स्टेजहरूमा व्यस्त सन्तोष

कला

माक्पाली कान्छा
काठमाडौं, २६ कात्तिक । नेपाली संगीतका करिब २ दशक यता निरन्तर संघर्ष गर्दै आएका युवा कलाकार हुन् गायक तथा संगीतकार सन्तोष दुमी । प्रायः स्टेजहरूमा देखिने भेटिने गरिएका उनी संगीतका गुरू पनि हुन् ।

उनले आफ्नो संगीतको यात्रामा नयाँ पुराना धेरै कलाकारसँग स्टेज सेयर गरिसकेका छन् । उनले गायकीको माध्यमबाट देशविदेश घुम्ने अवसर त प्राप्त गरे नै उनको जीवन पनि संगीतले नै चलाएका छन् । गीतसंगीतको सिर्जनाको अलवा उनी विद्यालयमा मसिना नानीहरूलाई संगीत पढाउँछन् ।

आफ्नो रचना संगीत तथा गायनमा उनले गरेको एल्बमको संख्या नै हिसाब गर्ने हो भने ४ वटा पुगिसकेको छ । उनले पहिलोपटक प्रस्तुत गरेको बालगीतहरूको संग्रहित एल्बम नै पहिलो र बजारमा माथ गर्ने चेतनामूलक गीति संग्रह रहेको छ । जुन गीति एल्बममा सोलो संगीत दिएका उनको पहिलो एल्बम भने ‘ज्यान माया’ रहेको छ । गायकको रूपमा यो क्षेत्रमा प्रवेश गरेका सन्तोष संगीतकारको रूपमा समेत राम्रै परिचय बनाएका कलाकार हुन् । उनले थुप्रै चर्चित गीतहरू गाएका छन् भने उतिकै संख्यामा संगीतसमेत भरेका छन् ।

प्रायः गुनगुनाउँदै रहने उनको क्रियाशीलता नेपाली संगीतको क्षेत्रमा पृथक रहेको छ । लोक, आधुनिक, विभिन्न आञ्चलिक गीतहरू बजारमा ल्याउने गरेका उनी विशेष गरेर गजल तथा आधुनिक गीतमा रम्ने गरेको बताउँछन् ।

उनी हरेक कार्यक्रममा नेपाली सुगम संगीतको विषयमा गम्भीरतापूर्वक उभिने गरेको बताउँदै पश्चिमा संगीतले नेपाली मूल संगीतमा गरेको आक्रमणविरुद्व प्रत्याक्रमण गर्नुपर्ने विचार राख्छन् । उनले नेपाली पहिचानको संगीत गाउँघरमै रहेको भन्दै विभिन्न आञ्चलिक गीतहरू सिर्जना गरेका उनले लोप हुन लागेको संस्कृतिको संरक्षणमा समेत संगीतको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ । उनले ल्याएका ‘पथ्थरहरू’ एल्बममा उनले ‘साल्पै राजा’ बोलको गीतमा हराउन लागेको ठेटभाकालाई उठाएका छन् ।

विभिन्न भाषाभाषीको गीतहरूको संगीतमा व्यस्त बनेका उनले बजारमा निकै चर्चामा रहेको ‘मैले के भुल गरेर’ गीतले उनलाई आफ्नो संगीतको बजारमा स्थापित गराएको थियो । एल्बम ‘बस्तीहरू’मा समाबेश गरिएको उक्त गीत दिवाकर खनालले लेखेका थिए ।

गजल पढ्नमा माहिर मानिएका सन्तोषको पछिल्लो समयमा आफ्नै शब्द तथा संगीतमा तयार पारेका गजल ‘धक धक मन भएर आयो बनेर आयो, छुटेको वर्षौं पछि त्यो मन फर्केर आयो’ स्टेजमा धेरै रुचाइएको गजलका रूपमा रहेको छ ।

प्रायः स्टेजहरूमा एकपटक गाएपछि पटकपटक दोहो¥याउन बाध्य हुने गरेको उनले सुनाए । ‘मेरो पछिल्लो समयमा निकै रुचाइएको यो गजलले मलाई पनि राम्रै अवसरहरू दिलाएको छ ।’ सांगीतिक प्रस्तुतिकै लागि देशका विभिन्न सहर तथा गाउँहरूमा पुगेका उनले विदेशमासमेत दर्शक तथा श्रोताहरूको सम्मान भ्याइसकेका छन् । उनले भने, ‘दर्शक तथा श्रोताहरू भनेको कलाकारको निम्ति भगवान्भन्दा ठूलो हुन्छन् । त्यसैले उहाँहरूको सम्मानका लागि नै भए पनि बोलाएको ठाउँमा पुग्ने गरेको छु ।’

Facebook Comments

Leave a Reply