कृषकलाई राष्ट्रपति पुरस्कार

एविसि खबर

धनगढी, २८ कात्तिक । कृषि विकास कार्यालय कैलालीले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषकलाई पुरस्कृत गरेको छ ।
विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा धनगढी बोराडाँडीका कुखुरापालन व्यवसायी विवेक भट्ट, कैलाली सुगरखालका फलफूल खेतीमा संलग्न नवलसिंह रावल र तरकारी खेतीमा संलग्न अत्तरिया नगरपालिका–१२ गेटीका मन्त्री रानालाई पुरस्कृत गरिएको हो ।

पुरस्कारको राशी जनही १० हजार र प्रमाणपत्र छ । सो अवसरमा पुरस्कार वितरण गर्दै प्रजिअ गोविन्दप्रसाद रिजालले कृषिलाई सम्मानित पेशाका रूपमा विकास गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिए । वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले कृषिको व्यावसायीकरणका लागि जागरुक बन्न कृषकलाई आग्रह गरे । यसैबीच विश्व खाद्य दिवसका अवसरमा गरिएकोे निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतियोगितामा ऐश्वर्य विद्या निकेतनका हरिनाथ प्रथम, पञ्चोदय माविका नवराज भाट द्वितीय, ग्यालेक्सी माविका इशान जोशी तृतीय तथा ज्योति इङ्गलिस स्कुल र सिद्धार्थ शिशु सदनका प्रेक्षा धामीले सान्त्वना स्थान हासिल गरे ।

‘खाद्य अधिकार’ विषयको उक्त प्रतियोगितामा प्रथमलाई २ हजार, द्वितीयलाई १ हजार ५ सय र तृतीयलाई १ हजार तथा सान्त्वना स्थान हासिल गर्नेलाई ८÷८ सय पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा पुरस्कृत कृषकले कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको सुझाव दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment