फिल्म उद्योगमा लागेका दक्षकुमार

भिम दुमी

काठमाडौं, ७ मंसिर । ठिक्कको उचाइ र मोटाइ हँसिलो मुहार, अनि संघर्षको निकै लामो इतिहास बोकेका एक फिल्मकर्मी युवा हुन दक्षकुमार राई । पछिल्लो समयमा किरात संस्कृतिका आधारित चलचित्र ‘यारी’ का कार्यकारी निर्माता हुन् उनी । गणेश गिरीको प्रस्तुतिमा रहेको उक्त चलचित्र ‘यारी’को कथा तथा निर्देशक हुन् युवराज राई । उनीसँगै अन्य साथीहरू मिलेर निर्माण भएको ‘यारी’को च्यारेटी सो भएको लगभग डेढ महिनापछि काठमाडौंको एअरपोर्ट नजिकै भेटिएका दक्षकुमार राई आफैँमा एक अभिनेतासमेत हुन् ।

खोटाङ जिल्लाको इन्द्रेणी पोखरी–२ हर्लुङछामा जन्मेका उनी सशक्त प्रतिभा हुन् । नेपाली चलचित्रको मेन स्किममा समेत लगानी गर्दै आएका उनी रोजीरोटीका लागि हङकङमा बस्छन् । नेपाली कलाकारितामा रस बसाएका उनी नेपाल र हङकङको आउजाउमा निकै नै व्यस्त पनि रहेका छन् । अभिनेता तथा नायक नवल खड्काको प्रेरणाबाट अभिनयमा छिरेका उनलाई सुरुमा नाच्न खुब रहर लाग्ने गरेको सुनाउँछन् । कुनै बेला अरूका चलचित्रहरू हेरेर हिरो बन्ने सपना पालेका उनले नाच्न भने नजानेको बताए ।

पहिलोपटक ‘बोके दारी’ नामको म्युजिक भिडियोबाट अभिनयमा छिरेका उनले नवल खडकाको चर्चित फिल्ममा ‘दशगजा’मा निर्माण सहयोगीका रूपमा चलचित्र उद्योगमा छिरेका हुन् । उनले ‘दशगजा’मा अभिनयसमेत गरेका छन् । यस पश्चात् क्रमश ‘ग्ल्यामर’, ‘पल’जस्ता चलचित्रमा काम गरेका उनले प्रेम शुब्बाको निशानीमा समेत अभिनय गरेका छन् ।

उनै दक्षकुमारले ‘यारी’मा कार्यकारी निर्माता तथा आगामी मंसिर १४ गते आउन लागेको पार्शलमा समेत कार्यकारी निर्माताका रूपमा काम गरेका छन् ।

कुनै बेला खोटाङ र उदयपुर जोडने रसुवाको पुलमा कोसीको हावासँगै कावा खाँदै डुल्ने युवा कलाकार दक्षले त्यही बाटो भएर हिँड्ने कलाकारहरूले गरेको कुरा चाख मानेर सुन्ने गरेको अनुभूति साटेका छन् । उनले भने ‘मनै त हो । नाच्न रहर भएर पनि सकिएन तर एक्सन र अभिनय भने राम्रै फापिरहेको छ ।’

नेपाली चलचित्रको व्यापार छैन भन्नेहरूका बारेमा भने उनले फरक विचार राखेका छन् । ‘किन छैन बजार ? बजार नहुने हो भने मान्छेहरू किन यत्रो लगानी गरेर धमाधम फिल्म बनाउँछन् ।’ उनले भने, नेपालमा भन्दा अझै विदेशमा नेपाली चलचित्रको राम्रो बजार छ ।’

उनले कसैको उक्साहटमा लागेर चलचित्र बनाइयो भने चाहीँ डुब्ने खतरासमेत रहेको बताए । ‘कसैले आपूmले निर्देशक बन्ने ध्याउन्नमा, कोही हिरो हिरोइन बन्ने अभिलाषामा त कोही निर्माता मात्र बन्ने योजनामा फिल्म बनाएका त ती मुर्खहरू डुबिहाल्छन् । नत्र राम्र कथा र पृष्ठभूमिमा चलचित्र बनाएमा कुनै हालतमा डुब्दैन ।’ उनको कथन थियो ।

पछिल्लो समयमा ‘यारी’ चलचित्रको प्रमोसनमा लागेका उनले भने काठमाडौंमा चाँडै ‘यारी’ दोस्रो च्यारेटी हुने पनि जानकारी दिएका छन् । उनले काठमाडौंमा ‘यारी’को दोस्रो पटक च्यारेटीपछि विभिन्न सहर तथा दुर्गम गाउँहरूमा समेत ‘यारी’लाई प्रदर्शन गरिने जनाएका छन् । विदेशमा पहिलोपटक हङकङमा सो गरिने यसपछि क्रमशः युके, ब्रुनाई, मलेसियालगायत देशहरूमा ‘यारी’लाई घुमाइने उनले सुनाए । सबैतिर सकिएपछि काठमाडौंको हलमा समेत चलचित्र लगिनेछ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment