प्रहरीको सुरक्षामा हाइड्रोपावर

समाचार

संगीता राई

खोटाङ, ९ असोज । खोटाङको सदरमुकाम नजिकै सञ्चालनको तयारीमा रहेको मेवाखोला हाइड्रोपावरका प्रबन्ध निर्देशकलाई ज्यान मार्ने धम्की आएपछि आयोजनास्थलमा प्रहरी परिचालन गरिएको छ । टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बाल्न लागिएका अवस्थामा आयोजनाका प्रबन्ध निर्देशक अर्जुन राईलाई ज्यान मार्ने धम्की आएकाले प्रहरी परिचालन गर्नु परेको हो ।

आयोजनास्थल आसपासका गाउँमा गस्ती गर्ने र बेलुका हाइड्रोपावरको आयोजनास्थलको सुरक्षा गर्ने गरी प्रहरी नायब निरीक्षकको नेतृत्वमा ५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरी नायब निरीक्षक नवीनकिशोर प्रधानका अनुसार पूर्वसभासद्समेत रहेका प्रबन्ध निर्देशक राईलाई सोमबार राति नचिनिएको व्यक्तिबाट ज्यान मार्ने धम्की आएको थियो ।

दिक्तेल नगरपालिका–१० स्थित विद्युत उत्पादन स्थल ध्वस्त पार्ने धम्की आएपछि अनुसन्धानका लागि प्रहरी निरीक्षक सरोज राईको नेतृत्वमा आयोजनास्थल खटाइएको प्रनाउ प्रधानले जानकारी दिए । ‘प्रबन्ध निर्देशकज्यूको निवेदनका आधारमा प्रहरी टोली परिचालन गरिएको छ,’ उनले भने, ‘दिनभर वरपरका गाउँमा गस्ती गर्ने टोलीलाई बेलुका आयोजनास्थल र प्रबन्ध निर्देशकको सुरक्षा गर्ने जिम्मेवारी दिइएको छ ।’

निर्भीक वातावरणमा हाइड्रोपावरको काम गर्ने र तोकिएकै मितिमा आयोजना पूरा गर्ने वातावरण बनाउनका लागि भन्दै प्रबन्ध निर्देशक राईले बिहीबारै प्रहरीमा निवेदन दिएका थिए । प्रहरीको टोली हप्ता दिनसम्म आयोजना स्थलमा खटिने जनाइएको छ । आयोजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा पछिल्लोपटक भने मोबाइलबाट आयोजना नै ध्वस्त गरिदिने र जुनसुकै वेला ज्यान मार्ने धम्की आएको प्रबन्ध निर्देशक राईले बताए । यसअघि पनि उनलाई ‘किन कमिसन नदिई आयोजना चलाएको ?’ भन्दै पैसा माग्ने गरेको विषय बाहिर आएको थियो ।

आयोजना सुरु गरिएको मंसिर २०७१ देखि हालसम्मको अवधिमा दुई थान हिल ट्यांकी, चार थान ड्रम, डिजेल, दुई मिटर कालो तार, पाइपलगायतका सामान चोरी भएकोमा सोमबार राति आयोजनाको जेनेरेटरसमेत तोडफोड भएको छ । प्रबन्ध निर्देशक राईमाथि धम्की दिने र हाइड्रोपावरको सामान चोरी गर्नेको हालसम्म पहिचान हुन नसकेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

Facebook Comments

Leave a Reply