अस्पतालको लार्पाबाहीले महिलाको ज्यान गयो

यौन / स्वास्थ्य, समाचार

क्षतिपुर्ति नपाए लाश नबुझ्ने

एविसि खबर
खोटाङ, २० भदौ । अस्पतालको चरम लार्पाबाहीले महिलाको ज्यान गएको भन्दै मृतकको आफन्तले क्षतिपुर्तिको माग गरेका छन् । जिल्ला अस्पतालमा पाठेघर सफा गर्न गएको धितुङ– ६ की टलकुमारी राईको ज्यान गएको भन्दै उनका आफन्तले विरोध गर्दै उचित क्षतिपुर्ति नपाए सम्म आफुले लाश नबुझ्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार विहान देखि सर्वदलिय सवैपक्षिय भेला राखेर उनीहरुले जिल्ला अस्पतालको स्वास्थ्यकर्मीहरुले लापारवाही गरेको आरोप लगाएका छन् । छलफलको क्रममा एमाले नेता तथा खोटाङ जिल्ला क्षेत्र नम्बर १ का सांसद पिके राईले अस्पतालको आन्तरिक विवादले गर्दा बिरामीले मार खेप्नु परेको बताएका छन् । उनले अस्पतालमा रहेको डाक्टर तथा निर्देशक विचको विवादका कारण सर्वसाधरणको ज्यान गएको आरोप समेत लगाएका छन् । उनले अस्पतालको विवाद बजारमा छताछुल्ल भएको भन्दै कर्मचारीले राती राती सिरक बोकेर भाग्नु पर्ने देखि लिएर अस्पतालमा भएको छलफलमा टेबुल कुर्सी समेत भाँच्नु पर्ने सम्मको हर्कतले उब्जिएको मानसीक चिन्तनले बिरामीको मृत्यु सम्मको गैर जिम्मेवारीपन भएको उनको आरोप छ ।

छलफलकै क्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधीहरुले अस्पताल विकास समिति र अस्पताल प्रशासनबिचको टकरावका कारण समस्या उब्जिएको बताएका छन् । मृतक राईको गर्भपतन गरि पाठेघर सफा गर्नेक्रममा लापारबाही हुँदा सिकिस्त बिरामी बनेकी ३९ वर्षीया टलकुमारीको आईतबार दिउँसो मृत्यु भएको हो ।

सन्तानको रहर पुगेपछि श्रीमान चन्द्र राईसँग २ महिनाको गर्भपतनका गर्न गत बुधबार जिल्ला अस्पतालमा आएकी टलकुमारीलाई जिल्ला अस्पतालका मेडिकल अधिकृत सन्तोषप्रसाद शाहले उपकरण छिराएर पाठेघर सफा गरे लगत्तै कठिन भएको थियो । ५ छोरी र २ छोराका आमा राईलाई पेट फुल्ने, श्वासप्रस्वासमा समस्या देखिने, बान्ता हुने, दिशापिसाव रोकिने, खाना खान नहुने, नाकबाट रगत मिसिएको पानी निस्कने लगायतका कठिन परिस्थिती देखा परेपछि उपचारका लागि राजधानी लैजानेक्रममा बाटैमा मृत्यु भएको हो ।

पाठेघर सफा गरे लगत्तै सिकिस्त बनेपछि उनलाई शुक्रबार साँझ ५ बजे जिल्ला अस्पतालले रेफर गरेपनि खराब मौसमका कारण शनिबार खानीडाँडा बिमानस्थलबाट काठ्माण्डौं लैजाने प्रयास असफल भएपछि बिरामीलाई फर्काएर जिल्ला अस्पतालमै राखिएको थियो । आईतबार हवाईजहाजबाट काठ्माडौं लैजानका लागि खानीडाँडा बिमानस्थल लैजानेक्रममै महिलाको बाटैमा मृत्यु भएको हो । बिहान बिरामीलाई अस्पतालमा नाजूक अवस्थामा भेटिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. रामबहादुर केसीले बिरामीलाई काठमाण्डौ पठाउनका लागि आफु निकै कसरत गरेको जनाउनुभएको थियो । पाठेघर सफा गर्नेक्रममा स्वास्थ्यकर्मीको कमजोरी भएको हुनसक्ने केसीको भनाई छ । बाटोमा गाडी फसेकै ठाउँ खाल्लेमा महिलाको मृत्यु भएको हो ।

निम्न आर्थिक स्तर भए पनि ऋणपानमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लैजाने प्रयास समेत कुहिरोका कारण विफल भएको थियो । स्वास्थ्यकर्मीको लापरबाहीले अकालमै महिलाको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका छन् । उपचारका क्रममा स्वास्थ्यकर्मीले अति दुब्र्यवहार तथा अपशब्द गरेको श्रीमान चन्द्रको भनाई छ । चन्द्रका अनुसार श्रीमतिलाई गाह्रो भएपछि डाक्टर बोलाउन आग्रह गर्दा समेत स्वास्थ्यकर्मीले बेवास्ता गरेका थिए । बिरामीलाई आईतबार बिहान भेट्दा नाजुक अवस्था थियो । नसक्ने भएको भए सोही दिन आफुलाई पठाईदिएको भए जाती हुने बिरामीको भनाई थियो । अस्पतालले नै आफुलाई त्यस्तो हालतमा पु¥याएकोमा गुनासो गरेकी थिईन । अस्पतालको लापारबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्तले शब बुझ्न नमानेपछि हाल अस्पतालकै पोष्टमार्टमा घरमा शब राखिएको छ । यदि स्वास्थ्यकर्मीकै लापारबाहीका कारण महिलाको ज्यान गएको भएमा कार्बाहीको भागिदार बन्नुपर्ने प्रमुख डाक्टर रामबहादुर केसीको भनाई छ । यस बिषयमा सोमबार बिहान प्रशासनको रोहवरमा अस्पताल, मृतकका आफन्तलगायत सर्बपक्षीय छलफल गरी टुंगो लगाउने सहमति भएको छ ।

Facebook Comments

Leave a Reply