलको गीत लोकप्रिय भइसकेको छ । सोही एल्बममा रहेको कारुणिक गीत ‘पिउन बाँकी छ’ बोलको गीतको म्युजिक भिडियोको पनि युएईमै छायांकन गरेका थिए ।

भिडियोमा गायक राईलाई साथ दिएकी छन् भोजपुरकी इना राईले । विभिन्न जातीय संघसंस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा परम्परागत जातीय नृत्य गरिसकेकी इनाले म्युजिक भिडियोमा पहिलोपल्ट काम गर्दा रमाइलो भएको बताएकी छन् । दुबईका रमणीय स्थानहरू क्रिकपार्क, मीनाबजारमा छायांकन गरिएको भिडियोमा साकेला र पहाडी जनजीवनमा आधारित मेलाका दृश्यहरू समेटिएको गायक तथा मोडल नन्दुले सुनाए ।

सफल गायक बन्ने सपना देखेका राईले संगीतको क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेको बताए । पहिलो नेपाली तारामा ९ हजारमा छानिएर ३ सयभित्र परे पनि गायक राईको त्योभन्दा अघि जाने बाटो बन्द भएको थियो । एउटा बाटो बन्द भए पनि अरू बाटाहरू खोज्दै नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले राईलाई कहिले छाडेन । पढाइ, करियर र जिम्मेबारीको बोझले राईलाई नेपालमै बसिरहन दिएन उनी ७ वर्ष अगाडिदेखि युएईमा रहँदै आएका छन् । संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिन यहाँका नेपाली सांगीतिक मञ्चहरूमा अहिले उनी राम्रै छाइरहने कलाकारभित्र पर्दछन् ।

उनी गायनको अलवा क्यारिकेचर गर्न पनि उतिकै माहिर रहेका छन् । रेडियो नेपालबाट हरेक शनिबार राती प्रसारण हुने चौतारी कार्यक्रम र पछि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा बज्ने सांगीतिक कार्यक्रमहरूले उनलाई संगीतको सागरमा लाग्न प्रेरित गरेको हो । नेपाली संगीतका चर्चित गायकगायिकाहरूसँग एउटै मञ्चमा गीत गाएका राईले नेपालमा रहँदा समेत स्टेजहरूमा उतिकै शानदार प्रस्तुति दिने गरेका छन् ।

अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज, युएईका केन्द्रीय सदस्य राई किरात राई यायोख्या, किरात याक्थुङ चुम्लुङ, युएई, पथरी शनिश्चरे समाज, युएई, शेर्पा केदुङ, विश्वकर्मा समाज, नेपाली एकता समाज जस्ता विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।

भिडियोका लागि तल जानुहोस…

Facebook Comments

सम्बन्धित

Leave a Comment