कविता : मेरो झुपडी

कविता

– चित्र कुमार सुबेदी

मेरा पुर्खाले
पसिनामा माटो मुछेर
नाम्लोमा खोलाबाट
चप्पल ढुङा बोकेर
चरमा भसाएको
खुकुरीले ताछेर
अग्राखको काठ लाएर
निदाल बनाएको
झ्याल ढोका बनाएको
मेरो झुपडी
माउले खान सक्दैन
मुसाले दुलो पार्न सक्दैन
चोरले फोर्न सक्दैन
किनकी
यो बलियो छ
बाक्लो छ

दरबिलो छ

तर
मेरो घरको उधोपट्टी
यमानको पक्की घर छ
मेरो घरको उभोपट्टी
बडेमानको पक्की घर छ
दुबै घर अग्ला छन
फराकिला छन
हामीलाई,
न उभो निस्कने ठाउँ छ
न उँधो ओेर्लने
पँधेरो भेट्न
हावा खान होस की
पानी खान
गुहार्नै पर्छ
छिमेकीहरु
झुपडी माथी
घरी तल्ला घरे झ्याल बाट तुर्क्याउछ
घरी माथिल्ला घरे
नयाँ वनाउ भन्दै फुर्क्याउछ
उधो हेर्योे उभोको रिसाउछ
उभो हेर्यो उधोको ढुस्स पर्छ
तल्लाघरेको पर्म गयो
माथिल्ला घरे सराप्छ
माथिल्ला घरेको खेताला गयो
तल्ला घरे मुर्मुरिन्छ
दुवै घर धनी
पैशावाला छन्
बर्षो पिच्छे तला थप्छन
नुन लिने बहानामा
श्रीमती तिहुन चाख्न
तल्लाघर तिर हुइकिन्छे
बाक्लो कपडा चाहियो भन्दै
छोरो माथिल्ला घर तिर सुइकुच्चा ठोक्छ
के सुन्छन कुन्नी
भत्काउ भन्छन झुपडी
चाहियो भन्छन बंगाला
तर म
हावा नभइ सास फेर्न सक्छु
पानी नपीइ बाच्न सक्छु
छिमेकी महल ठड्याउछ
म शीर ठड्याउछु
झुपडी भत्काउन त के
लिउन सम्म उक्काउन दिन्न
कमेरो समेत कोट्याउन दिन्न
किनकी
यो भुपडी
मेरा पुर्खाको पसीना हो
रगत हो
अनी म र मेरा सन्ततीको
शान हो
स्वाभिमान हो
पहिचान हो

Facebook Comments

Leave a Reply