कविता : माया– मोह

                                            – चित्र कुमार सुबेदी 

हिजो
हाम्रा वुवाहरु
एक विहानै उठ्नु हुन्थ्यो
बोक्नु हुन्थ्यो हलो कोदालो
के छ काम ?
गर्नु हुन्थ्यो फत्ते तुरुन्तै

आमा बिसाउनु हुन्थ्यो मनको भारी
मस्काउनु हुन्थ्यो ढिडो पसिनामा
पार्नु हुन्थ्यो महीको सोल्दर
खानु हुन्थ्यो दुवै जना सपासप
थिएन गुनासो
क्या मिठो
भन्नुहुुन्थ्यो
बुबा
मुस्कुराउनु हुन्थ्यो आमा
क्या सन्तोष
क्या आनन्द

खयर
च्यातिएकै होस सारी
कट्कटिएकै होस दौरा
मासु भात खान
पर्खनै परोस दशै तिहार
वा
पर्नु नै परोस भोज भतेर
बिहे बटुलो
तर
आज
तीन बजे नै सुत्दा पनि हुन्छ
सातै बजे उठ्दा पनि हुन्छ
फिलिम हेरे नी भो
बजार डुले नी भो
खान पाइएकै छ चामलको भात
बोइलरको मासु
चाउचाउ बिस्कुट
दराजभरी लुगा गहना
कतै हिड्नु पर्यो भने
श्रीमतीको लाउने लुगै हुदैन
फलानीको त सुन गहना लुगा
आफ्नो त
कचकच गनगन तनाब
हिजो केही नभएपनि
सबैथोक भएजस्तो
आज
सबै थोक भएपनि
केही नभए जस्तो
फरक छ
हिजोको माया पसिनामा थियो
आजको माया पैसामा छ

– नेर्पा ९ खोटाङ

Facebook Comments

सम्बन्धित

Leave a Comment