कविता भन्दा भन्दै बेहोस कविको निधन

कविता

एविसि खबर
काठमाडौं, ७ कात्तिक । काठमाडौंमा स्टेजमा कविता भन्दा भन्दै ढलेका कविको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार राजधानीको प्रदर्शनीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक श्रृंखला ‘साहित्य सन्ध्या’मा कविता वाचन गरेसँगै बेहोस भएका कवि नेत्रमणि आचार्यको काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको हो । गजलकार एवं कार्यक्रममा सहभागी बलराम तिमल्सिनका अनुसार कविता वाचन सकेर बेन्चमा बस्नेबित्तिकै आचार्य बेहोस भएका थिए । लगत्तै अस्पताल लगेको करिब आधा घन्टामा उनको निधन भएको तिमल्सिनाले जानकारी दिएका छन् ।

‘७ ÷ ८ नम्बरतिर उहाँको पालो परेको थियो,’ तिमल्सिनाले भने, ‘कविता वाचन गर्न अगाडि जाँदा उहाँ हँसिलो र ताजा देखिनुहुन्थ्यो । मेरो उमेर ८७ वर्ष भयो । आज मलाई कसो–कसो १७÷१८ वर्षको उमेरको याद आयो र आज बिहानै लेखेको कविता सुनाउँछु भन्दै छन्द कविता सुनाउनु भएको थियो । मलाई एक लाइन मात्र याद छ, ‘झल्को लाग्छ मलाई कुन्नी किन हो त्यो १७÷१८ वर्षको ।’ कविता सुनाएपछि फर्किएर बेन्चमा बस्नेबित्तिकै थरथर काम्नुभयो र एकैछिनमा ढल्नुभयो। हामीले ट्याक्सीमा हालेर अस्पताल लग्यौं । उहाँको आफन्त आइपुगेको केही बेरमै चिकित्सकले उहाँले अन्तिम सास फेरेको जानकारी दिनुभयो ।’

आफन्तको भनाइ उद्धृत गर्दै तिमल्सिनाले बताएअनुसार आचार्य कुनै पनि औषधि सेवन गर्थेनन् । उमेरअनुसार स्वस्थ जीवनयापन गर्दै आएका आचार्यले खाना पनि खासै बार्नु परेको थिएन । गोरखा स्थायी घर भइ काठमाडौंमा छोराबुहारीको साथमा बस्दै आएका आचार्यले बिहानै बुहारीसँग ‘कार्यक्रममा जानुछ चाँडै खाना बनाउ है’ भनेका थिए । उनकी श्रीमती पनि प्यारालाइसिसका कारण थला परेको तिमिल्सिनाले जानकारी दिए ।

Facebook Comments

Leave a Reply