फुजेल घटनाको फैसला स¥यो

समाचार

एविसि खबर
चितवन, २५ कात्तिक । चितवन जिल्ला अदालतले मंगलबारका लागि तोकेको फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अन्तिम फैसलाको मिति सरेको छ । ५ कात्तिकमा वादी, प्रतिवादी र जाहेरवालाका तर्फबाट लिखित बहस नोट पेस भएपछि अन्तिम फैसला मंगलबारका लागि तोकिएको थियो । अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार सो मुद्दा हेर्दै आएका अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर बिदामा रहने भएकाले मुद्दाको अन्तिम फैसला १२ मंसिरमा हुने भएको हो ।

न्यायाधीश कुँवरको आदेशअनुसार वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र सहायक न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले लिखित बहसनोट पेस गरेका छन् । त्यसैगरी, प्रतिवादीका तर्फबाट १० र जाहेरवालाका तर्फबाट १० जना अधिवक्ताले लिखित बहस नोट पेस गरेको बरालले बताए ।

यसअघि वादी नेपाल सरकारका तर्फबाट २, जाहेरवालाका तर्फबाट ७ र प्रतिवादीका तर्फबाट १२ जनाले बहस गरेका थिए । २ असोजमा जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौंको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गंगामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसहित पेस गरेका थिए । सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमंगला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २४ जेठ ०६१ मा हत्या गरिएको थियो ।

त्यसपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो । जिल्ला अदालत चितवनले ४ वैशाख ०७१ मा किटानी जाहेरी दिएकामध्ये ८ जनालाई धरौटीमा र ३ जनालाई साधारण तारेखमा छाडेको थियो । २ जना अदालतको सम्पर्कमा आएका थिएनन् जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आइएको छ र अर्का विष्णु तिवारी फरार छन् ।

सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेलसमेत फरार भएका छन् । अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल (अजीव) लाई प्रतिव्यक्ति २७ हजार रूपैयाँ धरौटीमा तारेखमा छाडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राख्न लगाई तारेखमा छाडेको छ ।

Facebook Comments

Leave a Reply