भारु ५ सय र हजारको नोट प्रतिबन्ध

अर्थ

एविसि खबर
काठमाडौं, २५ कात्तिक । भारतले मंगलबारको मध्यरातदेखि लागू हुने गरी भारु ५ सय र १ हजारका नोट बजारमा चलाउन रोक लगाएको छ । सीमावर्ती सहरमा उपचारका लागि जाने बिरामीदेखि भारतमा श्रम बेचेर घर फर्किरहेका नेपालीलाई भारु प्रतिबन्धको असर पु¥याएको छ ।

बुधबार बिहान कार्यालय खुल्नासाथ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको यात्रु शाखादेखि छेउमै रहेको भागेश्र मनी चेञ्जरसम्म भारु ५ सय र १ हजारको नोट प्रतिबन्धको असर देखिन्थ्यो ।

‘भन्सारको यात्रु शाखामा अस्थायी पैठारीदेखि दैनिक उपभोग्य सामानको राजस्व बुझाउने काम ठप्प छ,’ भन्सार यात्रु शाखाका नायब सुब्बा वीरबहादुर थापाले भने । त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष जंगबहादुर मल्ल भारुमा प्रतिबन्धपछिको अवस्थाका बारेमा सरकारले भारतसित कूटनीतिक रूपमा पहल गरेर व्यवस्थापनमा जुट्नुपर्ने बताउँछन् ।

लामो समयदेखि गड्डाचौकीमा मनीचेञ्जर सेन्टर सञ्चालन गर्दै आएका मल्ल बिहानैदेखि सेवाग्राही तनावमा रहेका बताउँछन् । ‘अरूबेला ८० प्रतिशत सेवाग्राही भारु नोट खोज्न आउँथे, आज ९५ प्रतिशत सेवाग्राही भारु दिएर नेपाली नोट मागिरहेका छन्,’ उनले भने ।

भारतका विभिन्न ठाउँमा रोजगारी गरेर फर्किरहेका नेपाली मजदुर प्रतिबन्धको बढी मारमा परेका छन् । ‘पहिले नेपाल–भारतबीच खुल्ला सीमा नाका भएका कारण २५ हजार रूपैयाँसम्मको कारोबार गर्न खुकुलो थियो,’ मल्लले भने, ‘श्रम बेचेरले फर्किरहेकालाई प्रतिबन्धले मार परेको छ ।’ विभिन्न तवरबाट ४÷५ प्रतिशत दिएर भारु किनबेच गर्नेहरू प्रतिबन्धको मारमा परेका छन् ।

आफूसित रहेको भारु नोट भारत सरकारले दिएको अवधिमा साटिने वा के हुने भन्ने विषयमा पनि सीमावर्ती क्षेत्रका नेपाली चिन्तित बनेका छन् । त्यसका साथै नेपाली उपभोक्तामा बढी आश्रित हुने सीमावर्ती भारतीय बजार वनवासा, टनकपुर, खटिमालगायत बजारमा पनि यसको प्रभाव देखिएको छ ।

भारतमा सामान किनमेलका लागि आवतजावत गर्नेको संख्यामा कमी आएको गड्डाचौकी सीमामा खटिएका एक प्रहरीले बताए । कञ्चनपुरमै सबैभन्दा बढी स्थानीयस्तरमा समेत भारु नोटको कारोबार हुने महाकाली नदीपारीको दोधारा चाँदनी नगरपालिकामा भारु नोटको प्रतिबन्धले असर पारेको छ । कञ्चनपुरका साथै कैलाली, बैतडी, डडेल्धुरा, दार्चुलालगायत भारतसित सीमा जोडिएका जिल्लामा समेत भारु नोटको प्रतिबन्धको प्रभाव देखिएको बताइएको छ ।

यसैगरी भारतले गएरातीदेखि आफ्ना ५ सय र हजारको नोट चलनचल्तीमा रोक लगाएपछि नेपाल–भारत दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ । सीमावर्ती भारतीय जोगबनी बजारमा ५ सय र हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजार सुनसान अवस्थामा पुगेको छ भने मोरङ र झापाका मनिचेन्जर(सटही) सञ्चालक प्रत्यक्ष मारमा परेका छन् । भारतीय नोटको कारोबारमा संलग्न मनिचेन्जर, अवैध कारोबार गर्नेहरू, भारतीय नोट संकलन गरी बढी मूल्यमा बिक्री गर्नेबीच यतिखेर खैलाबैला मच्चिएको छ ।

पूर्वाञ्चलमा सबैभन्दा बढी मोरङ र झापामा भारतीय नोटको कारोबार हुने गर्छ । झापामा ३६ वटा र मोरङमा २४ वटा मनिचेन्जर सञ्चालनमा छन् । यसबाहेक, कतिपय व्यापारीले भारतीय नोट संकलन गरी बढी मूल्यमा बिक्री गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रमा नेपाली बासिन्दालाई भारततर्फ आवतजावत गर्नका लागि जोहो गरेर राखेका भारु ५ सय र हजारका नोटको चलनचल्तीमा रोक लागेपछि उनीहरू बिच्चलीमा परेका छन् । भारु ५ सय र हजारका नोट आधा मूल्यमा सटही गर्न कतिपय नेपाली बाध्य भएका छन् ।

मोरङ उद्योग संगठनका अध्यक्ष शिवशंकर अग्रवालले यस निर्णयबाट नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउँछन् । ‘भारु ५ सय र हजारको नोटको कारणले तस्करी बढ्ने गरेको थियो, अब भन्सारको माध्यमबाट नै अधिकांश भारतीय सामान भित्रिने सम्भावना बढेकाले स्वभाविक रूपमा राजस्व संकलनमा वृद्धि हुनेछ,’ उनले भने ।

झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्मा जिल्लामा दैनिक १ करोड भारतीय रूपैयाँको कारोबार हुने गरेको बताउँछन् । अधिकांश व्यापारी वा मनिचेन्जरसँग ठूलो परिमाणमा त्यस्ता नोट मौज्दात रहेका उनको भनाइ छ ।

Facebook Comments

Leave a Reply