तिहारमा ढाकाटोपीको व्यापार राम्रो

एविसि खबर
पोखरा, १० कात्तिक । पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गए पनि तिहारका कारण यतिखेर पोखरामा ढाकाटोपीको व्यापार उत्साहजनक रूपमा बढेको छ ।

पसलमा ढाकाटोपी किन्न आउनेको चाप देखिन्छ । अघिपछि ढाकाटोपी नलगाए पनि तिहारमा लगाएर दिदीबहिनीसँग टीका थाप्ने चलनका कारण ढाकाटोेपीको माग अत्यधिक बढेको हो । ३ दशकयता पोखरामा ढाकाटोपीको व्यापार गर्दै आएका राजेशमान पालिखे पछिल्ला समयमा युवा पुस्ताले ढाकाटोपी लगाउन छाडिसकेको बताउँछन् ।

‘पछिल्ला वर्षमा ढाकाटोपी लगाउने चलन हराउँदै गएको छ,’ उनले भने । विशेष गरी तिहार, अन्य चाडपर्व, विवाह, व्रतबन्धमा मात्र ढाकाटोपीको खोजी हुनेगरेको छ । तिहारको समयमा २५ लाखदेखि ३० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको पालिखेले बताए । ‘वार्षिक १ करोड रुपैयाँसम्मको व्यापार हुन्छ,’ उनले भने ।

सामान्यतः ३५ देखि ५ हजार २ सय रुपैयाँसम्मका ढाकाटोपी बिक्री हुने गरेको छ । पोखरामा दौरासुरुवाल लगाउनेतर्फ भने विस्तारै आकर्षण बढ्न थालेको छ । ‘बालबालिकालाई ढाकाको दौरासुरुवाल बनाएर लगाइदिने चलन बढ्दै गएको छ,’ चिप्लेढुंगाकी ढाका पसल सञ्चालिका कोकिला जोशीले भनिन् । विवाह व्रतबन्धलगायत कार्यक्रममा ढाकाका कपडाको खोजी हुन्छ ।

पोखरामा विशेषगरी दमक, धरान, तेह्रथुम, बुटवललगायत ठाउँबाट ढाकाको कपडा आयात गरिन्छ । पाल्पाबाट आयात गरिने ढाकाको कपडाबाट चोलो, ब्लाउज, सल आदि निर्माण गरिन्छ । ठूलाबडा तथा मान्यजनबाट टोपी लगाएर टीका थाप्ने र आशीर्वाद लिने चलन भए पनि ढाकाटोपी नै लगाउनु पर्छ भन्ने कतै उल्लेख नरहेको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । उनका अनुसार बंगलादेशको राजधानी ढाकाबाट ढाकाको कपडा बुन्ने प्रचलन सुरु भएको र त्यसले विस्तारै अन्य देशमा स्थान पाएको हो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment