अपांगता भएकाको सामूहिक खेती

समाचार

एविसि खबर

खोटाङ, १० कात्तिक । दिक्तेल नगरपालिकाका अपांगले सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् । अपांग सेवा संघ दिक्तेल नगरसमितिको पहलमा नगरपालिकाभित्रका २० जना अपांगले दिक्तेल–३ स्थित जागिरेमा सामूहिक खेती सुरु गरेका हुन् ।

अपांगता भएका व्यक्तिलाई स्वरोजगार र आर्थिकरूपमा आत्मनिर्भर बनाउन स्थानीय तेजबहादुर आचार्यको ४० रोपनी जग्गा वार्षिक ७० हजार रुपैयाँ तिर्ने गरी १० वर्षका लागि भाडामा लिएर खेती सुरु गरिएको अपांग सेवा संघ दिक्तेल नगर समितिका अध्यक्ष उमेशप्रसाद आचार्यले जानकारी दिए ।

आव ०७२÷७३ मा दिक्तेल नगरपालिकाले अपांगका लागि छुट्टयाएको २ लाख रुपैयाँ खर्च गरेर सामूहिक खेती थालिएको हो । ‘अपांगलाई व्यावसायिक खेतीका माध्यमबाट आफ्नो खुट्टामा आफँै उभिन सक्ने बनाउन खेती सुरु गरेका हौँ,’ उनले भने ।

अहिले खेतमा अपांगले आफँै काम गरेर धान रोपेका छन् । धान पाकेपछि तरकारी, बाख्रा, बंगुर, कुखुरा, च्याउ, माछापालन गरिने अध्यक्ष आचार्य बताउँछन् । ‘व्यवसाय सञ्चालन गर्न अपांग व्यवसायीलाई सहुलियत दरमा ऋणको व्यवस्था मिलाइनेछ,’ उनले भने ।

फार्मबाट उत्पादित वस्तु बिक्रीका लागि सदरमुकाम दिक्तेलका रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, हाटडाँडा र अस्पताल चोकमा बिक्रीकेन्द्र बनाउने संघको योजना छ ।

Facebook Comments

Leave a Reply