महानगरको साँचो मुखर्जीलाई उपहार

एविसि खबर
काठमाडौं, १८ काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं महा नगरपालिकाले साँचो उपहार दिने भएको छ । बिहिबार साँझ गरिने नागरिक अभिनन्दनको अवसरमा मुखर्जीलाई साँचो प्रदान गर्न लागिएको महानगर श्रोतले जनाएको छ ।

कार्यक्रम काठमाडौं स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ । राष्ट्रिय सभागृहलाई विशेष सजाइएको छ, जहाँ प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थितिमा मुखर्जीलाई सम्मान गरिने छ । काठमाडौं महानगरपालिकाले महानगरबासीका तर्फबाट भारतीय उनलाई अभिनन्दन गर्न लागिएको हो ।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार मुखर्जीलाई महानगरको साँचो हस्तान्तरण गरिनेछ । ‘यो शहर तपाईंको स्वागतका लागि सधैं तयार छ भन्ने भावसहित साँचो हस्तान्तरण गरिने छ,’ तामाङले अनलाइनखबरसँग भने, ‘अभिनन्दन कार्यक्रमलाई भव्य बनाउन हामीले तयारी लगभग सकाएका छौं ।’ मित्रराष्ट्रका राष्ट्रप्रमुख आउँदा नगरको साँचो हस्तान्तरण गर्ने अन्तर्रा्ष्ट्रिय अभ्यासलाई अनुसरण गरिएको तामाङले बताए । मुखर्जीलाई नेपाली भाषामा तयार पारिएको अभिनन्दनपत्रले सम्मान प्रदान गर्ने कार्यक्रम छ ।

जनकपुरमा भने मुखर्जीलाई नेपाली, मैथिली र अंग्रेजी तीन भाषामा तयार पारिएको अभिनन्दन पत्रले सम्मान गर्ने कार्यक्रम छ । भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार जनकपुर र पोखरा भ्रमणमा जानेछन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment