जिल्ला अस्पतालमा औषधि अभाव

एविसि खबर
फलेवास, २७ कात्तिक । जिल्ला अस्पताल पर्वतमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि पर्वतमा अभाव भएको हो ।

पर्वतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रोजस्ता अति आवश्यक औषधिसमेत अभाव भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल्ला अस्पतालमा हाल १७ किसिमका औषधि नरहेको जानकारी अस्पतालले दिएको छ ।

अस्पतालका अनुसार भएका औषधिसमेत पर्याप्त छैनन् । सरकारले नागरिकलाई ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने भने पनि जिल्ला अस्पताल पर्वतले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ५८ किसिमका र स्वास्थ्य चौकीमार्फत ३५ किसिमका औषधि वितरण गर्दै आएको छ । पर्वतमा २ प्राथमिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ्यचौकी रहेका छन् ।

जिल्ला अस्पतालमा हाल दममा प्रयोग हुने औषधि साइलब्युटामोल चार एमजी, दुखाइ कम गर्ने आइब्रोफिन, पुष्कोपान, सिप्रो ट्याब्लेट २ सय ५० एमजी र ५ सय एमजी, विशेषगरी बच्चालाई ज्वरो आउँदा खुवाउने ज्वरोको झोल औषधिलगायत औषधिको अभाव भएको छ । त्यसैगरी, आँखामा प्रयोग हुने झोल औषधि, एन्टिबायोटिक औषधि र बिरामीका लागि बढी मात्रामा प्रयोग हुने सलाइनको पनि अभाव रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै, आलमुनियम हाइड्रोसाइड (डाइजिन) लगायतका औषधि केही मात्रै स्टकमा रहेको छ । भिटामिन बी कम्प्लेक्स, जीवन जल तथा जुकाको औषधि पनि पर्याप्त नभएको कार्यालयले जनाएको छ ।

मौज्दात नरहे पनि औषधिको हाहाकारको अवस्था भने नरहेको अस्पताल प्रशासनले जनाएको छ । गतवर्ष टेन्डर आह्वान गरेर फागुनमा ७० प्रकारका औषधि खरिद गरिएको भए पनि विगत १ महिनादेखि औषधिको अभाव भएपछि सर्वसाधारण बिरामी समस्यामा परेका छन् । निःशुल्क पाइने औषधिसमेत सर्वसाधारणले महँगो शुल्क तिरेर किन्न बाध्य भएका छन् ।

सर्वसाधारणले निःशुल्क वितरण गर्ने औषधिसमेत निजी औषधि पसलबाट किनेर खान बाध्य भएको गुनासो गरेका छन् । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फणिन्द्र बरालले भने अब औषधि अभाव नहुने बताए । अस्पतालले औषधि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब केही दिनमै समस्या समाधान हुने उनले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment