वर्षाको कारण सल्यानमा भाइरल ज्वरो र पखालाको प्रकोप

समाचार

एविसि खबर
सल्यान, १२ साउन । अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको संख्यामा वृद्धि हुन थालेको छ । भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेपछि जिल्लामा रहेका स्वास्थ्य संस्थामा भीड लाग्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा मनिषा रावलले जानकारी दिए । ‘सामान्य अवस्थामा ३० देखि ४० जनासम्म बिरामी आउने गर्थे, अहिले दिनहुँ ८० देखि १ सय जनासम्म बिरामी जाँचका लागि आउँछन्’ प्रमुख डा रावलले भने ।

बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा उपचारमा समस्या भएको रावलको भनाइ छ । ‘अस्पतालको क्षमता १५ शय्याको मात्र छ तर बिरामी बढेकाले थप ३२ शय्या थप गरेर उपचारको व्यवस्था मिलाएका छौँ’, रावलले भने । अस्पतालमा आउने बिरामीमध्ये ४० प्रतिशत भाइरल ज्वरो र पखालाका बिरामी आउने गरेको जिल्ला अस्पताल सल्यानका डा नजिर खानले बताए ।

उनले भने, ‘एउटालाई घर पठाए पनि अर्को आउने गरेकाले शय्या खाली हुन नपाउँदै अर्को थपिने हुँदा कुरुवा बस्ने ठाउँमा समेत श्यया राखेर बिरामीको उपचार गर्दै आएका छौँ ।’ भाइरल ज्वरो र पखालाबाट धेरैले दुःख पाएपनि मानवीय क्षति भने नभएको डा खानको भनाइ छ । यसले रोगसँग लड्नसक्ने शक्ति कम गर्ने भएकाले पानी तथा झोलिलो पदार्थ बढी खानुपर्ने उनको सल्लाह छ ।

Facebook Comments

Leave a Reply