भारू हजारमा नेपाली हजार साटिँदै

अर्थ

दाङ, २७ कात्तिक । केही दिनअघि छोराले भारतबाट पठाएको १२ हजार रूपैयाँ लिएर बिहीबार दाङ त्रिपुरकी जाबुनी चौधरी घोराही बजार आएकी थिइन् । दसैँतिहार मनाउन घोराहीबाट सामान लगेको उधारो तिर्न आएकी उनलाई साहुले भारु चल्दैन भनेर फर्काइदिए ।

त्यसपछि बजारभरि भौतारिएकी उनलाई कसैले ‘आइडिया’ दियो र उनी भारु नोट साट्ने एक जना व्यक्तिकहाँ पुगिन् । तर ती व्यक्तिले पनि साट्न नमानेपछि उनले भारतीय हजारका नोट नेपाली हजारमै र ५ सय भारतीय नोट नेपाली ५ सयमै साटिन् ।

अरू कुनै विकल्प उनीसँग थिएन । ‘भारतमा हजारको नोट नचल्ने भएछ बजार आएर थाहा पाएँ, यस्तो कुरा हाम्ले कसरी थाहा पाउने ?’ बजारमा भेटिएकी उनले भनिन् ‘हजारको हजारमै दिएर आएँ ।’ भारतले हजार र ५ सयका नोट प्रतिबन्ध लगाएपछि उनीजस्ता थुपै्र सर्वसाधारणले हैरानी खेप्नुपरेको

छ । बजारमा १५ प्रतिशतसम्म लिएर भारतीय नोट साट्ने व्यापारीले अहिले लिन छाडेका छन् । कसैकसैले बजारमा लुकिछिपी हजारका नोट नेपाली हजारमै र ५ सय पाँच सयमै साट्न थालेका छन् । यसरी प्रत्येक हजारमा पैसा साट्ने व्यापारीलाई सिधै ६ सय रूपैयाँ फाइदा हुन्छ ।

यतिबेला नेपाली बजारमा पनि भारतीय नोटको ‘टेन्सन’ देखिन थालेको छ । भारतीय नोटमै लाखौंको कारोबार गर्ने यहाँका स्थानीय व्यापारीसमेत अहिले त्यही पैसा कसरी साट्ने भन्ने तनावमा छन् । बैंकले भारु साट्दैनन् । निकै कम मात्रामा भारुको कारोबार गर्दै आएको नेपाल एसबिआई बैंकले पनि अब भारतीय नोट कारोबार नगर्ने भएको छ ।

‘केही पैसा स्टकमा छ, हाम्रो व्यापारमा लाखौंको कारोबार हुन्छ त्यसैले हजार, ५ सयका नोट धेरै हुन्छन्’ घोराहीका गल्ला तथा खाद्यान्न व्यापारी करण शर्मा भन्छन् ‘अब कागजकै भाउमा पनि जाने भएन, कसरी त्यसलाई साट्ने हो त्यही टेन्सन छ ।’

दाङसँग सीमाना जोडिएका कारण यहाँका धेरै व्यापारीको कारोबार पनि भारतबाटै हुने गर्दछ । दिनहुँ सयौँ बिरामी यहाँबाट उपचारका लागि दिल्ली र लखनउ जान्छन् । त्यहाँ जानका लागि काम लाग्छ भनेर धेरैले भारतीय नोट स्टकमा राखिरहेकै हुन्छन् । कतिपयले धेरै भारतीय नोट जम्मा गर्ने र भारत जाने नेपालीलाई रूपैयाँ साटेर केही प्रतिशत रकम आफूले राख्दै आएका थिए । लाखौंका कारोबार गर्ने यस्ता ‘सटही’ व्यापारी अहिले झनै संकटमा छन् ।

दाङ मात्रै होइन, राप्तीका धेरै जिल्ला भारतीय बजारमा आश्रित छन् । सिंगो राप्तीको व्यापारमा जानकार राख्ने एक जना व्यापारी माधव शर्माका अनुसार राप्तीभरिमा हजार र ५ सयका नोट करिब ५ करोड रूपैयाँ बराबरको छ । दैनिक करोडौँको सामान आयात र निर्यात हुँदै आएका राप्तीका ५ जिल्लाबाट धेरै नेपाली श्रमिक पनि भारतमा रोजगारी गर्छन् । उनीहरूले घरमा पठाउने रकम पनि धेरैजसो हजार र ५ सयका नोटमा आउँछ ।

नेपाल बैंक लिमिटेड घोराहीका प्रमुख चन्द्रप्रकाश अधिकारीले नेपालमा ४० प्रतिशत मात्रै भारतीय रूपैयाँ कानुनी भएको दाबी गरे । अरू सबैको अवैध कारोबार छ ।

औषधि उपचारका लागि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २० हजार रूपैयाँ बराबारको भारु नोट सटही गर्न मान्यता दिए पनि अहिले नोट प्रतिबन्धका कारण सटही हुँदैन । तर, बजारमा खुलेआम लाखौँको भारतीय नोट साट्ने अवैध धन्दा चलिरहेको छ ।

Facebook Comments

Leave a Reply