नेपालको प्रस्ताव मोदी र सी जिनपिङलाई स्विाकार्य

एविसि खबर
काठमाडौं, ३० असोज । गोवामा भइरहेको ब्रिक्स र बिमिस्टेक देशहरुबीचको आउटरिच सम्मेलनका क्रममा नेपालको प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको प्रस्तावप्रति चिन र भारतले सहमती जनाएका छन् । नेपाल, भारत र चीनबिच ‘त्रिदेशीय रणनीतिक साझेदारी’ निर्माण गर्न आपसी सहमती भएको हो । गोवामा रहेका प्रधानमन्त्री दाहालले शनिबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई एकैसाथमा राखेर ‘त्रिदेशीय रणनीतिक साझेदारी’ को प्रस्ताव राखेका थिए ।

modi-prachanda-xi

भारत र चीनलाई हेर्ने दृष्टिकोणलाई लिएर नेपालमा चर्को राजनीतिक बहस हुने गरेका बेला प्रधानमन्त्री दाहालले, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीवीच गोवामा त्रिपक्षीय वार्ता गरेका हुन् । शनिबार साँझ दाहलले चिनियाँ राष्ट्रपतिलाई भेटेका थिए । यस अघि आइतबारमात्र भारतीय प्रधानमन्त्री मोदी र दाहलवीच भेट गर्ने कार्यसूची रहेता पनि मोदीले शनिबार नै सी जिनपिङसहित दाहलसँग त्रिपक्षीय छलफल गरेका हुन् ।
यो छलफल नेपालको इतिहासमा कोशेढुंगा भएको दाहलको दाबी छ । भेटमा दाहलले दुई छिमेकीप्रति नेपालको समदुरीको सम्बन्ध रहेको र नेपालले भारत र चीनलाई जोड्ने पुलको काम गर्ने भन्दै त्रिदेशीय रणनीतिक साझेदारीको नयाँ प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री दाहल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ब्रिक्स र बिमिस्टेक देशहरुबीचको आउटरिच सम्मेलनको अघिल्लो दिन भेटवार्ता भएको प्रधानमन्त्री दाहलको सचिवालयले जानकारी दिएको हो ।
प्रधानमन्त्री दाहल र चीनियाँ राष्ट्रपति सी जिनपिङबीच २० मिनेट ‘वान टु वान’ वार्तालगत्तै प्रधानमन्त्री दाहल, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच त्रिपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका प्रधानमन्त्री दाहलले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराए ।

‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, भेटपछि प्रधानमन्त्री दाहलले भने, ‘हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे महत्व दिएर कुरा राखें ।’ प्रधानमन्त्री दाहलले अगाडि भने, ‘भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो ।’ प्रधानमन्त्री दाहलले भने, ‘नेपाल जसरी भारत र चीनको बीचमा छ, वार्ताका क्रममा पनि भारत र चीनका बीचमै नेपाल थियो । हाम्रो छलफल निकै सौहार्दपूर्ण रहृयो । नेपालले उठाएको रणनीतिक साझेदारीको प्रस्तावमा दुवै नेताहरुले उत्साहित भएर समर्थन गर्नुभएको छ ।’

चिनियाँ राष्ट्रपतिले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्न सक्ने बताएका छन् । भेटमा प्रधानमन्त्री दाहलले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराएका थिए । आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्न सक्ने दाहलले दुबै देशहका सरकार प्रमुखहरुलाई बताए ।

प्रधानमन्त्री दाहलले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको मोदी र सीलाई स्मरण गराएका थिए । नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको द्वीपक्षीय भेटपछि भएको यो त्रीपक्षीय वार्ताले नेपाल, भारत र चीनबीच युगीन सम्बन्ध स्थापित गर्न विशेष भूमिका खेल्न सक्ने प्रधानमन्त्री दाहलले बताएका छन् ।

त्रिपक्षीय भेटका अवसरमा चिनियाँ राष्ट्रपति सीले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्न सक्ने बताएको दाहलको निजी सचिवालयले जनाएको छ । सचिवालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपालबाट प्रस्तावित त्रिदेशीय साझेदारीको मुद्दा महत्वपूर्ण रहेको र यसमा चीन सकारात्मक रहेको बताएका थिए ।
सीले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment